अर्थसचिव हुँदै अर्थमन्त्रीसमेत बन्नुभएको अवस्थामा आर्थिक लाभ त पक्कै लिनुभएको थियो होला नि डा. साब ? यो प्रश्नको सरल जवाफ दिँदै डा. देवेन्द्रराज पाण्डेले हाँस्दै दिनुभयो, ‘भ्रष्टाचार गर्न र केही आर्थिक लाभ लिनका लागि अर्थ मन्त्रालय नै चाहिँदैन, आर्थिक लाभ गर्ने चेष्टा भएकाहरूका लागि नेपाल सरकारका हरेक निकाय प्रशस्त छन्।’
२०६२ सालको मंसिरको अन्त्यतिर सिन्धुली जिल्लाको खम्बेचौरमा आयोजित ‘नागरिक सचेतना र शान्ति’ नामक कार्यक्रममा जिल्लाका नागरिक अगुवाहरूको निम्तोमा गाडीमा हामी राजधानीबाट सिमभन्ज्याङको सडक भएर उकालो चढ्दै थियौं । गाडीको अगाडिको भागमा देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी र पछाडिको भागमा कवि अर्जुन पराजुली, विमल अर्याल र म बसेका थियौं । काठमाडौंदेखि सिन्धुलीको खम्बेचौरसम्मको सबै खर्च मोहन बराललगायतका नागरिक टोलीले गरेका थिए।
उज्यालो अनुहार, पावरवाला चस्मा लगाएका, मिजासिला र ठट्यौली स्वभावका पाण्डेसँग त्यसबेलाको हामीबाट सुरु गरिएको प्रतिगमनविरुद्धको नागरिक आन्दोलन सफल हुन्छ कि बिचैमा तुहिन्छ भन्ने विषयका तमाम जिज्ञासा हामीले यात्रा अवधिभर राख्यौं। जिज्ञासाको जवाफमा कृष्ण पहाडीले भन्नुहुन्थ्यो, ‘डा. साहेबले साथ दिएसम्म हाम्रो अभियान सफल हुन्छ, यसमा तपाईंहरू ढुक्क हुनुहोस् तर जिन्दगीमा जोखिम भने धेरै बोक्नुपर्ने देखिन्छ।’
सिन्धुली पुग्न नसकेर राति महोत्तरीको बर्दिबासमा बास बस्यौं। भोलिपल्ट हामीलाई सिन्धुलीका नागरिक अभियानका साथीहरूले बर्दिबासबाट लिएर जानुभयो । बिचमा नेपाली सेनाले सोधपुछ गरिरह्यो। जसको सरल जवाफ पाण्डेले मिजासिलो तवरले दिइरहनुभएको थियो। कार्यक्रमस्थलमा हजारौं मानिसको उपस्थिति थियो । ऐतिहासिक जिल्ला सिन्धुलीको गढीमा कार्यक्रम तय गरिएको भए मानिसहरूको उपस्थिति अझ बढी हुन्थ्यो होला भन्ने स्थानीयहरू बताइरहेका थिए ।
चारैतिर सुरक्षाकर्मीको बाक्लो उपस्थिति र जम्मा भएका मानिसको अनुहारमा एक किसिमको त्रास देखिन्थ्यो । कार्यक्रम गहिरो ठाउँमा आयोजना गरिएको थियो तर खुला चौरमा थियो । चौरमा जुनार बिक्री गर्नेहरू पनि धेरै देखिन्थे। दयालु मनका व्यापारीहरूले सित्तैमा खान पनि दिए। यो जिल्ला जुनारका लागि प्रख्यात छ । मिठो र रसिलो जुनारको स्वाद चाखेपछि देवेन्द्रराज पाण्डेले भन्नुभयो, ‘लोकतन्त्रको बहालीपछि नागरिकले पाउने स्वतन्त्रता पनि यत्तिकै स्वादिलो हुन्छ ।’
