बलिउडका मिस्टर परफेक्शनिस्ट अभिनेता तथा निर्माता आमिर खान आफ्नो आगामी फिल्म ‘एक दिन’ का कारण हाल चर्चामा छन्। उनको निर्माणमा रहेको फिल्म ‘एक दिन ‘ मा अरिजीत सिंहको स्वरमा पहिलो गीतको रेकर्डिङका लागि उनी प्रसिद्ध गायक अरिजीत सिंहको गृहजिल्ला मुर्शिदाबाद पुगेका थिए। आमिरले उनको गृहजिल्लामा चार दिनसम्म बसेर गीतको रेकर्डिङ प्रक्रियामा सहभागी भएका थिए।
आमिर खान प्रोडक्शंसनले हालै एक भिडियो सार्वजनिक गरेको छ, जसमा मुर्शिदाबादका पर्दा पछाडिका दृश्यहरू देखाइएको छ। भिडियोमा आमिर र अरिजीत गीतका प्रत्येक सुर र भाव ध्यानपूर्वक सुधार्दै गरेको देखिन्छ। अरिजीतको भावुक आवाजमा रहेको ‘एक दिन’ शीर्षक गीत अत्यन्तै मन छुने खालको बताइएको छ।
अरिजीत सिंहको फिल्मका गीतबाट सन्यास लिएको सम्बन्धी चर्चा चलिरहेका बेला आमिर स्वयं भेट्न जानु र फिल्मका लागि आग्रह गर्नुले उता भिडियोले झन् चर्चा पाएको छ। आमिरले सामाजिक सञ्जालमार्फत अरिजीतलाई धन्यवाद पनि व्यक्त गरेका छन्।
फिल्ममा आमिरका छोरा जुनैद खान र साई पल्लवी मुख्य भूमिकामा छन्। यस फिल्ममार्फत आमिरले निर्देशक मंसूर खानसँग लामो समयपछि पुनः सहकार्य गरेका हुन्।
यसअघि उनीहरूले कयामत से कयामत तक, जो जीता वही सिकंदर, र अकेले हम अकेले तुम जस्ता चर्चित फिल्ममा काम गरेका छन्।
फिल्मको निर्देशन सुनिल पाँडेले गरेका हुन् भने निर्माण आमिर खान, मन्सूर खान र अपर्णा पुरोहितले सम्हालेका छन्। ‘एक दिन’ १ मे २०२६ मा प्रदर्शन हुने बताइएको छ।
प्रकाशित: १२ फाल्गुन २०८२ १२:१२ मंगलबार