गोधूलि प्रतिष्ठानले आफ्नो २० औँ वार्षिकोत्सव तथा २१३ औँ भानुजयन्तीको संयुक्त अवसरमा भाषा, साहित्य, कला, संस्कृति, शिक्षा तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएका एकजना व्यक्तित्वलाई अभिनन्दन तथा १४ स्रष्टा एवं व्यक्तित्वलाई विभिन्न विधाका सम्मान तथा पुरस्कार प्रदान गरेको छ।
नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा शनिबार सम्पन्न कार्यक्रममा योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयका संस्थापक उपकुलपति प्राडा रमेशकुमार ढुंगेललाई ‘गोधूली वाङ्मय शिखर अभिनन्दन’ अर्पिएको हाे।
त्यसैगरी वरिष्ठ कवि राजेन्द्र शलभ तथा वरिष्ठ साहित्यकार डा. छायादत्त न्यौपाने ‘बगर’लाई रु. एघार हजार एक सय एघारसहित ‘गोधूलि–भानु काव्यश्री सम्मान’ प्रदान गरियो।
त्यस्तै सांस्कृतिक अध्येता डा. नरेश शाक्यलाई ‘गोधूलि सत्यमोहन संस्कृति सम्मान’, मूर्तिकार ताराप्रसाद ओझालाई ‘गोधूलि अरनिको ललितकला सम्मान’, लोकसाहित्य अनुसन्धानकर्ता डा. प्रतिभा पुनलाई ‘गोधूलि–भानु लोक साहित्य सम्मान’, कलाकार तथा सामाजिक अभियन्ता फूल कुमार बम्जनलाई ‘गोधूलि भानु सिर्जना सम्मान’, साहित्यकार गंगाप्रसाद भेटवाललाई ‘गोधूलि–भानु वाङ्मय सम्मान’, कलाकार तथा शिक्षासेवी टिकाराम शर्मालाई ‘गोधूलि शिक्षा–कला जागरण सम्मान’, साहित्यसेवी प्रकाश भण्डारी (बेलायत)लाई ‘गोधूलि कला–साहित्य सेवा सम्मान’, प्रेरक उद्यमी तथा साहित्यसेवी सबिता ढुंगाना र साहित्यकार डा. सीता विष्ट कार्कीलाई ‘गोधूलि साहित्य सिर्जना सम्मान’ अर्पिएकाे हाे।
साहित्यकार आश्मा अर्याललाई ‘गोधूलि युवा सिर्जनशील सम्मान’नौ हजार नौ सय उन्नानसय नगद राशिसहित प्रदान गरियो भने पाँच हजार पाँच सय पचपन्न नगद राशिसहित साहित्यकार एन्जेलिना न्यौपानेलाई ‘गोधूलि नवप्रतिभा सम्मान’ तथा दुई हजार पाँच सय पचपन्न नगद राशिसहित नेपाल बाल संगठन, सिफलका उमेश राईलाई चित्रकलातर्फ ‘गोधूलि–चिसकुमारी बाल–प्रतिभा पुरस्कार’ प्रदान गरिएकाे हाे। पुरस्कृतहरुलाई कोषाध्यक्ष एलेन घिमिरेले नगद राशि हस्तान्तरण गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि प्राडा रमेशकुमार ढुंगेलले सम्मान तथा पुरस्कार प्रदान गर्दै साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा स्रष्टाहरूको योगदान राष्ट्रका लागि अमूल्य रहेको उल्लेख गरे। भानुजयन्तीको अवसरमा आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरिएको थियो। सो अवसरमा वरिष्ठ कवि गोपीकृष्ण प्रसाईंले भानु विशेष कविता वाचन गरेका थिए।
गोधूलि प्रतिष्ठानका अध्यक्ष प्रकाश समीरले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व प्रतिष्ठानका विशिष्ट सदस्य पशुपति गुरुङले गरेकी थिइन्। कार्यक्रममा साहित्यकार, कलाकार, संस्कृतिकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साहित्यकार भुवन गिरीको पहिलो उपन्यास ‘संसारी’ विमोचन
साहित्यकार भुवन गिरीको उपन्यास ‘संसारी’ को शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक समारोहबीच विमोचन गरिएको छ।
गोधूलि कला साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा वरिष्ठ सदस्य पशुपति गुरुङको सभापतित्व तथा योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयका संस्थापक उपकुलपति प्राडा रमेशकुमार ढुंगेलको प्रमुख आतिथ्यमा उपन्यासको सामूहिक विमोचन गरिएको हो।
कार्यक्रममा स्रष्टा भुवन गिरीले आफ्नो पहिलो उपन्यास लेखनको प्रेरणा, सिर्जनात्मक यात्रा तथा कृतिको विषयवस्तुबारे धारणा राख्नुभएको थियो। उपन्यासमाथि समालोचनात्मक टिप्पणी गर्दै प्राडा षडानन्द पौडेलले ‘संसारी’ नेपाली उपन्यास साहित्यमा समसामयिक जीवन र सामाजिक यथार्थता प्रस्तुत गर्ने सशक्त कृतिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।
त्यसैगरी ‘संसारी’ का सम्पादक बालकृष्ण दाहाल (बिकेडी)ले कृतिको सम्पादन प्रक्रिया, संरचना तथा साहित्यिक महत्वबारे प्रकाश पार्दै उपन्यासले पाठकमाझ सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
प्रमुख अतिथि प्राडा रमेशकुमार ढुंगेलले नयाँ स्रष्टाको पहिलो कृतिको प्रकाशन साहित्यिक क्षेत्रका लागि उत्साहजनक उपलब्धि भएको उल्लेख गर्दै यस्ता सिर्जनाले नेपाली साहित्यलाई थप समृद्ध बनाउने धारणा व्यक्त गरे।
प्रकाशित: १० श्रावण २०८३ ०९:५८ आइतबार