कार्यक्रममा अर्जुन पराजुलीले व्यंग्ययवाणका कविता सुनाउँदा तालीको पर्रा छुट्यो। त्यसपछि पंक्तिकारको पालो आयो । कार्यक्रममा पुगेपछि स्थानीय कलाकार वाद्यवादकसँग मिलेर मादल, खैंजडी र हार्मोनियममा देउडा गीतको माधुर्यलाई मिलाइसकेको थिएँ । साथै कलाकार कृष्णविक्रम थापाबाट जिल्लाको ऐतिहासिकताबारे टिपोट पनि गरेको थिएँ । त्यो टिपोट पाण्डे र पहाडीलाई देखाएर अनुमोदन गराएको थिएँ । हामीले बोल्ने भाषा, गाउने गीत र वाचन गर्ने कविता शालीन तर व्यंग्यपूर्ण हुनुपर्छ भन्ने अगुवाद्वयको सल्लाह हुन्थ्यो।
सिन्धुलीवासीका लागि देउडा गीत नितान्त नौलो थियो । गीतले श्रोता–दर्शकमाझ उफार्ने रोमाञ्चक वातावरण सिर्जना गरिरहेको थियो, ‘झ्याम्म... झ्याम्म... ।’
जब गीतको मर्मअनुसार प्रस्तुत गर्दै गएँ, खम्बेचौरमा जम्मा भएका सबैजनाले ‘झ्याम्म... झ्याम्म...’ मा पूरा साथ दिए। रनवन, पसलका व्यापारी र सुरक्षाकर्मीसमेत धेरै नै रोमाञ्चित भए । कृष्ण पहाडी मुसुमुसु मुस्कुराइरहनुभएको थियो भने देवेन्द्रराज पाण्डे खुसीले गदगद हुँदै उठेर ताली र गीतको लय मिलाइरहनुभएको थियो ।
कृष्ण पहाडीको दमदार मन्तव्य र देवेन्द्रराज पाण्डेले त्यसबेलाको देशको राजनीतिलाई अक्षर अक्षरमा बुझाउँदै भोलिको राजनीति कस्तो हुने भन्नेबारे छर्लंग पार्नुभएको थियो । अर्थविद् देवेन्द्रराज पाण्डेको देशको आर्थिक अवस्थाबारेको जानकारीमूलक विश्लेषण सुनेर होला, हजारौं मानिसहरू हेरेको हेरै भए तर त्यसबेलाका अर्का आन्दोलनकारी व्यक्तित्व श्याम श्रेष्ठको उपस्थिति भने खड्केको थियो। कार्यक्रम समापन गरेर फर्कंदा स्थानीयले हामीलाई एक बोरा जुनार सित्तैमा दिए । फर्कंदा डोटी घर भएका एकजना भाइ सेनामा त्यहाँ सेवारत रहेछन्। उनले सुटुक्क पंक्तिकारसँग संक्षिप्त रूपमा भलाकुसारी गरे । अलि पर पुगेपछि सेनाले हामीसँग स्पष्टीकरण माग्यो । हामी कोही बोलेनौं, पाण्डेबाहेक। कुनै पनि व्यक्तिसँग संवाद गर्दा पाण्डेको शैली गज्जबको हुन्थ्यो । उहाँको बेलाअनुसारको बोलीमा मन पग्लिने मिठास हुन्थ्यो । त्यहाँबाट हेटौंडासम्म तत्कालीन प्रशासनले हाम्राबारे निगरानी बढाइरहेको देखिन्थ्यो। ‘तपाईंहरू ढुक्क भएर बस्नुहोस्’ भनी हामीलाई ढाडस दिनुहुन्थ्यो।
२०६२/६३ को जनआन्दोलन सफल पार्ने नागरिक आन्दोलनका अगुवा नै थिए । जसका मुख्य पात्र तथा योजनाकार थिए देवेन्द्रराज पाण्डे । सहायक पात्रमा कृष्ण पहाडी थिए । हामीहरू उहाँहरूको पदचाप पछ्याइरहेका इमानदार आन्दोलनकारी पात्र मात्र थियौं तर आन्दोलन सफल नहुँदासम्म जोखिम भने बोकिरह्यौं । रातभर निद्रा लाग्दैनथ्यो, आफ्नो जिन्दगी राज्यपक्षबाट असुरक्षित देखेर ।
