गत शुक्रबार र शनिबार साँझ कालिकास्थानमा रहेको नेपालयको 'आर'शालामा दार्जिलिङका प्रसिद्ध गायक तथा संगीतकार दुर्गा खरेलको सांगीतिक कार्यक्रम 'पलेँटी' सम्पन्न भएको छ ।
यसपालीको पलेँटी दार्जिलिङका विस्मृत रचनाहरूलाई अभिलेखमा ल्याउने उदेश्यले गरेको कुरा आयोजकहरूले जानकारी गराएका थिए ।
१७ वर्ष पहिले पलेँटीमा आफ्नो पहिलो प्रस्तुति दिएका दुर्गा खरेलले गतवर्ष पनि नेपालयको 'आर'शाला गुञ्जायमान बनाएका थिए । विगतका कार्यक्रममा आफ्ना सांगीतिक सहयात्री बद्री खरेल दाइका साथ प्रस्तुत हुने गरेका दुर्गा यसपालि भने पलेँटीकी कण्ठ शिल्पी अभिज्ञा घिमिरेका साथ प्रस्तुत भएका थिए ।
यसपालिको कार्यक्रममा दार्जिलिङका बिर्सिएका गीतहरू प्रस्तुत भएका थिए । कार्यक्रममा प्रस्तुत गरिएका गीतहरूको छनोट दुर्गा खरेलले आफ्नो बाल्यकालको सम्झनाका आधारमा गरेका थिए ।
कार्यक्रमको शुभारम्भ बद्री-दुर्गाकै लोकप्रिय गीत 'बोलाउँ भने तिमीलाई बात लाग्ने डर'बाट भएको थियो । त्यसपछि भने दार्जिलिङका अनेकौं पुराना स्रष्टाहरूको गीति पाना खोलिएको थियो । जुन पाना दुर्गा खरेलको मस्तिष्कमा जोगिएर रहेका सांगीतिक पाना थिए ।
दुर्गाले आफ्नो सम्झनाको पाना पल्टाउँदा संगीतकार अम्बर गुरुङलाई अग्रस्थानमा राखेका थिए । अम्बर गुरुङका धुन सम्झने क्रममा सबैभन्दा पहिले उनले 'पहाड सुक्यो जस्तो लाग्छ' गीत प्रस्तुत गरे । गीत प्रस्तुतिका क्रममा दुर्गाले यो गीत धुनको कारणले मात्र होइन शब्दको कारणले पनि मौलिक लागेर आकर्षित भएको र मनमा रहिबसेको बताएका थिए ।
'चौतारीमा बाटो खोज्दा खोज्दै मरेँ जस्तो लाग्छ, चौतारीको भूतको कथा मेरै मेरै जस्तो लाग्छ' । अम्बर गुरुङकै शब्दमा रहेको यो गीत गुरुङ दार्जिलिङमा हुँदा नै लोकप्रिय भएको थियो ।
गुरुङकै सङ्गीत प्रस्तुत गर्ने क्रममा उनले अर्को रचना 'डाँडापारी हिउँ परेछ, डाँडावारी पानी' प्रस्तुत गरेका थिए । यो गीत अम्बर गुरुङका मीत गीतकार ईन्द्र थपलियाले लेखेको गीत थियो ।
त्यसपछि दुर्गा खरेलले अम्बर गुरुङले दार्जिलिङमा हुँदै अरुणा लामासँग गाएको हो कि ? भन्ने धुमिल सम्झना गर्दै 'घामजुन पञ्च राखी बाचा मार' प्रस्तुत गरेका थिए । दुर्गाको सहगायनमा अभिज्ञा घिमिरेको साथ रहेको थियो ।
त्यसपछि गोपाल योञ्जन आफ्नो संगीतको पहिलो गुरु रहेको स्मरण गर्दै दुर्गा खरेलले उनका दुईवटा गीतहरूलाई प्रस्तुत गरेका थिए । 'लिई गला नदीको बालुवाको ओठ लिएर, पिउँछु मुहान सुराको बेहोस बेहोस भएर' दुर्गाको गलामा गुन्जँदा गोपाल योञ्जनकै झझल्को सुनिन्थ्यो । जुन झझल्को 'प्रियसीको हत्केलामा कोरिएका रेखाहरू, हेर्दाहेर्दै बिर्सिएछु भन्नपर्ने कुराहरू' गुञ्जाउँदा पनि निरन्तर थियो ।
पुराना सिर्जना सम्झने क्रममा संगीतकार शान्ति ठटालका सृजनालाई पनि समेटिएको थियो । दुर्गाले कुनै समय 'त्यो फेरि फर्कला'नाटकमा अभिनय गर्दै गन्धर्वको भूमिकामा आफैंले गाएको 'सुन सुन भला पञ्च म केही भन्छु' गीतको सम्झना गरेका थिए । भवानी भिक्षुको 'त्यो फेरि फर्कला' नाटकमा संगीतकार शान्ति ठटालले संगीत भरेकी थिइन् ।
ठटालकै सिर्जना सम्झँदै गर्दा अभिज्ञा घिमिरेले 'कुन जुनीको पाप मलाई आज लागेछ, निर्मोहीको मायाको व्यथा उर्लिरहन्छ' सुनाएकी थिइन् । गीतकार मेनुका प्रधानका शब्दलाई संगीतकार शान्ति ठटालले बिरनी शैलीमा धुन भरेको गीत थियो यो ।
त्यसपछिको प्रस्तुतिमा ६० को दशकभन्दा अगाडि नै दार्जिलिङमा लोकप्रिय बनेका एमबी सुन्दासका गीतहरू परेका थिए । सुन्दासको 'स्वर्णिम सपनासाथ अङ्गाली तिमी निदायौ होली' आधुनिक शैलीमा आधारित गीत थियो भने 'फूल फुल्यो पहेँली ए साइली, याद आउँछ झलझली' लोक शैलीको गीत थियो ।
यसपालीको पलेँटीमा वाद्यवादनतर्फ दिनेशराज रेग्मी (किबोर्ड), पारशमणि सुवेदी र मिलेश तण्डुकार (रिदम सेक्सन) मिलन घिमिरे (बाँसुरी), कृपेश लोहनी (रिदम गिटार) र सुदीप खत्री (बेस गिटार) को सहभागिता रहेको थियो ।
अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार, शनिबार प्रस्तुत हुने पलेँटीमा आउँदो महिना दार्जिलिङका गायक पवन गोले सङ्गीतकार रमेश गुरुङका साथ प्रस्तुत हुनेछन् । पवन गोलेको गीत ‘हावासँगै बगुँ भन्छ’ नेपाली सङ्गीत जगतमा लामो समयदेखि लोकप्रिय रहँदै आएको छ ।
प्रकाशित: १६ चैत्र २०८२ १९:२१ सोमबार