नेपाल एउटा यस्तो पावन तपोभूमि हो, जहाँ प्राचीन ऋषिमुनिहरूको दिव्य ज्ञान र आधुनिक विज्ञानको अभूतपूर्व संगम हुने प्रशस्त सम्भावना छन्। वास्तुको सामान्य अर्थ केवल एउटा ‘घर’ निर्माण गर्नु वा ‘बस्ने कोठा’को सजावट मिलाउनु मात्र होइन, यो त ऊर्जाको कुशल व्यवस्थापन र प्रकृतिसँगको लयबद्ध तालमेलको विज्ञान हो।
जब हामी राष्ट्रको समग्र समृद्धि र ‘समृद्ध नेपाल’को परिकल्पना गर्छौं, त्यहाँ केवल आर्थिक तथ्यांक र भौतिक पूर्वाधारको विकास मात्र पर्याप्त हुँदैन । राष्ट्रको ऊर्जा प्रवाह, भौगोलिक सन्तुलन र निर्माण गरिएका प्रशासनिक संरचनाहरूको प्रकृतिसँगको सूक्ष्म सम्बन्धले पनि मुलुकको उन्नतिमा अत्यन्त ठुलो भूमिका खेलिरहेको हुन्छ।
वास्तुशास्त्रको महत्त्वलाई प्रस्ट पार्दै ११ औं शताब्दीका प्रख्यात राजा भोज परमारले आफ्नो विश्वप्रसिद्ध ग्रन्थ ‘समराङ्गणसूत्रधार–वास्तुशास्त्रम्’को भवन–निवेश खण्डको प्रारम्भमै ऊर्जा र वास्तुको सम्बन्धलाई व्याख्या गर्नुभएको छ । उहाँका अनुसार सुख, धन, ऐश्वर्य र सन्तानको वृद्धि संसारका हरेक मानवलाई प्रिय लाग्छन् तर यी कुराहरूको प्राप्तिका लागि हाम्रो निवास र कार्यथलो ‘शुभ लक्षण’युक्त हुनु अनिवार्य छ । यदि हाम्रो वास्तु वा वरपरको वातावरण दोषपूर्ण छ भने यसले हाम्रा वर्षौंका उपलब्धिहरूलाई बिस्तारै क्षय (विघात) गर्दै लैजान्छ । अतः जीवनमा सकारात्मक ऊर्जाको सञ्चार गर्न वास्तुको शुद्धता र प्राकृतिक नियमको पालना अपरिहार्य छ।
वास्तुको व्यापकता: व्यक्तिगत भवनदेखि राष्ट्रसम्म
देशः पुरं निवासश्च सभा वेश्मासनानि च।
यद्यदीदृशमन्यच्च तत्तच्छ«ेयस्करं मतम् ।।
वास्तुशास्त्रादृते तस्य न स्याल्लक्षणनिश्चयः।
तस्माल्लोकस्य कृपया शास्त्रमेतदुदीर्यते ।।
(स.सू.वा. १/४–५)
अर्थात्, देश, नगर, निवास, सभा, भवन र आसनजस्ता जति पनि उपयोगी वस्तुहरू छन्, ती सबै कल्याणकारी मानिन्छन् । तर वास्तुशास्त्रको ज्ञानबिना यिनको सही लक्षण र योग्यताको निर्णय हुन सक्दैन । त्यसैले लोककल्याणको भावनाले यो शास्त्र व्याख्या गरिँदै छ । यसको अर्थ हो– वास्तुशास्त्रले केवल एउटा घरलाई मात्र होइन, देश (राष्ट्र), पुर (नगर), निवास (बस्ती), सभा (संसद् वा कार्यपालिका) र आसन (अधिकारको कुर्सी) सम्मलाई समेट्छ।
विश्व भूगोलमा वास्तुको प्रभाव: सफल उदाहरणहरू
भौगोलिक वास्तुको विषयमा राजा भोजले आफ्नो ग्रन्थमा उल्लेख गर्नुभएको छ:
ईशान पूर्व प्लावनी मध्यस्थान समुन्नतः ।
उत्तमः कीर्तितो देशो गृहायच नगराय च ।।
अर्थात्, पूर्व तथा ईशान (उत्तर–पूर्व) कोणमा झुकेको, बिचमा उठेको भूखण्ड उत्तम श्रेणीको भूखण्ड हो र यस्तो भूखण्डमा स्थित देश, सहर एवं घर कीर्तिदायक हुन्छन्।
विश्वका विकसित देशहरू र सहरहरूको भौगोलिक वास्तु र समृद्धिको गहिरो सम्बन्ध देखिन्छ । विश्वको भूगोल नियालेर पढ्ने हो भने वास्तुको दृष्टिकोणले उपयुक्त ठाउँहरू अरू क्षेत्रका तुलनामा बढी उन्नत र विकसित देखिन्छन् । ती भूभागमा बस्ने मानिसहरूको जीवनमा पनि यसको प्रभाव प्रत्यक्षतः देखिन्छ।
