नेपालको सिन्धुपाल्चोक जिल्लाको हेलम्बु- ६ मेलम्चीका बासिन्दा उपन्यासकार बालकृष्ण गजुरेल मेरा सञ्जालयीय मित्र हुन्। संयोगले भेट भयो। प्रथम भौतिक भेटमा नै उनले आफैँद्वारा लिखित गजधम्मे उपन्यास ‘मञ्जरा’ मेरा हातमा कोसेली थमाउँदै भनेका थिए, “गुरु! यो हजुरकै सल्लाहले जन्मेको हो। कस्तो भएको छ, सुझाव पाऊँ।”
त्यसो त पाण्डुलिपिकै प्रारम्भमा पनि आँखा अलमल्याउने र अखेटो अड्क्याउने अवसर पाएकै थिएँ तर कृति पढिरहँदा भने पहिले पढेको सम्झना भुसुक्कै बिर्सैकाले विशुद्ध नवीनबोध भयो। (संयोग)
कलेबर
उपन्यास ‘मञ्जरा’ को कलेबर शीर्षकझैँ जीवनका विविध रङ बोकेको मुजुरा र त्यसमाथि भमराले परागसेचन गरिरहेको दृश्य अङ्कित छ। शीर्ष आवरण विम्बात्मक, प्रतीकात्मक र लयात्मक छ। बुकान्त पब्लिकेसन, सिलिगुडी, भारतले सन् २०२६ मा प्रकाशनमा ल्याएको छ। आफ्ना बाबा दुर्गाप्रसाद गजुरेललाई समर्पण गरिएको यो कृतिमा ओहायो, अमेरिका बस्ने डा. पुरानाघरेको ‘मञ्जराः चेतनाको नयाँ अध्याय’ भूमिका रहेको छ।
यो भूमिकामा उपन्यासको सार खिच्दै डा. पुरानाघरेले ‘मञ्जरा’ लाई ‘नेपाली समाजको चेतनालाई पुनर्निर्माण गर्ने एउटा गहिरो दार्शनिक यात्रा, परम्परागत सोचबाट बाहिर निकालेर विकास, गतिशीलता र तार्किक अभिमतको नयाँ भूगोलमा प्रवेश गराउने तथा नेपाली मष्तिष्कमा जमिबसेको समकालीन यथार्थलाई प्रस्फुटित गराउँदै पुनर्निर्माणको प्रक्रियामार्फत मौलिक आधुनिकीकरणको मार्ग देखाएको छ’ भनेका छन्। उपन्यासको पश्चभागमा उपन्यासकारको तस्बिर र परिचय रहेको छ।
उपन्यासका तत्त्व
उपन्यास भन्नु आख्यान हो। आख्यान भन्नु कल्पना, सिर्जना र कलाको गद्यात्मक त्रिवेणी हो। जीवनको साङ्गोपाङ्गो आख्यानात्मक तथा औपन्यासिक फेहिरिस्त उपन्यास हो। उपन्यासमा असीमित कालखण्ड, कथावस्तुको अस्मेल फैलावट, पात्रको उल्लेख्य उपस्थिति, अनियन्त्रित घटना तथा अविभाज्य र निजात्मक शिल्प हुन्छ। सर्जकका दिमागमा पत्रमा आउने द्वन्द्व नै उपन्यास विनिर्माणको मूल आधार हो। द्वन्द्वबिना उपन्यास विनिर्माण हुनै सक्दैन। सो प्रयुक्त द्वन्द्वलाई कथात्मकता दिने, कथात्मकताको परिवेश तथा तादात्म्य मिलाउने, पात्रचयन गर्ने, थिम पहिचान गर्ने र प्रस्तुत गर्ने तथा संरचनागत निजात्मक शैली उपन्यासका तत्त्व हुन्। यी तत्त्व कतै अन्तर्घुलित हुन्छन् भने कतै अलग्गै पनि देखिन्छन्। यो कुरा सर्जकको शिल्पमा निर्भर हुन्छ।
उपन्यास संरचनाका तह
