कला/साहित्य

बत्तीमुनिको अँध्यारो

कविता

मेरो भोगाइसँग सर्वथा अपरिचित

यो अनभिज्ञता स्वाभाविक हो

या तिम्रो कुनै अभिनय?

देख्दा मात्र पनि जहाँ अरूलाई दुख्छ,

त्यही तटस्थ बनेर तिमीले

मेरो घाउमा मलम होइन,

बरु नूनचूक छरेका छौं

सुकेको हाँगोमा झैं केही नउम्रने  

तिम्रा सम्वेदनाहरू!

उदाङ्गो रात, ताराहरू केलाएर  

जूनकिरीहरूको उज्यालोमा

मैले चाहेर पनि घाम उदाउन सक्दैन

उसमाथि कोठाभित्र आउने

एक टुक्रा जुनेली पनि

उपेक्षाको कालो पर्दामा

तिमीले छेकेका छौं।

मेरा आँसुसँग बगेका पहिराहरूमा  

तिमी बगेनौ दुःखले

निर्निमेष खालि हेरिरह्यौ म पुरिएको।

सहानुभूति ओढेर

अरूका पुराना खतहरूमा समेत

दुखेको अनुभूति गर्दै 

तिमी रोयौ र छाड्यौ

सान्त्वनाका अनगिन्ती धापहरू।  

आसन्न तिम्रोछेउ

मेरा रोदनका हिक्काहरू पोखिए

तैपनि छोएन मेरा दुःखले

पग्लिएनौ तिमी

चिसिएर अझै जमिरह्यौ,

म र मेरो पीडा

सायद तिम्रो लागि

सधैं बत्तीमुनिको अँध्यारो।

प्रकाशित: २८ असार २०८३ १२:४५ आइतबार