हालै प्रदर्शनमा आएको भारतीय कमेडी शो ‘इंडियाज गट लेटेंट सीजन २’ दास्रो एपिसोड मै विवादमा परेको छ।
शोको दोस्रो एपिसोडको एउटा क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ। जस कारण कमेडियन समय रैना विवादमा तानिएका हुन्। उक्त क्लिपमा एक युवती आफ्ना बुवालाई सामान्य हृदयघात आएपछि शो छोडेर रुँदै बाहिर निस्किन्छिन्। त्यसपछि समय रैनाले उनीसँग आएका युवकलाई, ‘तिमी पनि सँगै जाऊ, काँध देऊ। काँध दियौ भने मात्र उसले ‘हेड’ (अश्लील अर्थ लाग्ने शब्द) दिनेछे’, संकेत गर्ने टिप्पणी गरेका थिए। यो टिप्पणीलाई धेरैले असंवेदनशील र महिलाप्रति अपमानजनक भन्दै आलोचना गरेका छन्।
उक्त क्लिप भाइरल भएपछि शिव सेना नेत्री प्रियंका चतुर्वेदीले पनि समय रैनाको कडा आलोचना गर्दै यस्तो प्रकारको सामग्रीलाई 'हास्य' को नाममा प्रस्तुत गर्नु गलत भएको र यसबाट कुनै पाठ नसिकिएको उल्लेग गरेकी छन्।
यसअघि कमेडियन प्रणीत मोरे पनि यस्तै प्रकृतिको टिप्पणीका कारण विवादमा परेका थिए। उनीविरुद्ध साइबर सेलमा उजुरी परेको थियो र पछि उनले सार्वजनिक रूपमा माफी मागेका थिए।
‘इंडियाज गट लेटेंट’ को पहिलो सिजनमा पनि रणवीर इलाबादियाले अभिभावकसम्बन्धी विवादास्पद टिप्पणी गरेपछि ठूलो विवादमा परेको थियो। त्यसपछि शोका एपिसोडहरू हटाइएका थिए र शो केही समयका लागि बन्द गरिएको थियो।
प्रकाशित: १५ असार २०८३ १२:२३ सोमबार