कला/साहित्य

वाल्मीकि विद्यापीठको वेदान्त विभागमा भानुभक्तीय रचनावाचन

२१३औँ भानुजयन्तीका अवसरमा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठको वेदान्त विभागले भानुभक्तीय रचनावाचन समारोह आयोजना गर्दै आदिकवि भानुभक्त आचार्यका काव्यमा निहित वेदान्तीय दर्शन, अध्यात्म, नैतिक मूल्य र राष्ट्रिय चेतनामाथि गहन अध्ययन तथा अनुसन्धानको आवश्यकता औँल्याएको छ।

वेदान्त विभागका प्रमुख प्रा. डा. सुमोदवर्धन कौडिन्न्यायनको संयोजकत्वमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार खगेन्द्र नेपाल प्रमुख वक्ताका रूपमा सहभागी थिए। कार्यक्रममा प्राध्यापक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा भानुभक्तका कृतिलाई केवल रामायणका अनुवादक वा आदिकविको परिचयमा सीमित नगरी त्यसमा निहित वेदान्त दर्शन, जीवनदृष्टि, सांस्कृतिक चेतना र राष्ट्रिय भावनाको विश्वविद्यालय तहमा गम्भीर अध्ययन हुनुपर्ने धारणा व्यक्त गरियो।

भानुभक्तद्वारा रचित रामायण, रामगीता, प्रश्नोत्तरी तथा अन्य रचनाको सस्वर वाचन गरिएको कार्यक्रममा ती कृतिमा अद्वैत वेदान्त, भक्ति, नैतिकता, वैराग्य र लोकमङ्गलका भाव सशक्त रूपमा अभिव्यक्त भएको चर्चा गरियो।

वक्ताहरूले नेपाली भाषा र साहित्यले राष्ट्रिय आत्माको निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै भानुभक्तका कृतिलाई नेपालको साहित्यिक, दार्शनिक र सांस्कृतिक सम्पदाका रूपमा संरक्षण, अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

समारोहको अन्त्यमा वेदान्त विभागले साहित्य, दर्शन र संस्कृतिलाई जोड्ने यस्ता अनुसन्धानमुखी शैक्षिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

 

प्रकाशित: २९ असार २०८३ २०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App