कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा निकै लोकप्रिय देखिन्छ। हाइकु र सेन्युको सङ्क्षिप्तता र गुणवेत्ताका प्रभावले नेपाली साहित्यमा सयौं हाइकुकार र केही सेन्युकार देखापरिरहेका छन्।
यसै क्रममा काठमाडौंका ६६ वर्षीय प्रदीप केसी (सञ्जेल)ले 'तृषित मन'हाइकु /सेन्युसङ्ग्रह प्रकाशनमा ल्याएका हुन्। उनले 'तृषित मन' मा हाइकु र सेन्यु गरी ९५८ रचना समेटेका छन्।
ऐरावती प्रकाशनले आयोजना गरेको कार्यक्रम नेपाल प्रज्ञाप्रतिष्ठानका निवर्तमान प्राज्ञ परिषद् सदस्य, वरिष्ठ समालोचक तथा कवि डा. मधुसूदन गिरीकाे प्रमुख आतिथ्य कार्यक्रम भएकाे हाे।
कार्यक्रमका प्रमुख अतिथि डा. मधुसूदन गिरीले 'तृषित मन' हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण गर्दै हाइकु र सेन्युलाई बौद्धिक जडताभन्दा पनि सरल र सहज किसिमले रचना गर्न जोड दिए।
हाइकु रचना प्रकृतिलाई हेर्ने जीवन दर्शन भएकाले यसमा नेपाली मौलिकता, माटो र समाजको सुगन्ध आउनुपर्ने विचार व्यक्त गर्दै हाइजिन प्रदीप केसीका हाइकु र सेन्युमा समाजको विविधता आउनु भनेको तृषित मनको महत्त्वपूर्ण पक्ष रहेको बताए।
विशेष अतिथि,नेपाल प्रज्ञाप्रतिष्ठानका निवर्तमान प्राज्ञसभा सदस्य, नेपाल हाइकु सङ्घका केन्द्रीय अध्यक्ष तथा 'तृषित मन'हाइकु /सेन्युसङ्ग्रहका भूमिकाकार तथा हाइकुविद् चेतनाथ धमलाले लघुतम हाइकु र सेन्युको संरचना र सिर्जनशीलताबारे प्रष्ट पार्दै हाइकुकार केसीको रचनाधर्मिताबारे प्रकाश पारेका थिए।
अतिथिहरू नेपाल भाषाका हाइकु कवि तथा स:दबू साहित्य ललितपुरका संयोजक सुधीर ख्वबी, प्रलेसका केन्द्रीय पार्षद सृजना सरोवर र पूर्व बिगेडियर जनरल रामचन्द्र खत्रीले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा 'तृषित मन' हाइकु /सेन्यु सङ्ग्रहका स्रष्टा प्रदीप केसीले आफूले प्रकृति र धार्मिक सांस्कृतिक पक्ष आत्मसात् गर्दै तिनको सिर्जना गरेको बताए। केसी शुभेच्छुकबाट सम्मानित समेत भए।
उक्त सङ्ग्रहका प्रकाशक, मानव अधिकार तथा एकल महिला समूहका केन्द्रीय सदस्य प्रतिभा विष्टको अध्यक्षतामा कार्यक्रम भएकाे हाे। स्वयम्भू कारखाना चोकमा रहेको क्वालिटी दरबार रेस्टुरेन्टमा कार्यक्रम भएकाे हाे। प्रकाशनका अध्यक्ष तथा कवि रामदेव पाण्डेले आकर्षक ढङ्गबाट कार्यक्रमको सञ्चालन गरेका थिए।
प्रकाशित: १६ जेष्ठ २०८३ ०८:२८ शनिबार