कला/साहित्य

बबुरो लेखक

निबन्ध

एक दिन भुँडीपुराण प्रकाशनबाट बाहिरिएर पद्मकन्या कलेज अघिल्तिरबाट पुतलीसडकतिर हानिँदै थिएँ। नेपाली साहित्यका दुई वरिष्ठहरूसँग भेट भयो। हतारोमा थिएँ, ठोक्किएपछि मात्र चिनें। झन्डै तीन बिस र एक दशक नाघेका ती आदरणीयहरूसँग ठोक्किँदा मन पुलकित भयो। दशऔंला जोडेर सम्मानभाव प्रकट नगरी रहन सकिनँ।

हेरें, बुढाहरू सकिनसकी मोटामोटा ठेलीहरू प्लास्टिक ब्यागमा झुन्ड्याइरहेका थिए। यसो नियालें -प्रज्ञा प्रतिष्ठान र अर्को लोकप्रिय कुनै प्रकाशन गृहबाट प्रकाशित उनीहरूकै कृतिहरू थिए। मैले सोचें, कतै उपहार दिन बुढाहरूले लगिरहेका होलान्। मैले पनि मागें। उनीहरूले पछि दिन्छु, यी केही पुस्तक पसलमा पुर्‍याउन लागेको बताए। हामी छुट्टियौं।

बेलुकी घर गएपछि मनमा अघिको त्यो दृश्य फेरि ताजा भएर घुमिरह्यो। मन अटेसमटेस भयो मेरो। ती स्थापित लेखकको त त्यो हालत छ, म बबुरो लेखनीको कखरा कनिकुथी लेख्दै गरेकाले कृति निकालें भने के हविगत होला, बाबै। साँच्चै रन्थनिएँ म। नेपालमा साहित्यकारको त्यो अवस्था, जसका दर्जनौं कृतिहरू छन्। प्राज्ञ पनि भइसकेका व्यक्ति। हरे, नेपाली वाङ्मय क्षेत्रको यो दुरावस्था।

साहित्य क्षेत्रको घायल यो वर्तमानले मलाई साह्रै पिरोल्यो। सन्दर्भ टुटाउनै सकिनँ। धेरै–धेरै मनमा कुराहरूको खेलाइ भइरह्यो। यस्ता कुराले ल्याउने परिणति साँच्चै सुखद लागेन। बेडमा पल्टें। समयका चुनिएका पलहरू रातमा परिवर्तन हुँदै थिए तर मन भने त्यही दिउँसोतिर मात्र गइरहेथ्यो। म पसिनाले लफ्रक्कै भिजें। मेरो तेजमय अनुहार लत्रियो। नेपाली साहित्यमा यो संस्कृति परिवर्तन होला कि नहोला। स्रष्टा त भविष्यद्रष्टा पनि हो। वर्तमानका बेथिति र विसंगतिलाई उजागर गर्ने व्यक्ति हो। समाजलाई सही दिशानिर्देश गर्ने निर्देशक पनि हो र सत्मार्गमा लैजाने पथप्रदर्शक पनि हो तर उसको यस्तो महत्त्वपूर्ण भूमिकालाई समाजले कसरी ग्रहण गर्छ भन्ने कुरा पनि आउँदो रहेछ।

मनलाई त्यो घटनाबाट अन्यत्र लैजान जोर लगाउँछु तर सक्दिनँ। त्यही दृश्यले नराम्ररी चिथोर्छ मनलाई। निकै गाह्रो भयो मलाई। घरीघरी त्यही दृश्य मेरो मानसपटलमा ताजा बनेर आइरह्यो। कठै, मेरो समाज। स्रष्टाको कुनै भाउ छैन। लेखनीको कुनै महत्त्व छैन। यो घटनाले मेरो मनको सगर उछिन्छ। मैले यो विषयलाई मोड दिन खोजेर पनि सकिरहेको छैन।