हामीमा आत्मविश्वास भने दिन प्रतिदिन बढिरहेको थियो । हजारौं मानिसको उपस्थितिमा हामीले आफ्ना प्रस्तुति देखाउँथ्यौं । मानिसहरूले हामीलाई अपार माया दिन्थे । तत्कालीन अवस्थामा नेपाली कांग्रेसका पार्टी सभापति गिरिजाप्रसाद कोइराला, एमाले महासचिव माधवकुमार नेपाल, नेपाली कांग्रेस (प्रजातान्त्रिक) का सभापति शेरबहादुर देउवालगायतका नेताप्रति जनताको भरोसा थिएन ।
सबै पार्टीका नेता–कार्यकर्ता, बुद्धिजीवी, पत्रकार र कलाकारहरू नागरिक आन्दोलनद्वारा तय गरिएको कार्यक्रममा एक घण्टाअगाडिदेखि जम्मा हुन्थे। बस्नलाई ठाउँको अभाव हुन्थ्यो। सत्तरी वर्ष पुग्नै लाग्नुभएका विद्वान् र वृद्ध व्यक्तित्व देवेन्द्रराज पाण्डे सबैसँग हात मिलाउन र कुरा गर्न पनि भ्याउनुहुन्थ्यो । हजारौं प्रशंसकहरूले उहाँको ओजपूर्ण र वस्तुपरक मन्तव्यको प्रशंसा गर्थे।
उहाँसँग कार्यक्रम गर्दाका धेरै अनुभव छन्। थोरै खाने, सँगैका साथीलाई गोजीबाट दाम झिकेर पनि खुवाउने, सबैसँग समभाव राख्ने स्वभावका उहाँ त्यसबेला एक किसिमले अजातशत्रुझैं हुनुहुन्थ्यो । चितवन, मकवानपुर, पोखरा, लमजुङ, बागलुङ, गोरखा, तनहुँ, म्याग्दी, स्याङ्जा, बुटवल आदि जिल्ला तथा सदरमुकाम पुगेर प्रतिगमनकारी कदमविरुद्ध उहाँको नेतृत्वमा कृष्ण पहाडी, पुरुषोत्तम दाहाल, श्याम श्रेष्ठ, प्रा. कृष्ण खनाल आदिजस्ता व्यक्तिसँग मिलेर आमनागरिकलाई लोकतन्त्रका पक्षमा उभिन आग्रह गरेका थियौं।
२०६१ माघ १९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार पदच्युत गरेपछि तत्कालीन राजा ज्ञानेन्द्रले सम्पूर्ण सत्ता आफ्नो हातमा लिए। डा. तुलसी गिरी र कीर्तिनिधि विष्टलाई कार्यकारी उपाध्यक्ष तथा आफू स्वयं अध्यक्ष बनेर शासनसत्ता चलाएपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे राजधानीमा धेरै पटक छलफल गरेका थियौं । आन्दोलनका सभाहरूमा प्रमुख वक्ताका रूपमा देवेन्द्रराज पाण्डेले ‘अब राजाका शासन गर्ने दिन गए, सम्झनुहोस्, देशमा लोकतन्त्रको बहाली हुन्छ तर ढिलो हुन्छ ।
हामीले संघर्षका खुट्टा कमाउनु हुँदैन’ भन्नुभएको कुरा हिजोजस्तै लाग्छ । उहाँले भनेजस्तै भयो आन्दोलन पनि । आन्दोलन सफल भयो । तत्कालीन विद्रोही माओवादीसँग वार्ता गरी शान्तिपूर्ण तरिकाले सरकारमा समावेश गराउने सूत्रधारको गृहकार्य उहाँ र पद्मरत्न तुलाधरले गर्नुभएको थियो।
