चर्चित भारतीय टेलिभिजन प्रस्तोता तथा बलिउड अभिनेता मनीष पलकी आमा उर्मिल पलको निधन भएको छ।
७६ वर्षको उमेरमा बुधबार नयाँ दिल्लीमा उनको निधन भएको हो। मनीषको टोलीले आधिकारिक विज्ञप्ति जारी गर्दै दुखद खबरको पुष्टि गरेको छ। यद्यपि, परिवारले मृत्युको कारण अझै खुलासा गरेको छैन। मनीष आफ्नी आमासँग धेरै नजिक थिए। उनी प्रायः आमासँगका तस्बिर सामाजिक सञ्जालमा सेयर गर्थे। मनीषको टोलीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘धेरै दुःखका साथ हामी तपाईंलाई जानकारी गराउँछौं कि मनीष पलकी आमाको बुधबार दिल्लीमा निधन भएको छ। हामी सबैलाई उनको आत्माको शान्तिको लागि प्रार्थना गर्न अनुरोध गर्दछौं।’ समाचार सार्वजनिक भएपछि फिल्म र टिभी उद्योगका सदस्यहरूले मनीष र उनको परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
सन् २०२२ मा आफ्नी आमाको जन्मदिनमा, मनीषले एक भावनात्मक पोस्ट लेखेका थिए, ‘मलाई 'बिन्दास' बन्न सिकाएकोमा धन्यवाद।’ उर्मिल पलका श्रीमान् जगमोहन पल, छोरी ज्योति पल मोहन र दुई छोरा, मनीष पल र विवेक पल छन्। मनीष पलले आफ्नो करियर रेडियो जकी (आरजे) र भिडियो जकी (भीजे) को रूपमा सुरु गरेका थिए। त्यसपछि उनले अभिनय, होस्टिङ र स्ट्यान्ड-अप कमेडीमा हात हाले। उनी धेरै लोकप्रिय टेलिभिजन कार्यक्रमहरूमा पनि देखा परेका छन्। साना भूमिकाबाट उनले आफ्नो फिल्मी करियर सुरु गरेका थिए। तर सन् २०१३ को फिल्म 'मिकी भाइरस' बाट मुख्य अभिनेताको रूपमा बलिउडमा डेब्यू गरेका थिए। यस फिल्ममा उनलाई कम्प्युटर ह्याकर मिकीको भूमिकामा देखिएको थियो। उनी हालै वरुण धवनसँग फिल्म 'है जवानी तो इश्क होना है' मा पनि देखिएका थिए।
प्रकाशित: २५ असार २०८३ ०७:४८ बिहीबार