कला/साहित्य

कामदेवको कमाइ

निबन्ध

हामी कसैले पनि मान्छेको हृदय भौतिक आँखाले देखेका छैनौं तर हामी सबैलाई थाहा छ - मान्छेको हृदय विशाल हुन्छ। ऊ हृदयले नै बाँच्छ, हृदय नै उसको पहिचान हो, उसको गन्तव्य पनि हृदय नै हो। ऊ त्यही हृदयले नै मान्छे बनेको हो। लाग्छ, हृदय नै मान्छेको सबै चिज हो। हृदय ब्रह्माण्डभन्दा पनि विशाल छ।

हृदय मुटुको केन्द्रमा हुन्छ। मुटु सानो होला तर त्यो मुटुले विशाल हृदयको बलियो सुरक्षा गरिरहेको हुन्छ। जसरी ठुलो घर प्रवेश गर्ने ढोका सानो हुन्छ, ढोकालाई नियन्त्रण गर्ने ताल्चा झनै सानो हुन्छ, ताल्चालाई खोल्ने–लगाउने चाबी अझै सानो हुन्छ। त्यही सानो चाबीले विशाल घरको समग्र सुरक्षा दिइरहेको हुन्छ।

मुटु र हृदयको सम्बन्ध पनि त्यस्तै हो। विशाल हृदयलाई सानो मुटुले सुरक्षा दिइरहेको हुन्छ। हृदयको यति विश्वासिलो सुरक्षा मुटु हो। मुटु आफू फुट्न तयार हुन्छ तर हृदयको सुरक्षा गर्न कहिल्यै छोड्दैन, हृदयलाई सदैव जोगाइराखेको हुन्छ। त्यही मुटुको केन्द्र–हृदयका कारण मान्छे विशाल बनेको हो। चित्त मुटुमा हुन्छ कि हृदयमा ? चित्त कत्रो हुन्छ ? मान्छेलाई दुख्ने चित्तका कारण हो कि मुटुका कारण ? यो मलाई थाहा छैन। तर विशाल हृदय भएर पनि अक्षम्य रूपमा स्खलित मान्छे जताततै भेटिँदा साह्रै चित्त दुखेर आउँछ।

भर्खरै मधेसको गर्मीमा हृदय पगाल्ने क्रूर कर्म त्यही हृदय भएको मान्छेले गरेको छ। तीन वर्षीय बालिकालाई बलात्कारपश्चात् हत्या गरिएको घटनाले हृदयलाई चकनाचुर पारेको छ। मान्छे त्यति निकृष्ट स्तरमा कसरी गिर्न सक्छ ? मान्छेले मान्छेलाई सिद्याउने मति कसरी जन्मिन्छ ? अरूलाई सिद्याउने खेलमा आफू पनि सिद्धिने निश्चित छ भन्ने यथार्थ मान्छेले किन बुझ्दैन ? गरिमाहरू भर्खरै माटो छोडेका बिरुवाका कलिला मुना हुन्। ती मुना निष्फिक्री हुर्किएर बेपरबाह फक्रिन पाउनुपर्ने होइन ? हुर्किसकेका मान्छेबाटै त्यो कलिलो मुना जीवनको प्रभाती झिसमिसेमै चुँडिनुपर्‍यो। कस्तो विडम्बना ! कलङ्कित मानवताको समूल उदाहरण योभन्दा क्रूर कुन हुन सक्ला ?

श्रापित मानवताका यस्ता कर्म छ्यासछ्यसती देखिन थालेका छन्। विशेषतः मान्छेलाई उत्तेजनाले गिराउँदो रहेछ, सबैभन्दा बढी मनको उत्तेजनाले। उत्तेजनाको कुरा गर्दै गर्दा काठमाडौंका एक साथीको घटना सम्झन्छु। उनी र श्रीमती दुवै सफल व्यक्ति थिए, नेपाल सरकारका उपसचिव पदमा कार्यरत। हट्टाकट्टा थिए, सुन्दर र सन्तुष्ट देखिन्थे। एकदिन साँझ परिभ्रमणका क्रममा निस्कँदै गर्दा खोलाछेउको घरमा कोलाहल र मान्छेको भिड देखियो। नजिकै गएर बुझ्दा पो थाहा भयो - एक सरकारी कर्मचारीले खोलाछेउमा बस्ने दृष्टिविहीन युवतीलाई यौन दुव्र्यवहार गरेछन्। दुर्व्यवहार गर्ने पुरुष उनै साथी थिए, जो आफ्नी जवान श्रीमतीसँगै उच्च पदस्थ सरकारी कर्मचारीका रूपमा कार्यरत थिए। घरमा श्रीमती छन्, त्यो पनि उमेरदार, रूपरङ्ग र ऊर्जाले भरिपूर्ण। यसो हुँदाहुँदै ती साथी किन बाहिरी दुनियामा यौन दुव्र्यवहार गर्न तम्सिए ? यो एकैछिनको व्यक्तिगत उत्तेजना हो कि मानवीय प्रवृत्ति नै हो ? मान्छे किन यति सजिलै जीवनमूल्य गुमाएर कलङ्कित बन्न पुग्छ ? त्यो घटना सम्झनासाथ मेरो मनमा यस्ता अनगिन्ती प्रश्न ओइरिइहाल्छन्। त्यही क्षण यी प्रश्नको उत्तर मनमा धुमिल भएर आएजस्तो लाग्छ– मान्छेको पतन सधैं ठुलो अपराधबाट सुरु हुँदैन, एक क्षणको अनियन्त्रित इच्छा, एउटा गोप्य सम्बन्ध वा एउटा गलत निर्णयबाट सुरु हुन्छ।