पछिल्लो अवस्थामा अर्का नागरिक अगुवा पूर्वसभामुख दमननाथ ढुंगाना र सुन्दरमणि दीक्षित पनि थिए । अवस्था अत्यन्त भयावह थियो । जंगल, गाउँघरमा माओवादी विद्रोहको त्रास थियो, सहरमा प्रतिगमनकारी राजाको हुकुमी शासन थियो, जनता चेपुवामा थिए। निकास आवश्यक थियो। सामाजिक सोच र राजनीतिक चेतना भएका पाण्डेले राष्ट्रलाई निकास दिनका लागि शान्तिपूर्ण तर विरोधका कार्यक्रमका खाका तयार पार्नुभएको थियो । जुन योजनामा लेखक खगेन्द्र संग्रौला, श्याम श्रेष्ठ र प्रा. कपिल श्रेष्ठले सुरुमै समर्थन जनाउनुभएको थियो । पछि शम्भु थापा र मथुरा श्रेष्ठले पनि स्वीकार गर्नुभएको थियो ।
२०६३ वैशाख ११ गते राति आन्दोलन सफल भयो । प्रतिनिधिसभा पुनःस्थापना भयो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नयाँ सरकार गठन भयो। देशमा नयाँ सरकार गठन भएपछि निरन्तरको वार्तापश्चात् २०६३ मंसिर ५ गते सरकार र विद्रोही पक्षबिच बृहत् शान्ति सम्झौता भयो । संसद्मा तत्कालीन नेकपा (एमाले) का सांसद बराबर ८३ जना सांसद संख्या रहने गरी तत्कालीन विद्रोही माओवादीका तर्फबाट संसद् भवनमा प्रवेश गर्ने सहमति बनेसँगै सरकारमा समेत सहभागी बन्ने मौका पाए । बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएपछिको राजनीतिक तरंग शान्तिपूर्ण नै देखापर्यो।
२०६४ सालमा २००७ सालदेखिको राजनीतिक अजेन्डा संविधानसभाको प्रथम निर्वाचन सम्पन्न भयो । माओवादी विद्रोहको नेतृत्व गरेका प्रचण्ड र बाबुराम भट्टराई तथा एमालेका माधवकुमार नेपाल र झलनाथ खनालसहित चार जना वामपन्थी नेताहरूको नेतृत्वमा सरकार बने । तर संविधान लेख्ने काम सम्पन्न भएन । यसबारे पाण्डेले पहिला नै माओवादीको एकल बहुमतमा संविधान निर्माण हुनु असम्भव छ भनेका थिए। आखिरमा त्यही भयो। सामाजिक प्रतिष्ठाका नमुना व्यक्तित्व भए तापनि पाण्डे वास्तवमा अर्थशास्त्रका विज्ञ मात्र नभई राजनीतिक विश्लेषक पनि थिए।
गत साउन १ गते ८७ वर्षको उमेरमा क्यान्सर रोगका कारण देवेन्द्रराज पाण्डेको आफ्नै निवास विशालनगरमा निधन भयो । उहाँले चुपचाप मृत्यु स्विकार्नुभयो । त्यसअघि नेपाली जनतालाई राजनीतिक चेतना दिलाउनुभयो। उहाँको अन्त्येष्टि सरकारी तवरबाट सम्मानजनक रूपमा गरिनुपथ्र्यो, भएन। अलबिदा, अविचलित लोकतान्त्रिक पथका अगुवा देवेन्द्रराज पाण्डे !
प्रकाशित: १६ श्रावण २०८३ ०९:५९ शनिबार