यद्यपि उपन्यासकारको सिर्जनामा उसकै पुरापुर हक हुन्छ। यही हकभित्र पर्छ उपन्यासको संरचनाविधान पनि। यसो भए तापनि क्लासिकल धारबाट हेर्दा उपन्यासको संरचनागत तहमा प्रारम्भ , मूलकथा र समापन कथा देखिन्छ। त्यसैले समापन कथालाई शीर्षक तथा कथ्यसँग जोडेर हेर्दा त्यहाँ अनुहार देखिनुपर्छ। त्यसो भएकाले उपन्यासकार बालकृष्ण गजुरेलले ‘मञ्जरा’ मा यही विधिलाई प्रयोग गरेर ‘कथाबाहिरको कथा’, ‘कथा’ र ‘कथादेखि उता कथा’ का आधारमा उपन्यासको विनिर्माण गरेका छन्। यसबाहिर पनि उपन्यास निर्माणको शैलीविज्ञान तथा वैचारिक तथ्य अध्ययनका आधार हुन सक्छन्।
सीमा
यो आलेख तयार पारिरहँदा मसँग मूलतः दुई सीमा छन्। प्रथमतः उपन्यासकार बालकृष्ण गजुरेल मेरा मित्र हुन्। त्यसैले आलेखमा मित्रता बाधक भएर मानवीय कमजोरी देखियो भने त्यसलाई स्वाभाविक मान्नुपर्छ। दोस्रो कुरा यस्तो विशाल काया भएको उपन्यासको गूढअन्तर्य एउटा नियन्त्रित आलेखमा आकलन गर्नु असम्भव प्रायः हो। त्यसैले यो निबन्ध निजी नजरियाको नाद नभएर ‘अड्को पड्को तेलको धूप’ मात्र हो।
मञ्जरामा द्वन्द्व
आख्यान लेखनको सबैभन्दा महत्त्वपूर्ण र पहिलो कडी द्वन्द्व हो। स्रष्टाका दिलदिमागमा देखापर्ने विविध द्वन्द्वलाई समाधानमुखी समापन गर्नु प्रमुख कुरा हो। द्वन्द्व कति दर्बिलो उठाइएको छ, द्वन्द्वका लागि चाहिने कथानक, पात्र, परिवेश, थिम कतिसम्म समायोजन गरी विनिर्माण गरिएको छ भन्ने कुरा नै उपन्यास जोख्ने तुलो हो। उपन्यास ‘मञ्जरा’ भित्र अनेकन् द्वन्द्व छन्। ती द्वन्द्वलाई उपन्यासकारले आफ्नो चेतीय तथा शिल्पीय बलबुता लगाएर समाधान गर्ने प्रयत्न गरेका छन्।
सामाजिक द्वन्द्व
उपन्यास मूल रूपमा सामाजिक विषयवस्तुका कच्चा पदार्थबाट बनेको छ। त्यसैले उपन्यासमा सामाजिक द्वन्द्वको बाहुल्य हुनु स्वाभाविक हो। उपन्यासमा बाहुन र ब्राह्मणमा रहेको भिन्नता, जातको आधारमा गरिने रूपगत विभेदले द्वन्द्वको उठान गरिएको छ। ‘विश्वकर्माको छोरो जस्तो लाग्दैन। केटो त बाठो र’छ (पृ. १२)’ जस्ता सम्बादले यो कुराको पुष्टि गर्छ। प्रारम्भिक कथ्यमा रञ्जनका मुखबाट दार्शनिक तथा सामाजिक द्वन्द्व भनाएर नै कथारम्भको द्वन्द्व सुरु भएको छ। प्रायः सम्बादका माध्यमबाट द्वन्द्व विनिर्माण गरिएको छ। समाजमा विद्यमान द्वन्द्वलाई टिप्ने क्रममा सहरिया बुहारी राम्रा कि गाउँले (५७) भन्ने द्वन्द्व पनि जटिल तरिकाले प्रक्षेपण गरिएको छ।
आर्थिक द्वन्द्व
वास्तवमा नेपाल आर्थिक कारणले झन् धेरै द्वन्द्वमा पुगेको छ। नयाँ नेपाल आर्थिक क्रान्ति विकास औद्योगिक क्रान्ति र साम्यवाद नारा मात्र थिए र?(२०)’ ‘आधाआधी माक्र्सवाद पढेर देशवादीलाई पंगु बनाइयो’ भन्ने उनको द्वन्द्वले साम्यवादप्रति सर्जकको दृष्टिकोणको बोध हुन्छ। सिमान्तकृतका पीडालाई द्वन्द्व बनाइएको छ।
परिवेशीय द्वन्द्व