मान्छेको प्रतिष्ठा कहाँबाट बन्छ ? पदबाट कि चरित्रबाट ? पदले मान्छेलाई ठुलो बनाउन सक्छ तर चरित्रले मात्र उसको प्रतिष्ठा जोगाउँछ। पौराणिक कालदेखि आजसम्म पनि मान्छेलाई आशक्तिले पतित बनाइराखेको छ। आशक्तिलाई भोग गरेर कहिल्यै सकिँदैन। आशक्ति वा मनका उर्लंदा इच्छाहरू भोग गर्दै जानु भनेको आगोमा घिउ थप्दै जानुजस्तै हो। त्यसैले आशक्ति, मनका अनावश्यक चाहनालाई दबाउनै पर्छ, फस्टाउन दिनु हुँदैन।

महाभारतमा एउटा कथांश छ। ऋषि गौतमकी पत्नी अहल्या अत्यन्त सुन्दरी थिइन्। उनको सौन्दर्यको चर्चा देवलोकसम्म पुगेको थियो। एक दिन गौतम ऋषि आश्रमबाट बाहिर गएको मौका पारेर देवराज इन्द्र गौतमकै रूपधारण गरी अहल्याको समीप पुगे। गौतम ऋषि फर्किंदा यो सब घटना देखे र क्रोधित हुँदै इन्द्रलाई ‘तिम्रो शरीरभरि स्त्रीका योनीचिह्नहरू देखा परून्’ भनेर श्राप दिए। त्यसपछि इन्द्रका शरीरभरि लज्जास्पद योनीचिह्नहरू देखिए। आशक्तिका कारण देवराज इन्द्रसमेत श्रापित हुनुपर्‍यो, कलङ्कित हुनुपर्‍यो।

मानव सभ्यताको सबैभन्दा ठुलो विडम्बना हो– मान्छे देवताको श्रापदेखि डराउँछ, ग्रह–नक्षत्रका प्रतिकूलताबाट त्रसित हुन्छ, भाग्यलाई दोष दिन्छ तर आफ्नै कर्मले आफूलाई दिएको श्राप कहिल्यै बुझ्दैन। हामी आकाशतिर हेरेर दुर्भाग्यको कारण खोज्छौं तर दुर्भाग्य खोज्न ऐनामा हेर्दैनौं, जसले दुर्भाग्यको वास्तविक अनुहार देखाइरहेको हुन्छ। पूर्वीय दर्शनको एउटा भनाइ छ - मानिसले गरेको कर्म समयको कुनै अँध्यारो कुनामा हराउँदैन, त्यो अवसर पर्खेर फेरि उसको ढोकामा आइपुग्छ।

आज मानिससँग विज्ञान छ, प्रविधि छ, अन्तरिक्षमा पुग्ने क्षमता छ तर सबै यस्ता भौतिक सम्पन्नता भएको मान्छेले कहिलेकाहीं आफ्नै घरभित्रको मानिसलाई सुरक्षित राख्न सकिरहेको छैन। मान्छेले आज कृत्रिम बुद्धिमत्ता बनाएको छ तर आफ्नै बुद्धिको कृत्रिमता हटाउन सकेको छैन। विज्ञान र प्रविधिको सहारामा मान्छे आज समुद्रको गहिराइ नाप्न सफल छ तर उसले आफ्नै आशक्ति, वासना, लोभ, मोहको गहिराइ नाप्न सकेको छैन।

आजको मान्छेलाई हेर्दा लाग्छ– अरूलाई नाप्न सजिलो छ, अरूको गहिराइ तौलिन सजिलो छ, अरूको समीक्षा गर्न झनै सजिलो छ तर आफ्नै गहिराइ नाप्न अनि समीक्षा गर्न अत्यन्त कठिन छ। त्यसैले होला - आजको मान्छेले आफ्नो गरिमा नबुझेको, प्रतिष्ठा र मानवीयता भुलेको अनि आफैंलाई भुलेर कुकर्मतर्फ उद्यत भएको।

