कला/साहित्य

प्रिय नयाँ वर्ष

कविता

निरन्तर गतिले समयकाे रेखा काेर्छ

दिनरात, महिना, वर्षहरू फेरिन्छन्

जीवन बचाउने विचारले पालुवा झिक्छ

मन उस्तै गतिसँग हिँड्न चाहन्छ

जीवन रङ रङका दृश्य खाेजी गर्छ

जीवनमा आशा भराेसाकाेे लहर चल्छ।

मान्छे स्वाधीन बाँच्न पुग्ने गरी कर्म गरौं

भन्दै स्वधर्म निभाउने जिम्मेवारी लिन्छ

चञ्चल मन यात्रा गरिरहने रहर पाल्छ

जिन्दगीका अनन्त रेखा काेर्दा काेर्दै

श्रमजीवी मान्छेहरू पसिनासित खेल्छन्।

सदैव हातगाेडाहरू चलाएर

हिजोसँग उभिएका दर्बिला

पाइलाले आज उचाल्दै उचाल्दै

झाेपडीका बिब्ल्याटे आँगनहरू

उजिल्याउने सञ्चार सूत्र लिएर आऊ

अँध्यारो चिर्दै चिर्दै हिँड्ने चेतन चक्षुमा

समताकाे ऊर्जाले भविष्य हाँक्ने जाँगर भरेर

श्रम गीतमा लय झिकी काेपिलाका अधरमा

मुस्कान छर्दै छर्दै आऊ प्रिय नयाँ वर्ष!

म चुनौतीका पर्खालहरू उधिनेर

तिम्रो स्वागतमा धरती छाेपिने गरी  

नवीन तृण तुल ओछ्याइरहन्छु

हाे , तिमी समस्त जनमनमा उमङ्गका  

पाेका फुकाउने विज्ञान बाेकेर आऊ।

हृदयका फराकिला पानाहरूमा

प्रकृति जस्तै परिवर्तनका डालीहरूमा

पन्छीका गुँड जतन गर्ने सुन्दर छटाहरू

वासन्ती पालुवाले गुराँसे पाखासरि

काेइलीकाे भाकासँगै जनभावनाका

स्वच्छन्द सुसेलीहरू सुसेल्दै सुसेल्दै

आँगन आँगनसम्म उत्साही काेसेली

बाँड्दै बाँड्दै आऊ प्रिय नयाँ वर्ष!

प्रकाशित: २ वैशाख २०८३ १२:१८ बुधबार