मलाई पनि लाग्छ कि मानिसको जीवनको गोहोको निर्माण परिवेशले गर्छ। परिवेशभित्र निर्माण हुने ‘इक्विलिब्रियम’ ले गर्छ। मानिस परिवेशले खेलाएका पात्र मात्र हुन्। यो उपन्यासभित्र बग्रेल्ती परिवेशीय द्वन्द्व छन्। उपन्यासकारकै शब्द ‘छात्रवृत्ति मिले डाकटर पढौँ भनेको, घरको हालत देखेँ, के गरौँ, कसो गरौँ भयो (४३), व्यवहार धान्ने लाठे छोरो सहरमा, हामी बुढाबुढीले के गर्ने? (४३), खासमा धनीमानीहरूका यस्तै हुन्छन्। प्रेमको उदाहरण पोख्ने नायिका र गायिनहरू समेत धनाढ्य च्यापेर भाग्न थाले (५७)’ लाई सापटी लिने हो भने परिवेशीय यथार्थ र द्वन्द्व प्रष्ट हुन्छ।
मनोवैज्ञानिक द्वन्द्व
उपन्यासभित्र विविध तह र तप्काका पात्रहरूमा परिवेशले निर्माण गरिदिएको मनस्थितिमा मनोवैज्ञानिक द्वन्द्व गरे, गराएर उपन्यास निर्माण भएको छ। उपन्यासकारकै शब्द ‘हातखुट्टा नभएको केटो सम्झिएँ। एसिड आक्रमणमा अनुहार डढेकी युवती सम्झेँ। दुवै आँखा नदेख्ने त्यो अनौठो युवा सम्झेँ। आमा सम्झेँ। बा सम्झेँ। विगत सम्झेँ। वर्तमान सम्झेँ (६४)’ लाई हेर्दा मनोविज्ञान तीव्र भएको प्रतीत हुन्छ। केटीले धोखा दिएपछिको मनोविज्ञान, प्रेमिकाको विछोडमा तडपिएको मनोविज्ञान प्रवल रूपमा आएका छन्। उपन्यासभित्र बग्रेल्ती बयानमा प्रेमले उब्जाएको मनोवैज्ञानिक विषयमा द्वन्द्व छन्। लिभिङ टुगेदर जायज नाजायज?, यौन सम्पर्क कति जायज कति नाजायज? प्रेम र कामवासनाका सम्बन्धलाई मनोवैज्ञानिक तरिकाले अभिव्यक्त गरेका छन्।
राजनीतिक द्वन्द्व
उपन्यासभित्र कताकति राजनीतिक द्वन्द्व पनि छन्। ‘नेपालमा आइएनजीओले उनीहरूको देशको प्रतिनिधित्व गर्छन्। दिल्लीमा राजदूतावास छन् (८७)’ भन्ने उपन्यासका वाक्यले यही चित्र कोर्छन्। नेपालको शासन व्यवस्था वा प्रणालीलाई क्रान्ति हो कि विदेशी व्यवस्थापन? (१८) भनेर द्वन्द्व देखाइएको छ।
अन्य द्वन्द्व
उपन्यासकारले ‘मञ्जरा’ निर्माण गर्दा द्वन्द्वका रास लगाएका छन्। परम्परागत विचारमा रहेको धार्मिक चिन्तन अर्थात अध्यात्मवाद तथा विज्ञानले सिर्जना गरेको भौतिकवादका बिचमा द्वन्द्व गराएका छन। यावत् वस्तुमा भगवान छन्। चेतनमन र अर्धचेतन मनका बिचमा द्वन्द्व छ। आधुनिकताको परिभाषा गर्दछन्। छोरो विदेसिनु खुसी कि पीडा? तथा अमेरिकामा बस्ने/नबस्ने भन्ने विषयमा द्वन्द्व छ। यसको समाधान नेपाल फर्काएर राष्ट्रियताको भावनका साथ गरेका छन्। उपन्यासकारको सुन्दर कथन छ - जुन देशका विश्वविद्यालयले विज्ञ, विद्वान, वैज्ञानिक, र दार्शनिक उत्पादन गर्दैनन्, त्यो देश सधैँ गरिब हुन्छ (३७)। यसले द्वन्द्वलाई जब्बर बनाएको छ।
द्वन्द्वको समाधान
