कला/साहित्य

‘कमेडी दरबार’ टिमको फिल्म ‘ककाकिकी’ निर्माण घोषणा, दशैंको भोलिपल्ट छायांकन

चर्चित टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ टिमले अब फिल्म निर्माणमा हात हाल्ने भएको छ। निर्माण टिमले फिल्म ‘ककाकिकी’ को थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणबारे घोषणा गरेको हो।

पोस्टर अनुसार फिल्ममा नेपाली सिने जगतका चर्चित कलाकारहरू गौरी मल्ल, तृप्ति नदकर, रेखा थापा र महेश त्रिपाठीको मुख्य भूमिका रहनेछ। त्यस्तै टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारी लगायत कलाकारहरूको पनि विशेष भूमिका रहनेछ।

घोषणा गरिएको पोस्टरमा देखाइएका कलाकारको भाव, फिल्मको टाइटल र मेकिङ टिमको जनाए अनुसार यो फिल्म पूर्ण कमेडी शैलीमा निर्माण हुँदै छ।

फिल्मको निर्देशन विक्की अग्रवाल र श्रद्धा प्रसाईले संयुक्त रूपमा गर्नेछन्। निर्माता श्रद्धा प्रसाई र सुमित्रा थापाको प्रस्तुतिमा तयार हुन लागेको यस फिल्मको पटकथा विक्की अग्रवालले लेखेका हुन् भने कथामा विक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीको समेत लेखन रहनेछ। छायांकन निर्देशक (डीओपी) सुदिप बराल रहनेछन्। फिल्मको थिमपोस्टर रोयल भिमसेनले तयार गरेका हुन्।

फिल्मको वितरण श्री वेंकेटेशले, अन्तर्राष्ट्रिय वितरण सेवन सिजले र डिजिटल अधिकार ओएसआर डिजिटलले लिने भएका छन्। अहिले टेलिभिजनमा निकै लोकप्रिय ‘कमेडी दरबार’ सञ्चालन गरिरहेको निर्देशक अग्रवालको टिमको यो पहिलो फिल्मी प्रोजेक्ट हो।

निर्देशक अग्रवालकाे अनुसार चलचित्रको छायांकन आउँदाे दशैं टिकाको भोलिपल्टदेखि प्रारम्भ हुनेछ। अहिले फिल्मको बजेट र प्रदर्शन मिति खुलाइएको छैन। फिल्म घोषणापछि निर्देशक बिक्की अग्रवालले भने, ‘आफ्नो फिल्मी करिअरको सुरुआत नै अग्रजहरूसँग सहकार्य गर्ने उत्कृष्ट अवसर पाएको छु। ‘ककाकिकी’ को यस यात्रामा धेरै दर्शकको फेरि पनि साथ पाइने हामीलाई विश्वास छ। हाम्रो टिम ‘कमेडी दरबार’ को एउटै उद्देश्य अब टेलिभिजनसँगै हलहरूमा पनि तपाईंहरूको हाँसो ल्याउनु हो।’

प्रकाशित: १४ श्रावण २०८२ १०:३५ बुधबार

Nagariknews Kala- Yatra