कला/साहित्य

आर्यन र करुणाको प्रेमले भरिएको ‘बानी’ म्युजिक फिल्म सार्वजनिक

नेपाली सिनेमा क्षेत्रमा चकलेटी नायकका रूपमा परिचित आर्यन सिग्देलको नयाँ म्युजिकल फिल्म ‘बानी’ सार्वजनिक गरिएको छ।

अभिनय मात्र होइन, भावनात्मक अभिव्यक्तिमा केन्द्रित यो भिडियोले प्रेम, दूरी र बिछोडको कथा कलात्मक रूपमा प्रस्तुत गरेको छ। फिल्म ओएसआर डिजिटल युट्युव मार्फत सार्वजनिक गरिएको हो।

दिनेश क्षेत्रीको शब्द, संगीत र स्वरमा तयार ‘बानी’ को कन्सेप्ट पनि उनकै हो। ओएसआर डिजिटलबाट सार्वजनिक भिडियोमा आर्यनसँगै करुणा श्रेष्ठ रोमान्टिक भावमा देखिएका छन्।

भिडियोले नेपालको एक युवक र सिक्किमकी एक युवतीको प्रेम सम्बन्धलाई कथावस्तु बनाएको छ, जहाँ प्रेमपछि आउने उतारचढाव र वियोगान्त मोडले दर्शकलाई भावुक बनाउने प्रयास गरिएको छ। भिडियोमा आर्यनलाई फरक लुक्समा देख्न सकिन्छ। उनी रिसाहा र मायालु दुवै लुक्समा देखिएका छन्।

यसअघि सार्वजनिक पोस्टर र टिजरले चासो बढाएको ‘बानी’ मा संवाद लेखन दिनेश क्षेत्री र केशव भट्टराईले गरेका छन्। आर्यन र करुणासँगै सविन कट्टेल र सुस्मिता श्रेष्ठको अभिनयले कथालाई थप जीवन्त बनाएको छ।   

उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र सुव्रत आचार्यको निर्देशनमा तयार ‘बानी’ लाई प्रेमकथा मात्र नभई भावनात्मक म्युजिकल अनुभवका रूपमा प्रस्तुत गरिएको छ।

प्रकाशित: १४ पुस २०८२ १३:५१ सोमबार