कला/साहित्य

सुन्ने शक्ति गुमाउँदै बीटीएसका 'भी'

विश्वप्रसिद्ध के–पप समूह बिटिएस (BTS) का सदस्य भी (V)ले आफू एक कानको श्रवणशक्ति गुमाउँदै गएको खुलासा गरेका छन्।

बुधबार गरिएको लाइभस्ट्रिममा उनले करिब साढे दुई वर्षदेखि यो समस्यासँग संघर्ष गरिरहेको र अहिले नियमित उपचार गराइरहेको जानकारी दिएका हुन्।

३० वर्षीय किम ताएह्युङ (भी) ले पहिलो पटक आफ्ना प्रशंसकलाई स्वास्थ्य अवस्थाबारे खुला रूपमा बताएका हुन्।

उनका अनुसार बायाँ कानको श्रवणशक्ति सामान्य भए पनि दायाँ कानको श्रवणशक्ति निकै कमजोर भइसकेको छ।

‘यदि मेरो बायाँ कानको श्रवणशक्ति १०० छ भने, दायाँ कानमा करिब ३० मात्रै छ’, उनले लाइभस्ट्रिममा भने।

भीले अनिवार्य सैन्य सेवाका क्रममा आफ्नो श्रवणशक्ति झन् कमजोर भएको बताए। सुरुमा उनले समस्यालाई गम्भीर रूपमा नलिई मानसिक बलले पार गर्न सकिने ठाने पनि अहिले नियमित औषधि सेवन गर्दै अस्पतालमा उपचार गराइरहेको जानकारी दिए।

दक्षिण कोरियामा सबै सक्षम पुरुषले करिब १८ महिनाको अनिवार्य सैन्य सेवा गर्नुपर्ने व्यवस्था छ। सोहीअनुसार बिटिएसका सबै सदस्यले सैन्य सेवा पूरा गरेका छन्। भी सन् २०२३ मा सेनामा भर्ना भएका थिए भने जुन २०२५ मा सेवामुक्त भएका थिए।

सैन्य सेवापछि पुनर्मिलन भएको बिटिएस अहिले अरिरङ विश्व भ्रमणमा व्यस्त छ। अप्रिलबाट सुरु भएको यो भ्रमण वर्षौंपछि सातै सदस्य एकसाथ सहभागी भएको पहिलो विश्व टुर हो। बुधबारको लाइभस्ट्रिम अमेरिकाको मेरील्याण्डस्थित बाल्टिमोरमा भएको कन्सर्टपछि गरिएको थियो।

लाइभस्ट्रिममा भीसँगै सहभागी भएका सदस्य जंगकुक ले पनि भ्रमणका क्रममा आफू शिनको चोटसँग संघर्ष गरिरहेको बताए। 

उनले आफू स्ट्रेस फ्र्याक्चर हुने अवस्थासम्म पुगेको भए पनि उपचार र सावधानीका साथ प्रदर्शनलाई निरन्तरता दिइरहेको जानकारी दिए।

बिटिएसको विश्व भ्रमण आगामी महिनाहरूमा लस एन्जलस, ब्यूनस आयर्स, बैंकक, सिड्नी र हङकङलगायतका विभिन्न शहरमा जारी रहनेछ।

प्रकाशित: २८ श्रावण २०८३ १४:०१ बिहीबार