कला/साहित्य

दर्शकहरूको रोजाइले आकासियाे ‘परान’ काे कमाइ

वक्स अफिस सरप्राइज बनेर आएको ‘परान’ आफ्नो अभूतपूर्व रिलिजको तेस्रो सातामा प्रवेश गरेको छ। तेस्रो साता प्रवेश गर्दै गर्दा यो भावनात्मक पारिवारिक सिनेमाले दुई सातामा ७ करोड ५० लाखमाथिको ग्रस व्यापार गर्न सफल भएको छ।

आफ्नो प्रदर्शनको तेस्रो सातामा फिल्मले प्राप्त शो संख्यासमेत राम्रो हाइप बनेको छ। फिल्मले शुक्रबार मात्रै देशभर २ सय १० शो प्राप्त गरेको छ। फिल्म हेर्न आउने दर्शकको फुटफलका कारण हलहरूले यो संख्यामा फिल्मलाई शो उपलब्ध गराएका हुन्। अझै यही संख्याको शो जारी रहने अपेक्षा गरिएको छ।

नेपाली–हिन्दी गरी नयाँ ठूला फिल्म नभएकाले ‘परान’ ले वक्स अफिसमा लामो यात्रा तय गर्ने अनुमान नेपाली फिल्मीवृत्तले गर्दै आएको छ। फिल्मले रिलिज हुँदा ६४ शो मात्र पाएको थियो भने पहिलो दिन वक्स अफिसमा ६ लाख रुपैयाँको बिर्सनलायक ग्रस कलेक्सन गरेको थियो।

फिल्मले दर्शक र समीक्षकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। फिल्मले प्रस्तुत विषयले आम नेपाली परिवारको अवस्था चित्रण गर्ने भएकाले यो सिनेमा दर्शकहरूको रोजाइमा परेको हो।

प्रकाशित: २९ कार्तिक २०८२ १२:३१ शनिबार