नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा साहित्यकार कुमार नगरकोटी नियुक्त भएपछि नियुक्तिको प्रक्रिया, सार्वजनिक आचरण, नैतिकता तथा सरकारको निर्णयमाथि प्रश्न उठ्न थालेको छ। विशेषगरी नगरकोटीले विगतमा दिएको अन्तर्वार्तामा आफूलाई सामाजिक तथा नैतिक रूपमा पतित व्यक्तिका रूपमा प्रस्तुत गरेको विषय अहिले विवादको केन्द्रमा आएको छ।
२०७१ सालको मंसिर १९ गते नागरिक अनलाइनमा प्रकाशित अन्तर्वार्तामा नगरकोटीले आफ्ना यौनसम्बन्धी केही अनुभवलाई ‘पाप’का रूपमा उल्लेख गरेका थिए। उनले आफू सामाजिक तथा नैतिक रूपमा पतित भएको आशयसमेत व्यक्त गरेका थिए। सोही अभिव्यक्तिलाई अहिले सामाजिक सञ्जाल, साहित्यिक वृत्त तथा बौद्धिक क्षेत्रमा पुनः उठाउँदै प्रज्ञा प्रतिष्ठानजस्तो संस्थाको नेतृत्वका लागि सार्वजनिक आचरण र नैतिक मापदण्डबारे बहस सुरु भएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठान भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने प्रमुख प्राज्ञिक संस्था भएकाले यसको नेतृत्वमा नियुक्त हुने व्यक्तिको योग्यता र अनुभवसँगै सार्वजनिक आचरण तथा नैतिकताको समेत मूल्यांकन हुनुपर्ने आवाज उठेको छ।
कवि मुनु अधिकारीले नगरकोटीले साहित्यमार्फत महिलाको वस्तुकरण गर्ने गरेको भन्दै उक्त व्यक्तिको नेतृत्व स्विकार गर्न नसकिने बताएकी छन् । उनले महिलाको सुन्दरतालाई शारीरिक बनावटसँग मात्रै जोड्ने दृष्टिकोणको आलोचना गर्दै प्रज्ञा प्रतिष्ठानको नेतृत्वका लागि महिलाप्रति सम्मानजनक दृष्टिकोण राख्ने साहित्यकार आवश्यक रहेको बताएकी छन्।
उनले प्रज्ञा प्रतिष्ठान साहित्यिक धरोहर भएको बताउँदै महिलालाई वस्तु नभई मानिसका रूपमा हेर्ने र कलाको गहिरो चेत भएका साहित्यकारलाई नेतृत्वमा ल्याउनुपर्ने भन्दै महिलाको इज्जतमाथि धावा बोल्ने कुलपति आफूहरूलाई स्वीकार्य नभएको बताएकी हुन्।
अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता दिपेश बस्नेतले पनि शारीरिक बनावटलाई प्राथमिकता दिने दृष्टिकोण भएका व्यक्तिको नेतृत्व अस्वीकार गर्नुपर्ने बताएका छन्। उनले साहित्यको मर्म र प्रतिष्ठानको गरिमासँग नेतृत्वकर्ताको सार्वजनिक आचरण जोडिनुपर्ने बताएका छन्।
नगरकोटीको नियुक्तिलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेलको भूमिकामाथि समेत प्रश्न उठाइएको छ। सरकारले योग्य व्यक्ति छनोट गर्ने प्रक्रिया अघि बढाएको भनिए पनि अन्ततः पहिल्यै तय गरिएका व्यक्तिहरूलाई नियुक्त गरिएको आरोप आलोचकहरूले लगाएका छन्।
यसै क्रममा मन्त्री पौडेलले विसं २०७५ चैत २३ गते एउटा राष्ट्रिय दैनिकमा प्रकाशित ‘जोगी जिन्दगी’ शीर्षकको लेखमा व्यक्त गरेका केही व्यक्तिगत इच्छासम्बन्धी प्रसंगसमेत सामाजिक सञ्जालमा चर्चामा आएका छन्। उक्त लेखमा उनले विभिन्न देश, वर्ग, भूगोल र जातिका महिलासँग शारीरिक सम्बन्ध राख्ने तथा आफूलाई मन परेकी लेखिकालाई नछाड्ने चाहनालगायतका विषय उल्लेख गरेका थिए। नगरकोटीको नियुक्तिपछि सोही लेखलाई जोडेर मन्त्री पौडेलको नैतिकता र निर्णय प्रक्रियामाथि पनि प्रश्न उठाइएको हो।
तीनवटै प्रज्ञा प्रतिष्ठानमा भएका नियुक्तिमा पहुँच, निकटता र समूहगत सम्बन्ध हाबी भएको भन्दै साहित्यिक क्षेत्रबाट आलोचना भइरहेको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा निश्चित समूह तथा प्रकाशन गृहसँग निकट व्यक्तिहरूलाई प्राथमिकता दिइएको आरोप सामाजिक सञ्जालमा उठाइएको छ।
तीनवटै प्रज्ञा प्रतिष्ठानमा भएको नियुक्तिमा सुदूरपश्चिमको प्रतिनिधित्व शून्य रहेको भन्दै जेनजी अगुवा रक्षा बमले पनि सरकारको निर्णयप्रति असन्तुष्टि जनाएकी छन्। उनले सामाजिक सञ्जालमार्फत ‘उफ्, कति झिक्कै माया हो सुदूरलाई’ भन्दै व्यंग्य गरेकी छन्।
नेता भीम रावलले समेत प्रतिष्ठानका नियुक्तिलाई लिएर सरकारमाथि प्रश्न उठाएका छन्। उनले तीनवटै प्रतिष्ठानमा गरिएको नियुक्तिमा सरकारले दाबी गर्दै आएको सुशासन, न्याय र निष्पक्षताको झल्को नदेखिएको टिप्पणी गरेका छन्। रावलले पदाधिकारी तथा सदस्यहरूको सामाजिक समूहगत प्रतिनिधित्वको तथ्यांक सार्वजनिक गर्दै क्षेत्रीय तथा सामाजिक समावेशिताको प्रश्नसमेत उठाएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह स्वयं कलाकार तथा कविका रूपमा परिचित रहेकाले साहित्यिक तथा सांस्कृतिक संस्थामा भएको नियुक्तिबाट सरोकारवालाले थप अपेक्षा गरेका थिए। संस्कृति मन्त्री पौडेल पनि साहित्यिक क्षेत्रमा सक्रिय रहेकाले प्राज्ञिक संस्थामा सुधार, पारदर्शिता र निष्पक्षताको अपेक्षा गरिएको थियो।
तर नगरकोटीको नियुक्तिसँगै सार्वजनिक आचरण, नैतिकता, क्षेत्रीय प्रतिनिधित्व, छनोट प्रक्रिया र सम्भावित स्वार्थको टकरावका प्रश्न प्रशस्त उठेका छन्।
प्रकाशित: २९ श्रावण २०८३ १३:३६ शुक्रबार