कला/साहित्य

दीपाको जन्मदिनमा दीपकको भावुक स्टाटस : उनको साहस देखेर छक्क परेँ

कलाकार दीपकराज गिरीले अभिनेत्री तथा हाँस्यकलाकार दीपाश्री निरौलाको साहस र सकारात्मक सोचको प्रशंसा गरेका छन्।

दीपाको जन्मदिनको अवसरमा स्वास्थ्य तथा दीर्घायुको शुभकामना दिँदै उनले उक्त प्रशंसा गरेका हुन्। दीपाको मस्तिष्कको शल्यक्रियापछि देखाएको आत्मविश्वास र अरूलाई प्रेरणा दिने व्यवहारबारे भावुक हुँदै दीपकले सामाजिक सञ्जालमा लेखेका छन्, 'आज तिम्रो जन्मदिन, साँच्चिनै नयाँ जीवन प्राप्त गरेको साल, तिमीलाई सुस्वास्थ्य एवं दीर्घायूको कामना साथी।'

उनका अनुसार मस्तिष्कको कडा शल्यक्रियापछि केही घण्टामै होसमा आएकी दीपाले नर्सलाई आईसीयूमा आफ्नो शृंगार सामग्री मगाएर चिटिक्क परेकी थिइन्। त्यस क्रममा उनले आफू बिरामीजस्तो देखिन नचाहेको र आफूलाई देखेर अन्य बिरामीमा समेत ऊर्जा तथा बाँच्ने चाहना जागोस् भन्ने चाहना व्यक्त गरेको दीपकले बताएका छन्। 

‘म बिरामी जस्तो देखिनु हुन्न, मलाई देखेर अन्य बिरामीमा समेत ऊर्जा आउनुपर्छ, बाँच्ने चाहना जाग्नु पर्छ' भन्ने उनको यो वाक्य अझै पनि आफ्नो दिमागमा घुमिरहेको दीपकले जिकिर गरेका छन्।

दीपालाई ब्रेन ट्युमर भएको थाहा पाएपछि पनि उनले आफ्नो पीडाभन्दा चलचित्रका निर्माताहरूलाई अप्ठ्यारो नपरोस् भन्ने विषयलाई प्राथमिकता दिएको दीपकको भनाइ छ। उनले शल्यक्रियाको भोलिपल्टै आफ्ना पीडा बिर्सेर हाँस्दै अरूको रोकिएका कामहरू गरिदिएको स्मरण गरेका छन्।

दीपकका अनुसार शल्यक्रिया भएको १५–२० दिनमै दीपाले ‘कमेडी च्याम्पियनमा जाऊँ है’ भन्दै चलचित्रका रोकिएका काम सुरु गर्नुपर्ने बताएकी थिइन्। उनको यही साहस र आत्मविश्वासले आफूले यसअघि कहिल्यै नदेखेको फरक र साहसी दीपा देखेको दीपकले उल्लेख गरेका छन्।

‘जो सधैँ अरूकै बारेमा सोच्छिन्, आफ्ना पोल्टामा दुःख लुकाएर अरूलाई मुस्कान बाँड्छिन्,’ दीपकले दीपाको प्रशंसा गर्दै लेखे।

ब्रेन ट्युमर भएका, मस्तिष्कको शल्यक्रिया गरेका तथा कडा रोगसँग संघर्ष गरिरहेका मानिसहरूलाई दीपाको उदाहरण देखाएर जिजीविषा बढाउन प्रेरणा मिल्ने पनि उनले बताएका छन्। चलचित्र क्षेत्र र यसमा आबद्ध सबैलाई आफ्नो परिवारजस्तो ठान्ने दीपाजस्तो प्रिय साथी आफूले पाएकोमा भावुक हुँदै दीपकले आफूलाई गर्व लागेको बताएका छन्।

प्रकाशित: ७ भाद्र २०८३ ०७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App