आख्यान लेखनको मूल कुरा भनेकै सर्जकका मनमा आएको द्वन्द्वलाई आफ्नो सर्दोपर्ने गरी समाधान गर्नु हो। त्यसैले उपन्यासको समापन सन्दर्भमा आइपुग्दा सर्जकको थिम पनि पूर्ण हुने हो। यही पूर्णता नै उपन्यासको पनि पूर्णता हो। ‘मञ्जरा’ उपन्यासभित्र द्वन्द्व समाधान गर्ने वैचारिक आधार आदर्शवादी, परम्परावादी, अन्धविश्वासी, यथास्थितिवादी रहेको छ।
अर्को तरिकाले भन्ने हो भने उपन्यासकार बालकृष्ण गजुरेलको मूल औपन्यासिक प्रवृत्ति समन्वयवाद रहेको प्रस्ट हुन्छ। प्रेममा आउने समस्याको समाधान बिहेलाई देखाइएको छ। यो परम्परागत विचार हो भन्न सकिन्छ। उपन्यासकारले जीवनमा आइपरेको प्रेम तथा यौनको विषयलाई क्षतिपूर्तिको सिद्धान्त (पहिले आफूले भोग्न नपाएको कुण्ठा) का आधारमा समाधान गर्ने प्रयत्न गरेका छन्। उनकै ‘मन पराउने धेरै थिए। जहिल्यै व्यस्त भएपछि समय दिन सकिनँ। प्रेमी त छाडौँ, असल साथी पनि बन्न सकिनँ। आजसम्म ठूलो पछुतो छ (७६)’ भन्ने वाक्यलाई हृदयाङ्गम गर्ने हो भने पनि यो कुरा प्रस्ट हुन्छ।
विशेषता
थाइल्यान्डको जीवन र थाइल्यान्डमै भेटिएका जोडीको कथाले उपन्यास विनिर्माण भएको छ। अन्नतः थाइल्यान्डमा पुगेर विश्वास र साधनाको प्रैमकथा नै उपन्यासकको मुख्य भाग वा विषयवस्तु हो। छोटाछोटा वाक्य र सरलता, भाषामा सुललितता, कार्यपीठिकाको व्यापकता, उपन्यासका विशेषता हुन्। उपन्यासमा धेरै ठाउँमा विम्बको प्रयोग गरिएको छ।
कफीको विम्बमा प्रेमलाई देखाइएको छ। प्रेम र कफी दुवै नभइ पनि नहुने साइड इफेक्ट बढी हुने। उखानको प्रयोग गर्छन्। अनुप्रास मिलाउने जमर्को पनि देखिन्छ - झोर त पुग्यौँ तर भयो बोर। जीवनबोधी, जीवन र ऐनाको सादृश्य तुलना, प्रणय, चुम्मा, अङ्कमाल, प्रेमिल सम्वाद तथा परिवेश बग्रेल्ती छन्।
कमीकमजोरी
कमीकमजोरी सनातनीय कुरा हो। प्रशिद्ध दार्शनिक हेगलको द्वन्द्ववादी सिद्धान्त ले भनेझैँ वाद (तजभकष्क), प्रतिवाद तथा सम्वादले यस कुरालाई दार्शनिक पारामा व्याख्या गरेको छ। अर्थात् कुनै पनि कुरा सदाका लागि सत्य वा स्थीर रहन सक्तैन। समयले सो चिन्तनमा व्यापक फेरबदल गरिसक्छ। त्यसैले यो ‘मञ्जरा’ उपन्यासभित्र उल्लेख भएका विषयलाई पनि परिवर्तनशील धारमा हेर्नुपर्ने हुन्छ। सुधार गरिनुपर्ने अनेकन् विषय वा शैली रहेका छन्। रहन्छन् नै।
यस आधारमा हेर्दा ससाना टुक्रेकथाहरूले बनेको छ उपन्यास। टुक्रेकथाले उपन्यास विनिर्माण गर्नु उत्तर आधुनिक शैली त हो र तर उनको कथावस्तुले महान आख्यानलाई चुनौती नदिएर समर्थन गरेको छ।
त्यसैले यो उपन्यास उत्तर आधुनिक शैलीमा लेखिएको होइन। परम्परावादमा पग्लेको छ। रञ्जन बिकको कथा लेख्न तयार भएको लेखकले किन उसको कथा नलेखेर विश्वास र साधनाको प्रेम-विछोड-मिलनको कथा लेखेको हो भन्ने कुरा उपन्यासमा पुष्टि भएको छैन। यसले कथ्य तादात्म्यलाई ह्रासोन्मुख बनाएको छ। उठाएका द्वन्द्वहरू सही तरिकाले नभई अधकल्चो मै समाधान गरिएको छ। यसकारण कतिपय द्वन्द्व असरल्ल तथा छ्यान्नब्यान्न पनि देखिन्छन्।
