कला/साहित्य

नविन पन्तको लेखन-निर्देशनमा ‘बाकस’

नविन पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘बाकस’ मा भोलाराज सापकोटा र सुपला सापकोटो अनुबन्ध भएका छन्। निर्माण पक्षले भोला र सुपलालाई अनुबन्ध गरेसँगै छायांकनमा जाने निधो निकालेको छ।

फिल्मका निर्देशक पन्तले भोला र शुपलालाई ‘बाकस’ मा अनुबन्ध गरेसँगै अब दशैंपछि छायांकन थाल्ने बताए।

उनले कुराकानीमा भने, ‘फिल्मका लागि कलाकारहरूको टिम झन्डैझन्डै पुग्ने अवस्थामा। अझै केही कलाकार तथा प्राविधिकको छनोट अन्तिम टुंगो लगाउने काम भइरहेको छ तर हामी सबै कुरा छिट्टै मिलाएर दसैंपछि सुटिङमा निस्किन्छौं।’

यसअघि यो फिल्ममा विपना थापा, वर्षा राउत र महेश त्रिपाठी अनुबन्ध भइसकेका छन्। ‘बाकस’ को निर्माण सुजिता चौलागाईंले गर्नेछिन् भने छत्रबहादुर खड्का सहनिर्माता र धिरेन्द्र पन्त (धिरु भाइ) कार्यकारी निर्माता छन्।

फिल्ममा दीपक शर्मा र सनम पुरुष राईको संगीत रहनेछ। गीत तथा शब्दमा दीपक शर्मा र निर्देशक पन्तकै रहने छ भने मुख्य सहायक निर्देशकमा मनि तामाङ, द्वन्द्व निर्देशकमा किरण दाहाल र प्रोडक्सन म्यानेजरमा निर्मल न्यौपाने छन्।

फिल्मको प्रदर्शन मिति भने अहिले तोकिएको छैन। निर्माण पक्षका अनुसार फिल्मको सुटिङ सकेपछि तोक्ने योजना छ।

प्रकाशित: ८ आश्विन २०८३ १२:१२ बिहीबार