एउटा स्रष्टाले सिर्जनाकर्म गर्छ। यस क्रममा कति मेहनत पर्दो हो, ऊ कति अध्ययन गर्दो हो। समयका हरप्रहरहरूसँग जुध्दो हो। अभावका हर पलहरूसँग भिड्दो हो। उसको चेतनाको विराट् फाँटमा कैयौं पटक शब्दहरूसँग खेल्दो हो। चिन्तन र साधनामा कति पल व्यतीत गर्दो हो। लेख्दै, केर्दै, फेरि त्यसलाई परिमार्जन गरेर पुनर्लेखनपछि सुन्दर सिर्जना जन्माउँदो हो तर यो बेइमानी समाज र समयचक्रमा ऊ जहिल्यै पिसिँदो छ।

पेट्रोलियम पदार्थको भाउ बढ्छ। सुनचाँदीको दररेट बढेर आकाश चुलिन्छ तर दुनियाँ बेखबर छ। बिचरा लेखकको हाल के छ, वास्ता छैन। चर्चा कसैले गर्दैन। फलानुले त रकमसकम कुम्ल्याएर भागेछ, अखबारमा ठुलो अक्षरले लेखिन्छ। भ्रष्टाचार गरेर अख्तियारले फाइल तान्यो रे। छानबिनको दायरामा आउँदै छ। यस्ता त बग्रेल्ती समाचार पढिएकै छ तर लेखनीको गरिमा कहाँ चर्चा हुनु। लेखकको महिमा कसले गाउनु। सायद चेतनायुक्त भावुकता नभएका मान्छे धेरै छन् यहाँ। विकृत मथिंगल बोकेकाहरूको जगजगी छ यहाँ। अनि किन कसैले सम्झिनुपर्छ लेखकलाई ? त्यो कसैको बाध्यता पनि होइन। तर मानवता मरेको समय हो यो।

अकर्मण्य र दिशाहीनताले बाँझो बनाएको मस्तिष्क बोकेकाहरूबाट के आशा हुन सक्छ र। तर्कना र तर्कहीनहरूको बाहुल्य छ यहाँ। त्यसैले यहाँ लेखकको दूरदृष्टि र मनोभावको अर्थहीन ठम्याइ हुन्छ तर पनि लेखकले आफ्नो लेखनीमा दृढ भएर लेखिरहन्छ। कसैको सान्त्वना र आश्वासनको उसलाई अर्थ र मतलब हुँदैन।

समाजले भेउ पाउनेछ एक दिन। यस्तो समय आउनेछ, लेखकले छोडेका उसका विचार र सिर्जनाहरूमा समाजले अर्थ देख्नेछ। जीवनको परिभाषा बुझ्नेछ। समयका वाचाल अक्षरहरू केवल अक्षर होइन, जीवनदर्शन ठान्नेछ। प्रियकर लाग्नेछन्। जीवनवादी सोच बन्नेछन्। हिजो खिहिरिएको तरुलजस्ता लेखकका विचार भोलि सुस्वादु जीवनोपयोगी सिप बन्नेछन्।

अहिले बिझाएको वाणी भोलि महान् वाणीमा दरिन बेर लाग्ने छैन। समयक्रममा सत्यले चियाउनेछ। तान्नेछ दुनियाँको ध्यान। खिच्नेछ सबैको दिमाग। अहिले कुबाटो ठानियो तर जब चुनौतीहरू एकपछि अर्को थपिनेछन्, त्यतिबेला यही कुबाटो मूल मार्ग बन्न के बेर।

अहिले पाइलैपिच्छे निरीह छ लेखक। ससुराली जाओस् वा मामाघर। आफन्त सबै–सबैकोमा बेहोरेको उस्तै हो व्यवहार। श्रीमतीजी पनि अतालिएकी छिन्। न कमाइधमाइ छ, न राम्रो लाउनु छ, न मिठोमसिनो नै पाक्छ। उही रुखोसुखो निर्वाह। बिचरीलाई के थाहा, आनन्दको सञ्चार। सँगीहरू सजिन्छन् सुन्दर र महँगा आधुनिक पहिरनमा। उसलाई कसले किनिदियोस्। श्रीमतीजी सोच्छिन्, कहालीलाग्दो छ हो जिन्दगी। डरलाग्दो छ हो भविष्य। अनुभूतिको सङ्लो पानीसमेत देख्न सकिनन् उनले। अनि कहाँ देख्नु चम्किला तारा।

