कला/साहित्य

बलिउडका ‘अन्ना’ रहेनन् : कार्डियाक एरेस्टका कारण निधन, ४५ मिनेटसम्म दिइयो सीपीआर

वरिष्ठ बलिउड अभिनेता नाना पाटेकर ‘अन्ना’ को ७५ वर्षको उमेरमा गोवामा कार्डियाक एरेस्टका कारण निधन भएको छ।

गोवास्थित आफ्नो निवासमा अचेत अवस्थामा भेटिएका पाटेकरलाई तत्काल मणिपाल अस्पताल पुर्‍याइएको थियो। अस्पतालका क्यान्सर विभागका प्रमुख डा. शेखर सालकरले समाचार एजेन्सी एएनआईलाई दिएको जानकारीअनुसार करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिइए पनि उनको अवस्थामा सुधार आउन सकेन र बिहाने ५:२० बजे (स्थानीय समय) मा उनलाई मृत घोषणा गरियो। डाक्टर सालकरका अनुसार यस घटनामा मेडिको-लिगल केस (एमएलसी) दर्ता गरिएको छ र मृत्युको वास्तविक कारण पत्ता लगाउन पोस्टमार्टम जाँच गरिनेछ।

नाना पाटेकर हिन्दी र मराठी सिनेमाका एक अत्यन्तै चर्चित र दिग्गज अभिनेता थिए। उनले सन् १९७८ को फिल्म ‘गमन’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए। आफ्नो लामो फिल्मी करियरमा उनले ‘परिंदा’, ‘प्रहार’, ‘अंगार’, ‘क्रान्तिवीर’, ‘तिरंगा’, ‘खामोशी’ र ‘अब तक छप्पन’ जस्ता उत्कृष्ट फिल्महरूमा अभिनय गरेर दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाउन सफल भए।

उनले सन् १९८९ को चर्चित फिल्म ‘परिंदा’ मा निभाएको ‘अन्ना’ को भूमिकाका लागि सर्वश्रेष्ठ सहायक अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए। यसबाहेक, उनले ‘क्रान्तिवीर’ (१९९४) का लागि सर्वश्रेष्ठ अभिनेता र ‘अग्निसाक्षी’ (१९९६) का लागि सर्वश्रेष्ठ सहायक अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरे, जसले उनको कुल राष्ट्रिय पुरस्कारको संख्या तीन पुर्‍याएको थियो। भारतीय चलचित्र क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई सन् २०१३ मा भारत सरकारद्वारा पद्मश्री उपाधिबाट सम्मानित गरिएको थियो।

गम्भीर भूमिकासँगै उनले हास्य विधामा पनि आफ्नो अब्बल अभिनयले दर्शकको मन जितेका थिए। विशेष गरी सन् २००७ को हिट फिल्म ‘वेलकम’ मा उनले निभाएको ‘उदय शेट्टी’ को भूमिका निकै लोकप्रिय बन्यो, जसलाई उनले यसको सिक्वेल ‘वेलकम ब्याक’ मा पनि दोहोर्‍याएका थिए।

फिल्म ‘प्रहार : द फाइनल अट्याक’ (१९९१) को तयारीका क्रममा पाटेकरले मराठा लाइट इन्फन्ट्रीसँग वास्तविक सैन्य तालिमसमेत लिएका थिए। यो फिल्म उनको निर्देशनमा बनेको पहिलो डेब्यू फिल्म पनि थियो। सन् १९९९ को कारगिल युद्धका क्रममा पनि उनी सैनिकहरूलाई भेट्न विभिन्न चौकीहरूमा पुगेर उनीहरूको मनोबल बढाउन समय बिताएका थिए। पाटेकर आफ्नो उत्कृष्ट फिटनेसका लागि पनि परिचित थिए; हालै फोटोग्राफर तथा निर्माता अतुल कासबेकरले सामाजिक सञ्जालमा सेयर गरेको एउतु भिडियोमा ७५ वर्षको उमेरमा पनि पाटेकर लगातार १५ पटक ट्राइसेप डिप्स गरिरहेको देखिएका थिए।

पछिल्लो समय पनि उनी फिल्म र अभिनयमा उत्तिकै सक्रिय थिए। उनी अक्षय कुमार, अभिषेक बच्चन र रितेश देशमुखलगायतका कलाकारहरूसँग प्रतीक्षित फिल्म ‘हाउसफुल ५’ मा काम गरिरहेका थिए। यस्तै, विशाल भारद्वाजको ‘ओ’रोमियो’ मा उनले मुम्बई इन्टेलिजेन्स ब्युरोका प्रमुख इस्माइल खानको भूमिका निर्वाह गरेका थिए भने अनिल कपूर र राधिका मदन अभिनीत फिल्म ‘सुबेदार’ मा पनि उनको बलियो उपस्थिति थियो। सन् २०२६ मा उनले प्रकाश झाको राजनीतिक ड्रामा सिरिज ‘संकल्प’ मार्फत ओटीटी प्लेटफर्ममा पनि डेब्यू गरेका थिए, जसअघि उनी फिल्म ‘वनवास’ मा देखिएका थिए।

लामो समयदेखि हिन्दी र मराठी सिनेमामा सक्रिय रहँदै अभिनय, निर्देशन र लेखनमा बहुमुखी प्रतिभा देखाएका पाटेकरको असामयिक निधनले सिंगो चलचित्र उद्योग र संसारभर रहेका उनका फ्यानहरूलाई गहिरो शोकमा डुबाएको छ। एजेन्सीको सहयोगमा

प्रकाशित: २२ आश्विन २०८३ ०८:५५ बिहीबार