कला/साहित्य

‘पेन्सन पट्टा’ मा सैनिक पोसाकमा दया

अभिनेता तथा निर्देशक माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ को फस्ट लुक सार्वजनिक गरिएको छ। असार १५ को अवसरमा चलचित्रको तीन फरक शैलीका पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा प्रचारप्रसार सुरू गरेको हो।  

सार्वजनिक पोस्टरमा दयाहाङ सैनिक पोसाकमा प्रस्तुत छन् भने गौमाया परम्परागत गुरूङ पहिरनमा देखिएकी छन्। पृष्ठभूमिमा रहेका युवा पात्रहरूको उपस्थितिले प्रेम, प्रतीक्षा, परिवार र पुस्तान्तरणको कथालाई संकेत गरेको छ। 

अर्को पोस्टरमा भने गौमायाको काखमा रहेको पाठो र दयाहाङको भावपूर्ण अभिव्यक्तिले सरल ग्रामीण जीवन, आत्मीयता र मानवीय संवेदनालाई संकेत गर्छ।

तेस्रो  पोस्टरमा दयाहाङ राई र गौमाया गुरूङलाई प्रस्तुत गरिएको छ। जहाँ उनीहरु एक आर्काको हात समाएर झरनाको बाटो यात्रा गरिरेहका देखिएका छन्। डोको बोकेकी गौमाया र प्राकृतिक सौन्दर्यलाई पोस्टरमा  सुहाउदो समेटिएको छ।  माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रले आशा, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राखेर चलचित्रको कथावस्तु रहेको सन्केत दिन्छ।

चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधरलगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्र भने हरितालिका तीजको अवसर पारेर भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

प्रकाशित: १५ असार २०८३ १३:३५ सोमबार