सामाजिक विघटनले हद पार गरेको समय यो। विकृति र विसंगति मौलाएको याम यो। मान्छे आफैं समयको मलामी गइरहेको छ। टुट्दै छ मान्छे। टुट्दै छन्– सम्बन्धका विभिन्न आयाम। उदासीनता, निराशाले जीवनको मेलोमेसो खोसिँदो छ। गन्तव्यको खोजीमै मान्छे रित्तिँदो छ। सकिँदै छन् उसका सपनाहरू।

उज्यालोको प्रतीक्षामा सधैंका लागि अँध्यारो वरण गर्न पुग्छ मान्छे। आशावादी चेतमा सपना देख्नसमेत छुट छैन मान्छेलाई। जिन्दगीको गतिशीलताको अर्थ लगाउनै नसक्ने भइसक्यो मान्छे। युगीन यथार्थबाट कोसौं पर भागिसक्यो मान्छे। एकाकीपनको लपेटामा जेलिएको मान्छेबाट अब के हुन्थ्यो।

माथिका यावत् समस्यामा चिन्तन गर्ने, विचार फालिरहने, भावना ओकलिरहने लेखक। कसले बुझोस् उसका मान्छेप्रतिको चिन्तनलाई? जीवनभित्रको सत्यखोजलाई कसले देखोस्? उसको दृष्टिकोण र विचारलाई कसले चासो देओस् ? एउटा जीवनवादी चेतमा घोत्लिरहने लेखकको लेखकीय मनोविज्ञानमा कसले दृष्टिगोचर गरोस्? कसलाई छ यहाँ फुर्सद?

सर्जकहरू राष्ट्रका गहना हुन्। राष्ट्रका मौलिक पहिचान हुन् स्रष्टाहरू तर यस क्षेत्रभित्रका झुट, फरेब, बेइमानी, अस्वस्थ प्रतिस्पर्धाजस्ता कारणले पनि तिनीहरू दुरुपयोग भएका छन्। चाकरी र चाप्लुसी अरू क्षेत्रमा जस्तै साहित्यमा हुनु राम्रो कदापि होइन। राम्रो होइन तर छ, के गर्नु! विकृत सोच बोकेकाहरू शक्तिप्रयोग गर्ने ठाउँमा पुगेपछि चाकरीबाहेक सम्मान आउन छोड्ने कुरा पनि गरिरहनुपर्छ र? तिनका मोटा बुद्धि र स्वार्थ भजाउने मानसिकता विकृतिपूर्ण छ भन्ने कुरा भनिरहनु पर्छ र? मन्दमन्द विषजस्तो घोलेर लेखकहरूमा त्यो पठाइदिएपछि राम्रो कहाँ हुन्छ र? लेखक स्रष्टाले साहस भने गर्नुपर्छ। सत्य लेख्न, सही बोल्न हिम्मत राख्नुपर्छ। खोलेर पूर्ण आँखा देख्न सक्नुपर्छ। फगत सत्यकै पक्षमा कलम चलाउनुपर्छ। नत्र गम्भीर भुल हुनेछ, ऐतिहासिक भुल। यथार्थको सत्यापन गर्नैपर्छ।

