गीतकार प्रतिष्ठान, नेपालले शनिवार पोखरामा ‘चिया संसारमा गीत गजल कार्यक्रम’ सम्पन्न गरेको छ।
पोखराको रत्नचोकस्थित चिया संसारसँग सहकार्य गरी आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानका ७ जनाले गीत र गजल प्रस्तुत गरेका थिए।
चिया संसारले आफ्नो पहिलो वार्षिकोत्सव तथा बृहत् उद्घाटनका अवसरमा विविध सांस्कृतिक तथा साहित्यक कार्यक्रमहरूसमेत आयोजना गर्दै आएको सञ्चालक किस्मतजङ कार्कीले बताए।
कार्यक्रममा गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले चिया संसारले साहित्यलाई दिएको महत्त्व प्रशंसनीय रहेको बताए। उनले गीतकार प्रतिष्ठान विभिन्न संस्थाहरूसँग सहकार्य गरेर गीतसङ्गीतको उत्थानमा लागिरहेको बताए। उनले नानीको चञ्चले बानीले बिगार्यो..., लभ गरे पनि टेन्सन..., मलाई रुच्दैन तिम्रो बारेमा...लगायतका आफ्ना चर्चित गीतगजलहरू प्रस्तुत गरेका थिए।
प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनियाले प्रतिष्ठानलाई जनसमक्ष परिचित गराउन यस्ता कार्यक्रमले भूमिका खेल्ने भन्दै चिया संसारप्रति धन्यवाद ज्ञापन गरे। उनले सबको पिरतीमा घरबार हुन्छ..., मैले बाआमा त्यागेर... लगायत आफ्ना चर्चित गीतगजल सुनाएका थिए।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष लाल कार्की ‘अञ्जान’, सचिव रुपिन्द्र प्रभावी, कोषाध्यक्ष आदर्श पोखरेल, सदस्य सुरज उपाध्याय र जमुना बरालले आफ्ना गीत र गजल वाचन गरेका थिए।
उक्त अवसरमा चिया संसारका सञ्चालक किस्मतजङ कार्कीले गीतकार/गजलकारहरूलाई धन्यवाद ज्ञापन गर्दै चियासँग साहित्यको निकट सम्बन्ध हुने भएकाले साहित्यिक कार्यक्रमलाई स्थान दिइएको स्पष्ट पारे। २०८२ वैशाखदेखि अनौपचारिक रूपमा सुरु भएको चिया संसार किस्मतजङ कार्की, हिक्मतजङ कार्की, सन्दीप शर्मा पौडेल, सागर खत्री र सागर कार्कीले संयुक्त रूपमा सञ्चालन गर्दै आएका छन्।
प्रकाशित: २० वैशाख २०८३ ०७:२९ आइतबार