षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को सार्वजनिक भएको पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ लाई धेरै दर्शकले रुचाएका छन्। उक्त गीतले छोटो समयमै युट्युबमा लाखौं भ्यूज बटुल्न सफल भएका छन्।
गीतमा अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाले गरेको नृत्यको चर्चा सामजिक सञ्जालमा बढ्दै छ। उनीहरूले गीतमा गरेको स्टेपलाई अहिले टिकटक भिडिओ, फेसबुक रील्समा हुबहु नृत्य गर्ने र भिडिओ बनाउने प्रयोगकर्ता बढेका छन्। ती सञ्जालमा एक्टिभ रहेका प्रयोगकर्तासँगै कन्टेन्ट क्रिएटरको रोजाइमा समेत ‘मायालाई के दिउँ म बैना’ परिरहेको छ।
टिकटकमा हजारौं भिडिओ बनेका छन्, जहाँ समाइरा र स्वस्तिमाको नृत्यको प्रशंसा भएका शब्दहरू देख्न सकिन्छ। प्रयोगकर्ताहरूले समाइरा र स्वस्तिमाको नृत्य शैली र गायकगायिकाको आवाजको खुलेर तारिफ गरेका छन्। उनीहरूले फिल्ममा लोकभाकाको प्रयोग गरिएको भन्दै निर्माण समूहलाई धन्यवाद पनि दिएका छन्।
अभिनेत्री खड्काले उक्त गीत निर्माणको विषयमा कुराकानी गर्दै गीतको तयारी दृश्यकै छायांकनको बीचबीचमा गरिएको बताइन।
उनले भनिन्, ‘हामीले दृश्य छायांकन गर्दा बचेको समयमा नृत्यको प्राक्टिस गर्थ्याैं। हाम्री बालकलाकार समाइराले गजब नृत्य गरेकी छन्। उनको कामले पनि मलाई प्रेरणा मिल्थ्यो। यी सानी नानीले गजब गरेकी छन्। मैले पनि मेहनत गर्नुपर्छ भन्ने लाग्थ्यो। हामी सबैको प्रयासले गीत राम्रो बन्यो र अहिले दर्शकले रुचाएको पाउँदा मेहनतको फल पाएको आभाष भएको छ।'
उक्त गीतलाई प्रदीप लामाले कोरियोग्राफी गरेका छन्। गीतमा दीपिका बयाम्बु मगर र खेम सेन्चुरीको स्वर छ। खेम सेन्चुरीकै सङ्गीत रहेको उक्त गीत रमेश बिजीले लेखेका हुन्।
गायिका दीपिकाले यसअघि गाएको ‘कश्मिरे पछ्यौरी दार्जलिङको रेल’ गीत दर्शकमाझ निकै लोकप्रिय बनेको थियो।
फिल्मको प्रदर्शन आउँदाे वर्ष २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ। बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी,प्रदीप ढकाल, जेवी रुवाली, हारुन अली, भूमिका थारु, सागर घिमिरे, झकेन बिसी, कुन्टल लगायतको अभिनय छ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दै छन्। विशाल थियटरमा काम गरिरहेका कलाकार हुन् भने प्रशंसा जेन-जी अभिनायताका रूपमा चर्चित छिन्।
निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। निर्देशक थापाले कथाको परिवेशअनुसार गीत तयार गरिएको बताए।
‘यो गीत कथासँग जोडिएर आएको छ। हामीले यसलाई कथाभन्दा फरक नबनाएर कथालाई अगाडि बढाउने गरी तयार गरेका छौँ। अहिले गीतलाई दर्शकले दिएको मायाले हामी हर्षित छौँ’, निर्देशक थापाले भने।
फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।
फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट) कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको छ।
प्रकाशित: ३ चैत्र २०८२ १२:२३ मंगलबार