स्रष्टालाई चाकरी भजाओस् भनेर विभिन्न धरापहरू थापिएका हुँदा रहेछन्। पल्याकपुलुक हेरोस् भनेर रंगीचंगी कागजका फूलहरू सजाइएका हुँदा रहेछन्। अनुचित प्रयोग हुँदा रहेछन्। फस्दा रहेछन् चालै नपाई। कतै धम्कीका भाषाहरू सिधै त कतै सांकेतिक भावहरू अभिव्यक्त भएर आउँदा रहेछन्। त्यसैले स्रष्टामा कलम चलाउँदा सर्वप्रथम स्वस्थ मुटु, मन र मस्तिष्क हुनु जरुरी पर्दो रहेछ। आँट र साहस देखाउन पर्दो रहेछ। सत्यको आभूषण लगाउन पर्दो रहेछ। छातीमा टाप बजाउँदै अघि बढ्नुपर्दो रहेछ।

‘काफल जता पाक्यो, चरी उतै नाच्यो’ भनेर भएन नि। जसले जता पल्टायो, उतै पल्टिदिने पीपलपाते स्रष्टा हुनु भएन नि। समयको सत्यलाई सिक्रीमा जकड्न अनुचित प्रभाव पार्नेहरूबाट परै हुनुपर्छ स्रष्टा। शाश्वत सत्य जे हो, त्यसको पक्षमा वकालत गर्ने वकिल हुनुपर्छ स्रष्टा। आफूलाई हीनभाव र लर्तरो ठान्ने स्रष्टा कमजोर हुन्छ।

स्रष्टाले त ब्रह्मले देखेको सत्य ओकल्नुपर्छ। स्रष्टाले त सुशिक्षित भएकोले अरूलाई सुसूचित पार्नुपर्छ। झिनो डरभावसम्म हुनुभएन। कसैको प्रलोभनमा फस्नुभएन। कुनै दलविशेषको चाकरी कस्नुभएन। तब त सिर्जनाको कुरा गर्न सकिन्छ। तब त सबैको मुखमा बुझो लाउन सकिन्छ। कुनै पनि सिर्जनामार्फत आफ्ना कुरा प्रभावकारी रूपमा सम्प्रेषण गर्न सकियो भने त्यसको महत्त्व रहन्छ।

लेखनीमा जम्न अस्वस्थ कुराहरूको विरुद्ध प्रभावकारी रूपमा कलम जोत्नुपर्छ। अब बबुरो बन्नु हुन्न। जीवन र जगत्को सत्यलाई हेर्ने सही आँखा भयो भने अँध्यारा पाटाहरूमा उज्यालो खोज्न सकिन्छ। आशावादी हुनुपर्छ। मानवताको फूल फुलाउन यत्न गर्नुपर्छ। लेखक त सुखद परिणतिको संवाहक बन्नुपर्छ। तब त लेखकको कलम कसैले चाहँदैमा भाँचिन्न।

लामो सुस्केरा तान्दै मैले औसत नेपाली लेखकहरूको नियति देखें। विवेक खोसिएका रहेछन् लेखकहरूका। भावनाहरू एम्बुसमा पारिँदा रहेछन् तिनका। दुःखमा कचपल्टिएका छन् मन तिनका। स्रष्टाको स्वाभिमानको खकनलाई विवशताको करौंतीले छिनालिदिँदा रहेछन्। यसैले होला सायद, तिनलाई पनि वाक्क लाग्दो हो आफ्नो जीवन सम्झिँदा। अनेकानेक रहर मनका दबाएर बसेका रहेछन्। इच्छाहरूलाई विवशताको जब्बरे ताल्चा लगाएर थुनेका रहेछन्। अनि ‘मर्नुभन्दा बौलाउन निको’ ठान्ने परिस्थितिबाट गुज्रिन बाध्य हुँदा रहेछन् लेखकहरू। यति धेरै सोचेपछि मेरो मस्तिष्क हल्लियो। निराशा छायो मनमा। अनि आफ्नो नियतिलाई जोखी हेरें, त्यस्तै दुरुस्तै। नमिठो भाव, असाध्यै नमिठो अनुभूति। चिच्याउन खोजें तर मेरो चिच्याहटको अर्थ थिएन। अनि लेखकीय अस्तित्वको सम्भावित संकट सम्झेर अवाक् भएँ।

प्रकाशित: १ कार्तिक २०८३ ०७:०० शनिबार