उपन्यास पढिरहँदा प्रमुख पात्र विश्वास धनी थियो कि गरिब भनेर पाठकले खुट्याउन गाह्रो पर्छ। उपन्यासमा सस्तो प्रेम तथा परिवेश पनि उल्लेख गरिएको छ। बजारु उपन्यासमा जस्तो कथावस्तु र परिवेश तन्काइएको छ। तथ्यगत रूपमा पनि नव-भौतिक शास्त्रको क्वान्टम थियोरीलाई अल्बर्ट आइन्सटाइन सिर्जित हो भनी लेखिएको छ। यसले तथ्यको पनि पुष्टि गर्दैन।
उपन्यासकारको द्वन्द्व समाधान गर्ने वैचारिक आधार परम्परा, आदर्श तथा धर्म देखिन्छ। भगवानले समस्याको समाधान गरिदिन्छन् भन्ने विश्वास स्थापना गर्न खोजेको देखिन्छ। त्यसैले यो उपन्यास आदर्शवादी उपन्यास हो। तर यथार्थ कुरा के हो भने आदर्शवादले जीवन चल्दैन। यस्तो आदर्शवादी कुरा सुन्न मात्र मजा आउने हो। आदर्शवादमा उपन्यास लेखिनुचाहिँ सर्जकका लागि चुनौतीरहित हुन जान्छ।
कथावस्तुमा सम्वादले पस्केको विचार एकातिर छ कथावस्तुको थिम अर्कातिर छ। वैचारिक रूपले पनि अलमलिएको छ उपन्यास। के प्रेमको गन्तव्य बिहा हो? भनेर आधुनिक समाजले उपन्यासकारसँग प्रश्न गर्न सक्छ। प्रेम र प्रेमिल प्रसङ्ग पटकपटक दाहोरिएर, तेहरिएर अर्थात् गुजुल्टिएर धेरै पल्ट एउटै वृत्त र एउटै स्वादमा घुमेका छन्। मूल पात्र विश्वास ढोँगी देखिन्छ। ऊ अल्मलिएको र भ्रमित छ। पहिरन मानिसको स्वतन्त्रता हो भन्न सक्दैन उपन्यास। नचाहिने तथा अनावश्यक कथाहरूको जोडजाड र एउटै बोरामा खाँदखुँद पारेको अनुभूति हुन्छ।उपसंहार
अब पुछारमा आइपुगेको छु। यो प्रयोगवादी उपन्यास होइन। क्लासिकल धारालाई समातेर उपन्यासको विनिर्माण गरिएको छ। संरचनात्मक दृष्टिले क्लासिकल धारामा लेखिएको र आदर्शवादलाई मूल मियो बनाइएकाले अग्रगम्यता, छलाङ परिवर्तन वा उत्तर आधुनिक चेत उपन्यासमा नपाइनु स्वाभाविक हो। तर पनि पाठकलाई उपन्यासका कथाले तानिरहन्छ। किनभने यो उपन्यासमा प्रेमविवाह, यौन-शृङ्गार जस्ता विषयको ढेरी लागेको छ। प्रेमप्रसङ्ग पनि प्रशस्त पन्पेका छन्। साधना, प्रतीज्ञा, सपना, विज्ञान, अध्यात्म, भौतिकवाद आदि विषयवस्तु समेट्न गरिएको प्रयत्न नै उपन्यासको कथ्यविधान तथा द्वन्द्वविधानको चुरो भएको छ।
उपन्यासकार विज्ञानका विम्बले वर्तमानको जीवनदर्शन उजागर पार्न सफल भएका छन्। सधैँ साथ दिने मात्र साथी हो भनिएको छ। उपन्यासकारले महिलाको रहस्यात्मकता, राजनीतिक व्यङग्य, भक्तियोग आदि विषय पनि उठाएका कारणले थोरबहुत रूपमा सबै वैचारिक तहका पाठकका लागि पठनीय रहेको छ। अन्त्यमा उपन्यासकार तथा उपन्यासको सतत प्रगतिको कामना गर्छु।
प्रकाशित: ६ भाद्र २०८३ ०९:३७ शनिबार