कला/साहित्य

‘मितज्यू’ को ‘गैराघरे काँइली’ लाई दर्शकको साथ

एक साता नपुग्दै ११ लाख भ्युज

जनक घर्ती मगरले निर्माण गरेको फिल्म ‘मितज्यू’ को ‘गैराघरे काँइली’ को चर्चा चुलिएको छ।

यस गीतलाई युटुवमा रिलिज गरेको छोटो समयमा नै ११ लाख भ्युज कमाउन सफल भएको छ। यो फिल्मको प्रचारप्रसारको लागि रिलिज भएको पहिलो गीत हो।

गीतले छोटो समयमा नै ११ लाख भ्युज बटुलेपछि निर्माण पक्ष उत्साहित छन्। निर्माता मगरले आफ्नो फिल्मको यति धेरै पटक हेरेर साथ दिएकोमा सबैलाई धन्यवाद दिएका छन्।

उनी भन्छन्,‘हाम्रो चलचित्र मितज्यू को गीत ‘गैराघरे काँईली’ लाई युट्यूबमा ६ दिनमा १० लाख भन्दा बढि पटक हेरिदिनुहुने यहाँहरू सम्पूर्णलाई धेरैधेरै धन्यवाद।’

यो समाचार तयार पार्दासम्म गीतलाई २४ हजारभन्दा धेरैले लाइक गरेका छन्। साथै १३ सय भन्दा धेरैले कमेन्ट गरेका छन्। जसमा अधिकांशले गीत र कलाकारको प्रशंसामा समय खर्चिएका छन्।

कमेन्टकर्ता अनिल एकले तेरिया मगरको डान्स मन परेको उल्लेख गरेका छन्। उनी लेख्छन्,‘तेरिया मगरका फ्यान सबै यता लाइक गरम् है।’

अधिकांशले कलाकारहरूको अभिनयमा तारिफ खर्चिएका छन्। जसमा सौगात मल्लको अर्को रूप देख्न पाइयो भन्दै दर्शक उत्साहित बनेका छन्। एकै खाल्को भूमिका दिएको भन्दै आलोचनामा पर्ने गरेको सौगातलाई यस गीतमा देखेको रूपमा भने दर्शकले फरक स्वाद पाउने अपेक्षा गरेका छन्। विष्णु भिसम लेख्छन्,‘सौगात दाइको अर्को रूप देख्न पाइयो।’

दर्शकको सकरात्मक कमेन्टले पनि निर्देशक अनि बुढा मगर दंग छन्।

सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई प्रस्तुत गरिएको छ। जसमा सौगात मल्ल र तेरियाले लोकलयको गीतमा गाउँले पहिरनमा नै नाचेका छन्। जुन गीतमा सौगात र तेरिया नाचेका छन्। दयाहाङ भने उक्त गीतमा कथाअनुसार प्ले गरिएको देख्न सकिन्छ।

यस गीतलाई श्रीकृष्ण बम मल्ल र मेलिना राईले गाएका छन्। साथै यस गीतमा शब्द र संगीत पनि गायक मल्लकै रहेको छ। मिङ्मा डि लेप्चाको कोरियोग्राफी रहेको यस गीतलाई दर्शकले अत्यधिक रुचाएका छन्।

अनिल बुढा मगरको निर्देशन,जनक घर्ती मगरको लगानी रहेको यस फिल्ममा फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ।

यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मको सम्पादक लोकश बज्राचार्य र छायाकार शिशिर बिशंखे हुन्।

फिल्मको मुख्य सहायक निर्देशकको जिम्मा फिरोज खड्काको छ। सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई छन्। प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर र प्रतीक्षा भाट क्षेत्री हुन्।

फिल्मको द्वन्द्व निर्देशन प्रभात विष्ट, साउन्ड डिजाइनर नवीन श्रेष्ठको छ। साथै फिल्मका गीतमा संगीत श्रीकृष्ण बम मल्लले दिएका छन् भने फिल्मका गीतमा संगीतकार मल्ल, मेलिना राई र लक्ष्मी मल्लले गाएका छन्।

आरआर फिल्म्स वितरक रहेको यो फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ। फिल्म आउँदाे जेठ ८ गतेबाट नेपालभरका हलमा प्रदर्शनमा आउँदैछ।

प्रकाशित: १५ चैत्र २०८२ १०:१३ आइतबार