कला/साहित्य

कुलपति राईले गर्‍याे धरान स्रष्टा पार्कको उद्घाटन

धरान उपमहानगरपालिका वडा नं १३ मा निर्माण गरिएको स्रष्टा पार्क नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन तथा प्रतिमा अनावरण गरेका छन्।

धरानमा रहेर भाषा,साहित्य र कलाको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु हुने स्रष्टाहरू छविलाल पोख्रेल, महानन्द सापकोटा, गमबहादुर लम्जेल (लम्जेल सङ्घर्षशील),रामानन्द घराल, जगदीश नेपाली, कर्ण मास्के, मानबहादुर शाक्य, बेणु आचार्य, टङ्क घिमिरे, जितमान राई ,कृष्ण पाख्रिन, गोविन्द विकल र विमल गुरुङ लगायत १३ स्मृतिशेष स्रष्टाका प्रतिमाको अनावरण उनले गरे।

यस बारेको एक जिज्ञासामा कुलपति राईले भने, "दीर्घसेवी स्रष्टाको प्रतिमा निर्माणले उनीहरूको योगदानलाई कालान्तरसम्म सम्झाइरहने छ। धरानले स्रष्टा पार्क र प्रतिमा निर्माण गरेर ऐतिहासिक कार्यको थालनी गरेको छ। "

धरानका साहित्यकार जमुना श्रेष्ठकाे अनुसार धरान उपमहानगरपालिकाका वर्डा न १३ का अध्यक्ष नेत्र काफ्लेले स्रष्टापार्क स्थापना र स्रष्टाको शालिक अनावरण बारे जानकारी प्रस्तुत गरेका थिए।

धरान साहित्य, कला तथा संस्कृति प्रतिष्ठानद्वारा आयोजित दुई दिने अन्तर्राष्ट्रिय महोत्सवको पहिलो दिनको यो कार्यक्रम नगर परिक्रमासहित भव्यताका साथ सम्पन्न भयो।

प्रकाशित: १४ चैत्र २०८२ ०८:०० शनिबार