कला/साहित्य

बोधन

लघुकथा

१) अभिलाषा

`` निकास खोई त?´´मैले आवाज सुनेँ। 

म जङ्गलको बाटो भएर आफ्नो गाउँ फर्किदै थिएँ तर बाटो बिराएछु। अनेकन् प्रयास गर्दा पनि सही मार्ग फेला परेको थिएन। जङ्गलमा एक्लै भड्किरहेको थिएँ। एकैछिनमा अन्धकार भयो। बासको खोजी गर्दै हिँड्दा आवाजले म झस्किएँ।

`` यो जङ्गलको बिचमा को होला?´´भन्ने जिज्ञासा बोकेर आवाजतिर पच्छ्याउँदै  गएँ। भोका र नाङ्गा मानव समुदाय सानो छाप्रोभित्र सभा गरेर बसेका थिए।  लुकेर बिस्तारै हेरेँ। हातहतियारसहित थिए। डर लाग्यो।  भेटे भने मार्छन् भनेर आत्तिए।

चूपचाप लागेर कुरा सुनेँ।

एकजना युवा जोसिँएर भन्दै थिए, ``राज्यले हामीलाई सधैँ अधिकारविहीन बनायो। पुर्खादेखि नै हाम्रो जीवन यसरी जङ्गलमा बितिरहेको छ। के हामी यस देशका नागरिक होइनौँ?

अर्को  पनि उसै  गरेर जङ्गियो,``सरकारमा हाम्रो पनि प्रतिनिधि हुनुपर्छ अनि पो हाम्रा सन्ततिले नारकीय जीवनबाट छुटकारा पाउने थिए।´´

उनीहरूमध्ये अलि बुज्रुक देखिने व्यक्तिले थुमथुम्याउने प्रयास गर्दै थिए। युवाहरू भने गर्जिदै थिए। मलाई लाग्यो,``आन्तरिक मामलामा हस्तक्षेप नगर्नू नै बेस हुन्छ। ´´

एउटा रूखको तल रात बिताउनु पर्यो भन्ने सोचेँ। फर्किन लाग्दा त्यहीँ लडेँ। उठेर भाग्न सकिनँ।

भित्रका मानिसहरू ``के हो? को हो? ´´भन्दै भाला बोकेर निस्किए। मेरो छेउ आए। हेर्ने र बोल्ने मेरो साहास थिएन। आँखा चिम्लिएर सास रोकेँ।

उनीहरूले मलाई उठाएर छाप्रोभित्र लगे। पानी  छम्किए। उनीहरूको आत्मीय व्यवहारले मन खुसी भयो अनि आफ्नो समस्या सबिस्तार बताएँ।

उनीहरूमध्ये एउटा युवकले मलाई भन्यो,``राति जङ्गली जनावर आउन सक्छ , यहीँ सुत्नू। ´´

मनमनै कामना गरेँ,``अब बनेको बहुमतको सरकारले आफ्नो सहजताजस्तै यिनीहरूको जीवनमा पनि कायापलट गर्न सकून्।

२) बोधन

निन्याउरो अनुहार लिएर ठूलेले भन्यो, ``आमा! घर जाऊँ। म लिन आएँ। ´´

बुढी भएकी आमाले पत्याइनन्। खिस्स हाँसिन्। ऊ बेलाको समय स्मरण गरिन्। २ वर्ष पनि पुगेको थिएन, बुढोको मृत्युले दिएको पीडा आलै थियो उसमाथि  सन्तानको दुर्व्यवहार! उनको मुटु चसक्क दुख्यो। अनुहार बिगार्दै भनिन्, ``फेरि के नाटक गर्न यहाँ आइस्? साने खै त? ´´

उसले पछुतो गर्दै भन्यो,``भाइको बिहे भएपछि नानाथरिका कुरा निकालेर मसँग झगडा मात्रै गर्न थाल्यो। घरमा तपाई नहुँदा सबै पथभ्रष्ट हुन लागे। मनपरी गर्न थाले। घरको संस्कार र अनुशासन केही रहेन।´

छोरालाई लिएर आमा आश्रमको अर्को कोठामा पसिन्। मन मिल्ने संगिनीलाई छोरो लिन आएको कुरा सुनाइन्। संगिनीले हर्ष रोदनमिश्रित आवाजमा भनिन्, `` सन्तानलाई पछुतो भएर लिन आए, खुसीले जाऊँ तर ...!

``के तर?´´ ठूलेले जिज्ञासा पोख्यो।

`` लामो समयदेखि स्वतन्त्र भएर एक्लै रमाएकी तिम्री आमा फेरि त्यो घरव्यवहारको झमेलामा टिक्लिन् र? ´´उनले आशङ्का जनाइन्।

जेठो बोल्यो, ``ऊ बेला स्वास्नीको कुरा सुनेर म बहकिएको थिएँ। आमालाई घरबाट खेदेको मलाई पाप लाग्यो। अब भने आमालाई दुख दिने छुइनँ। आमाबिनाको घरमा न शान्ति छ न सुख! ´´  

पोको बोकेर आमा आँगनमा निस्किइन्। केही वृद्ध बाहरू राजनीतिक बहस गरिरहेका थिए। सन्तानको  मिलन र संगिनीको बिछोडमा उनको पाइला दोधारमा अल्झियो।

उसै बेला आश्रमका कर्मचारीले बिदाइ गर्दै ठूलेलाई  भने, ``तँपाईले जस्तै हाम्रो देशको नयाँ सरकारले पनि नेपाल आमालाई  बुझेर राज  गरोस्। ´´

३) स्मरण

``चिचिलो भए पनि २/४ वटाले छाक टर्ने रहेछ।´´ भन्ने सोच्दै  करेसाबारीमा फलेका करेलाको लहरोमा हात पुर्याएँ।

एक्कासी आवाज आयो, ``हामी मुनालाई निमोठन पाइँदैन। ´´

म झसङ्ग भएँ। हात टक्क रोकियो। उसको प्रतिवादमाथि प्रश्न गरेँ, `` टिपेर खान भनेर नै त मालीले हाम्रा लागि रोपिदिएका थिए। तिमीहरू व्यर्थ किन झोक्किन्छौँ?´´

`` हामी असहय छौँ भन्दैमा तिम्रो मनलाग्दी सहदैनौँ।´´ उनीहरू कराए।

मैले आफ्नो स्वार्थ पोखेँ, ``भुटेर खाँदा मीठो हुने भनेर मेरो जिब्रोमा पानी आयो अनि के गरौँ त? ´´

उनीहरूले सम्झाउँदै भने, ``कम्तीमा हामीलाई ठूलो त हुन देऊ। एउटाले नै एक छाक पुग्ने हुन्छ। गुनिलो पनि हुनेछौँ। बेकारमा आफ्नो फाइदामा किन लात मार्छौ? ´´

``आ...! यिनका कुरा कसले सुनोस्? इच्छा र रहर त लागेकै बेला पूरा गर्ने हो नि! ´´ भन्ने सोच्दै  तिनलाई  निमोठेँ।

उनीहरूको कोलाहल कानभरि गुञ्जियो। अचानक मेरो दिमाग दौडिएर भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनमा गएर ठोक्कियो।

बेस्सरी कराएँ, ``ऐया!´´

प्रकाशित: २८ चैत्र २०८२ ०८:१० शनिबार