कला/साहित्य

‘इतिहासअघिकाे इतिहास’ माथि अन्तरक्रिया

मानवशास्त्री डा. सुरेश ढकालसँग इतिहास, मानवशास्त्र, संस्कृति तथा समसामयिक समाजका बहुआयामिक विषयमा केन्द्रित अन्तरसंवाद भएको छ।   

बुक क्लब, भक्तपुरले ‘इतिहासअघिकाे इतिहास’ कृतिमा केन्द्रित रही कार्यक्रम गरेकाे हाे। उक्त कार्यक्रममा इतिहासको स्वरूप, ज्ञान उत्पादन, संस्कृति, पहिचान र विकासका प्रश्नहरूलाई लिएर बौद्धिक बहस गरिएको थियो।

डा. सुरेश ढकालले ‘मान्छे’ लाई बुझ्न जैविक आधार मात्र पर्याप्त नहुने उल्लेख गर्दै सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भसँगै विश्लेषण गर्नुपर्ने धारणा राखे।

उनले इतिहासलाई विगतको स्थिर अभिलेखका रूपमा नभई वर्तमान समाज बुझ्ने सशक्त उपकरणका रूपमा व्याख्या गरे। ‘इतिहास कसले लेख्छ र कसको कथा छुट्छ भन्ने प्रश्न सधैं शक्ति र राजनीतिसँग गाँसिएको हुन्छ’, उनले भने।

नेपालको इतिहास लेखनबारे चर्चा गर्दै उनले अझै धेरै ‘ग्याप’ रहेको औंल्याए। विशेषगरी सीमान्तीकृत समुदायका अनुभव र आवाजहरू मुख्यधारको इतिहासमा समेटिन नसकेको उनको भनाइ थियो।

कार्यक्रममा ‘इतिहासअघिको इतिहास’ को सन्दर्भमा विस्तृत छलफल गरिएको थियो। उक्त कृतिको वैचारिक पृष्ठभूमिबारे प्रकाश पार्दै उनले इतिहासलाई पुनर्विचार गर्ने, स्थापित मान्यतामाथि प्रश्न उठाउने प्रयास भएको बताए।

स्रोत सामग्रीमा अंग्रेजी सामग्रीको बाहुल्य देखिनु नेपाली ज्ञान उत्पादन संरचनाको कमजोरीसँग जोडिएको उल्लेख गर्दै उनले राज्यले अनुसन्धान तथा प्रकाशनका लागि आवश्यक वातावरण र लगानी अझै पर्याप्त रूपमा गर्न नसकेको बताए।

यसै क्रममा उनले नेपालको शिक्षा प्रणालीबारे पनि चिन्ता व्यक्त गर्दै शिक्षा सुधार र अनुसन्धान प्रवर्द्धनका लागि राज्यले अपेक्षित ध्यान दिन नसकेको दुखेसो पोखे।

विशेषगरी प्रागऐतिहासिक अध्ययन–अनुसन्धान अत्यन्त खर्चिलो, जटिल र समयसाध्य हुने भएकाले यस क्षेत्रमा पर्याप्त लगानी आवश्यक पर्ने उनको भनाइ थियो।

यस्ता अनुसन्धानमा प्राविधिक चुनौती मात्र नभई नीतिगत अस्पष्टता र कहिलेकाहीँ राजनीतिक स्वार्थसमेत जोडिने हुँदा अनुसन्धान कार्य थप जटिल बन्ने उनले उल्लेख गरे।

संस्कृति र आधुनिकताबीचको सम्बन्धबारे बोल्दै उनले परम्परा स्थिर नभई निरन्तर रूपान्तरण हुने प्रक्रिया भएको स्पष्ट पारे। ‘संस्कृति संरक्षण’ का नाममा गरिने कृत्रिम प्रदर्शनभन्दा समुदायभित्र बाँचिरहेको जीवन्त अभ्यासलाई प्राथमिकता दिनुपर्ने उनको जोड थियो। उनले डिजिटल युगमा इतिहास र स्मृतिको स्वरूप तीव्र रूपमा बदलिँदै गएको उल्लेख गर्दै सामाजिक सञ्जालले इतिहास निर्माण र प्रसारणमा नयाँ अवसरसँगै चुनौती पनि सिर्जना गरेको बताए।

साथै, इतिहास र पहिचानको सम्बन्ध संवेदनशील हुने भएकाले यसले सामाजिक द्वन्द्व निम्त्याउने सम्भावनाप्रति सचेत रहनुपर्नेमा उनले जोड दिए।

भक्तपुर सन्दर्भमा बोल्दै डा. सुरेश ढकालले यस क्षेत्रलाई “जीवित सांस्कृतिक संग्रहालय” का रूपमा व्याख्या गरे।

शहरीकरण र आधुनिकीकरणका प्रभावका बाबजुद यहाँको सांस्कृतिक निरन्तरता उल्लेखनीय रहेको उनको भनाइ थियो। उनले भक्तपुरको समृद्धि र सामाजिक रूपान्तरणमा सफाइ अभियान र किसान आन्दोलनजस्ता स्थानीय पहलहरूले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

साहित्यकार हरिसुन्दर छुकांले सञ्चालन गरेकाे कार्यक्रममा सुरेश बखुन्छेले लेखकको परिचय प्रस्तुत गरेका थिए। अन्तरसंवादमा पत्रकार कृष्ण प्रजापति, संस्कृति तथा पुरातत्त्व अध्येता सृजना प्रजापति, शिक्षक केपी छुस्याकी, कृष्णप्रसाद सुवाल, सरोज गोसाई, विद्यार्थी राधिका बेकोजु, सुरेश परियार लगायतले  जिज्ञासा राखेका थिए।

कार्यक्रममा सहभागी विद्यार्थी, अनुसन्धानकर्ता तथा सरोकारवालाहरूले मानवशास्त्र, इतिहास, संस्कृति र समाजसँग सम्बन्धित विविध जिज्ञासा राखेका थिए। अन्तरसंवादले ज्ञान आदानप्रदानका साथै समसामयिक मुद्दामाथि गहिरो बौद्धिक बहसको वातावरण सिर्जना गरेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार यस्ता अन्तरसंवाद कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइनेछ। तीन दशकभन्दा बढी समयदेखि मानवशास्त्रको अध्ययन, अनुसन्धान र अध्यापनमा सक्रिय डा. ढकाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानवशास्त्र केन्द्रीय विभागमा प्राध्यापनरत छन्।

प्रकाशित: २१ चैत्र २०८२ १३:१० शनिबार