आगो जीवनका लागि आवश्यक छ तर नियन्त्रणबाहिर गयो भने त्यही आगोले घर जलाउँछ, परिआयो भने आफैंलाई जलाउन पनि पछि पर्दैन। हाम्रो ऊर्जा, शारीरिक वासना, विपरीत लिङ्गीय आकर्षण, यौन आशक्ति पनि शरीरभित्र आगोकै रूपमा हुँदारहेछन्। विश्वामित्रजस्ता महान् ऋषिको गहन ध्यानसमेत मेनकाले भङ्ग गरिदिइन्। मेनकाको सौन्दर्य तथा वासना ऋषिको तपस्याभन्दा बढी शक्तिशाली देखियो। यहाँ बुझ्नुपर्ने कुरा के देखियो भने इन्द्रिय आफैंमा शत्रु होइन, इन्द्रिय नियन्त्रणभन्दा बाहिर गयो, इन्द्रियको अनियन्त्रित आशक्तिले मान्छेलाई नियन्त्रण गर्न थाल्यो भने मान्छे पतनतर्फ अगाडि बढ्छ।

अमेरिकाका राष्ट्रपतिदेखि नेपालका खेलाडी -कलाकारहरूको वासनात्मक आशक्तिका शृङ्खला हामीले सुनेकै छौं। आफ्नै कार्यालयकी एक कर्मचारीसँगको इन्द्रियक्रीडाका कारण अमेरिकाका पूर्वराष्ट्रपतिको अनुहारमा सधैंका लागि कलङ्कको दाग लाग्यो।

नेपालका प्रसिद्ध खेलाडी तथा अभिनेताहरू वासनात्मक आशक्तिकै कारण जेलघरमै पुग्नुप¥यो। कामवासनाको आगोले आफैंलाई जलाउँदो रहेछ, मानवीय विवेक जलाउँदो रहेछ, मान्छेको प्रतिष्ठाको महल सजिलै ढालिदिँदो रहेछ।

मान्छेको सबैभन्दा ठुलो मित्र र शत्रु आफ्नै इन्द्रिय हुँदो रहेछ। आफ्ना इन्द्रिय, आफ्नो विवेक तथा मनको नियन्त्रण–शक्ति बलियो छ भने मान्छेलाई बाहिरको शत्रुले केही गर्न सक्दो रहेनछ। मान्छेका सबैभन्दा ठुला शत्रु त आफ्नै अनियन्त्रित ऐन्द्रिक कामना रहेछन्। यो कुराको पुष्टि आकाशदेखि पातालसम्मका वासनाको कारागारमा बसेका व्यक्तिहरूको अनुहारमा लागेको कलङ्कको टीकाले नै गरिराखेकै छन्।

कामदेव मान्छेलाई दिग्भ्रमित पारिदिने देवता हुन्। यिनले मान्छेलाई केही क्षण सुख दिएजस्तो गरिदिन्छन्। अन्ततः वर्षौंसम्म पश्चातापको आगोमा धकेलिदिन्छन्। यिनले मान्छेको आँखामा क्षणिक आवेगको पट्टी बाँधिदिन्छन्।

मान्छे एकैछिन रनभुल्लमा पर्छ। यिनले केही क्षणका लागि प्रेम, आफन्त, त्याग, सौन्दर्यको परिभाषा नै बदलिदिन्छन्। यनले एकैछिनका लागि मान्छेको वास्तविक सुख भनेकै इन्द्रिय सुख हो, वास्तविक आफन्त भनेकै इन्द्रिय सुख दिने व्यक्ति हुन्, वास्तविक प्रेम भनेकै शारीरिक–वासनात्मक प्रेम हो, वास्तविक सौन्दर्य भनेकै रूप–सौन्दर्य हो, उमेर–सौन्दर्य हो भन्ने परिभाषा स्थापित गरिदिन्छन्। उत्तेजनाको पट्टीले दृष्टिलाई नै बन्धक बनाएको मान्छेले यो परिभाषालाई नै जीवन–सत्य ठान्छ।

यी सबै सन्दर्भमार्फत बताउन खोजेको कुरा हो– प्रकृतिले मान्छेलाई महान् प्राणीका रूपमा अवतरण गराएको हो। हुन पनि परापूर्वकालदेखि आजसम्म मान्छेले अनेकौं अद्भुत काम गर्दै आएको पनि छ। ऋषिमुनिहरूले गरेका साधना अनि सिर्जेका महान् कृतिहरूदेखि आजका वैज्ञानिक, सर्जक, कलाकारहरूले सिर्जेका अद्भुत सिर्जनाहरू हेर्दा मान्छेको चामत्कारिक शक्ति स्पष्ट हुन्छ तर त्यही मान्छेले गरेको जीवनभरको तपस्या–साधनालाई क्षणिक वासनात्मक आवेगले भताभुङ्ग बनाउँदा लाग्छ -मान्छेको त्यो अद्भुत शक्तिको जग कति कमजोर रहेछ? फेरि अधिकांश मान्छे वासनात्मक प्रेम र क्रीडाकै जालमा परेर च्युत भएका छन्। देवता, ऋषिमुनिदेखि आधुनिक मनुहरूलाई वशमा पार्न सक्ने वासनात्मक आशक्ति कति शक्तिशाली हुँदोरहेछ?

प्रकाशित: १३ भाद्र २०८३ १०:३६ शनिबार