सोमबार भारतीय सिनेमाका एक महान् व्यक्तित्व धर्म सिंह देओल धमेन्द्रको ८९ वर्षको उमेरमा मृत्यु भएको छ। सन् १९६० मा अभिनय यात्रा सुरु गरेका धर्मेन्द्रले आफ्नो पाँच दशकभन्दा लामो करियरमा ३०० भन्दा बढी चलचित्रहरूमा काम गरेका छन्, जसले उनलाई बलिउडका 'ही म्यान'को उपनाम दिएको छ।
पंजाबको लुधियाना जिल्लामा ८ डिसेम्बर १९३५ मा जन्मेका धर्मेन्द्रले फिल्मफेयर पत्रिकाको नयाँ प्रतिभा पुरस्कार जितेर मुम्बईको यात्रा तय गरेका थिए। उनले सन् १९६० मा 'दिल भी तेरा हम भी तेरे' बाट डेब्यू गरेका थिए। १९६६ को एक्सन फिल्म 'फूल और पत्थर' उनको एकल नायकको पहिलो एक्सन चलचित्र बन्यो। जसले उनलाई पहिलो पटक सर्वश्रेष्ठ अभिनेताका लागि फिल्मफेयर नामांकन दिलायो र सो वर्षको सर्वाधिक कमाई गर्ने चलचित्र बनेको थियो।
उनले मीना कुमारीसँग ‘फूल और पत्थर’ जस्ता सात सफल चलचित्रमा काम गरेका थिए। अभिनेत्री हेमा मालिनीसँगको उनको जोडी सबैभन्दा सफल रह्यो, जससँग उनले 'शोले', 'सीता और गीता' जस्ता धेरै हिट फिल्महरू दिए र पछि उनीसँगै विवाह पनि गरे।
हृषिकेश मुखर्जी निर्देशित 'सत्यकाम'मा उनको अभिनयको समीक्षकहरूले अत्यधिक प्रशंसा गरेका थिए। १९७५ को ऐतिहासिक फिल्म ‘शोले’ मा वीरूको रूपमा उनको भूमिका अविस्मरणीय छ, जसलाई आज पनि सबै समयका शीर्ष २५ हेर्नै पर्ने बलिउड चलचित्रहरूमा सूचीकृत गरिएको छ।
उनले १९९७ मा हिन्दी सिनेमामा गरेको अतुलनीय योगदानको लागि फिल्मफेयर लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका थिए भने सन् २०१२ मा भारत सरकारले उनलाई देशको तेस्रो सर्वोच्च नागरिक सम्मान पद्मभूषणबाट सम्मानित गरेको थियो।
उनले सन् १९५४ मा १९ वर्षको उमेरमा प्रकाश कौरसँग पहिलो विवाह गरेका धमेन्द्रले उनीबाट दुई सफल अभिनेता छोराहरू सनी देओल र बबी देओलर दुई छोरीहरू छन्। दोस्रो विवाह उनले अभिनेत्री हेमा मालिनीसँग विवाह गरेका थिए। जसबाट उनीहरूका दुई छोरीहरू, अभिनेत्री ईशा देओल र आहना देओल छन्।
निर्माताको रूपमा उनले 'विजयता' फिल्म्स नामक निर्माण कम्पनी स्थापना गरेर आफ्ना छोराहरूलाई चलचित्र क्षेत्रमा ल्याएका थिए। यस कम्पनीले ‘घायल’ जस्ता समीक्षक र व्यावसायिक रूपमा सफल फिल्महरू पनि निर्माण गरेको छ। जसले राष्ट्रिय फिल्म पुरस्कार समेत जितेको थियो।
पछिल्लो समय अभिनय बाहेक धर्मेन्द्रले राजनीतिमा पनि कदम राखेका थिए। उनी भारतीय जनता पार्टी भाजपाको तर्फबाट सन् २००४ देखि २००९ सम्म राजस्थानको बीकानेर निर्वाचन क्षेत्र को प्रतिनिधित्व गर्दै १५ औं लोकसभाको सदस्य बनेका थिए।
उनले २००७ मा ‘लाइफ इन अ मेट्रो’ र ‘अप्ने ’ मार्फत चलचित्र क्षेत्रमा सफल पुनरागमन गरेका थिए। धर्मेन्द्रले ‘यमला पगला दीवाना’ फ्रेन्चाइज र रियालिटी शो ‘इन्डियाज गट ट्यालेन्ट’ को निर्णायकको रूपमा पनि काम गरेका थिए।
आज धर्मेन्द्रको मृत्यु भएसँगै उनको जीवनले कला, साहस र समर्पणको एक अविस्मरणीय विरासत छोडेको छ।
प्रकाशित: ९ मंसिर २०८२ ११:०४ मंगलबार