दिनले रातलाई गिज्यायो, “छ्या, तिमी अँध्यारी, काली अनि कत्ति हिस्सी नपरेकी!”
रातले पनि दिनलाई ओठे जवाफ लगाई, “तिमीले आफ्नो अनुहारको प्रतिबिम्ब नियालेका छौ? सूर्यको तातो प्रकाशमा बसेर आफू उज्यालो भएको ठान्नु तिम्रो मूर्ख्याइँ हो।”
दिनले भन्यो, “तिमीले पनि त आफ्नो रूपको प्रतिबिम्ब हेर्न चिसो चन्द्रमाको टलक कुर्नुपर्छ।”
दुवैले लगातार एक अर्कामा खोट लगाइरहे।
रात: “तिमीले आफ्नो ढाडमा दौडिरहेको भैँसी देखेनौ हगि।”
दिन: “तिमी चोरीचकारी र कुकर्महरूकी रानी हौ। तिमी आएपछि प्रफुल्ल बन्छन् तिनीहरू। के तिम्रा आडमा भएका कुकर्महरूको भागीदार तिमी बन्नु पर्दैन?”
अन्तमा रातले पनि झटारो हानी दिनलाई। भनी, “आजकल कुकर्मीहरूले मेरो आगमन कुर्दैनन्। पत्याएनौ, हेर त तिम्रै ढलिमली भएका बेला चल्ने सरकारलाई।”
प्रकाशित: १० जेष्ठ २०८३ ११:१४ आइतबार