हजुर्वाले धर्म, लोकधर्म, परम्परा, सभ्यताको महत्त्वबारे बयान गर्नुभयो। वेद, उपनिषद, ब्रह्मसूत्र, गीताका श्लोकहरू वाचन गर्दै व्याख्या गर्नुभयो। नाति लगायत १५/ १६ वर्षका देखिने केही भुराभुरीले एकाग्र भएर सुनिरहे।
हजुर्वाले थप भन्नुभयो, “शास्त्रअनुसार महिला देवी हुन्। पुजनीय हुन्। त्यसैले देवीदुर्गाको अवतारका रूपमा महिलाको पूजा हुन्छ। महिलाको सम्मान आदर गर्ने देश सभ्य हुन्छ। त्यसैले हाम्रो देश सभ्य छ। हाम्रा परम्परा, लोकधर्म तथा सभ्यता अनुकरणीय छन्।”
“अनुकरणचाहिँ कसले गर्छ हजुर्वा?” नातिले जिज्ञासा राख्यो।
“सारा संसारले गरेको छ नि! कसले गर्छ भन्नु अब?” हजुर्वाले अलि झाेक्किएको शैलीमा भन्नुभयो।
हजुर्वाका हातमा आजैको पत्रिका थियो। त्यो पत्रिकाको हेडलाइन थियो ‘देशमा महिला भ्रूणको हत्या ७० प्रतिशत’। पत्रिका देखाउँदै नातिले फेरि प्रश्न गर्यो, “हजुर्वा, पत्रिका हेर्नु त महिला भ्रूणको हत्या?”
हजुर्वा ततर्किन थाल्नुभयो, “यी पत्रिकाले त जे पनि लेख्छन्।”
नातिले फेरि भन्यो, “त्यो पत्रिकाले भनेको होइन, केन्द्रीय सरकारको तथ्याङ्क प्रकाशन गरेको मात्र हो हजुर्वा?”
हजुर्वा चुप लागे।
फेरि नातिले नै सोध्यो “एक कुरा सोधौं हजुर्वा?”
हजुर्वाले भने,“लु सोध्, के सोध्छस्?”
नातिले शालिनतापूर्वक नै सोध्यो, “भन्नुस् त हजुर्वा, नारी भ्रूण छानीछानी मार्ने लोकधर्म कसरी पुज्य हुन्छ? त्यस्तो लोकधर्म मानिआएको देश कसरी सभ्य हुन सक्छ?”
प्रकाशित: ६ असार २०८३ ०८:२२ शनिबार