अमेरिका (न्युयोर्क र वासिङ्टन डिसी): यी सहरहरूको पश्चिम र दक्षिणमा अपलाचियन पहाड तथा उत्तर र पूर्वमा एटलान्टिक महासागर पर्छ । वास्तुअनुसार दक्षिण–पश्चिम उँचो र उत्तरपूर्व होचो हुनु समृद्धिको सूचक हो।
जापान (टोकियो): जापानको पहिलेको राजधानी ‘क्योतो’ थियो (उत्तर उँचो, दक्षिण भिरालो) । पछि राजधानी ‘टोकियो’ सारियो । टोकियोको पूर्वमा गहिरो प्रशान्त महासागर छ । यो वास्तु अनुकूल परिवर्तनले जापानको आर्थिक कायापलट हुँदै गएको बुझिन्छ।
चीन (बेइजिङ): चीन र बेइजिङको उत्तर दिशाको तुलनामा दक्षिण–पश्चिमतर्फ सर्वाधिक अग्लो भूभाग (हिमालय तथा उच्च सगरमाथाको भाग) पर्छ । दक्षिण–पश्चिम भारी र उँचो हुनु वास्तुमा शक्ति र स्थिरताको प्रतीक हो।
भारत (दिल्ली): राजधानी दिल्लीको ‘कनट प्लेस’ र प्रशासनिक क्षेत्रको दक्षिण उँचो हुँदै गएको छ र पूर्वमा यमुना नदी बग्छ, जुन उत्तम वास्तु स्थिति हो।
विश्वका अन्य समृद्ध सहरहरूको भौगोलिक वास्तुको अध्ययन गर्दा पनि धेरै हदसम्म यो नियम सत्य भएको पाइन्छ।
नेपालको भौगोलिक वास्तु स्थिति
संसारकै सबैभन्दा अग्लो सगरमाथा रहेको भूभाग हाम्रो देशमा पर्नु अति राम्रो वास्तु अवस्था मान्न सकिन्छ तर पूर्वदेखि पश्चिमसम्म उत्तरमा अग्ला हिमाल, बिचमा पहाड र दक्षिणमा भिरालो हुँदै बनेको तराईको समथर भूखण्डले समग्रतः वास्तु विपरीत भौगोलिक स्थितिलाई बुझाउँछ । हाम्रो देशजस्तै सामाजिक–आर्थिक विकासमा पछाडि परेका विश्वका अरू देशको पनि यस्तै विपरीत प्रकारको भौगोलिक स्थिति देखिन्छ । कुनै पनि देशको भौगोलिक स्थिति र त्यहाँका मुख्य प्रशासनिक केन्द्रहरूको बनावटले त्यस देशको भविष्य, निर्णय क्षमता र त्यहाँका नागरिकको सामूहिक मानसिकता निर्धारण गर्छ।
प्रमुख संरचनाहरूमा सुधारको आवश्यकता
हामी देशको सिमाना वा प्राकृतिक भौगोलिक बनावटलाई परिवर्तन गर्न सक्दैनौं । हामीले प्रयोग गरिरहेका प्रमुख शक्ति केन्द्रहरू र सार्वजनिक संरचनाहरूको वास्तु सुधार गरेर यसको नकारात्मक प्रभावलाई निश्चित रूपमा कम गर्न भने सक्छौं।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले निर्वाचनताका एक अन्तर्वार्तामा वास्तु र ज्योतिषशास्त्र सत्य भएको र आफूले भारतमा इन्जिनियरिङ पढ्दासमेत यसको अध्ययन गरेको कुरा बताउनुभएको थियो । अब केवल व्यक्तिगत विश्वासमा मात्र सीमित नभई राष्ट्र निर्माणमा सहजै सम्भव हुन सक्ने वास्तु सिद्धान्तका वैज्ञानिक पक्षहरूलाई नीतिगत रूपमै आत्मसात् गर्न जरुरी देखिन्छ।
नेपालका केही प्रमुख स्थानहरूमा देखिएका वास्तुदोषहरू र तिनको सुधारका लागि निम्न पक्षमा ध्यान दिनु राष्ट्रहितमा हुनेछ–
पशुपतिनाथ मन्दिरको नैऋत्य द्वार: राष्ट्रदेव मानिएका पशुपतिनाथ मन्दिरको दक्षिण–पश्चिम (नैऋत्य) कुनामा करिब दुई दशकअघि एउटा नयाँ द्वार निर्माण गरिएको छ । वास्तुअनुसार नैऋत्य कोण ‘पृथ्वी तत्त्व’ को केन्द्र हो र यो स्थिरताको प्रतीक हो । यस स्थानमा द्वार वा खुला भाग हुनुले ऊर्जाको सन्तुलन बिगार्ने र देशमा राजनीतिक एवं सामाजिक अस्थिरता निम्त्याउने वास्तुविद्हरूको तर्क छ । यसलाई शास्त्रीय मान्यताअनुसार सुधार गर्नु राष्ट्रिय शान्तिका लागि हितकर हुनेछ।
नारायणहिटी र दशरथ रंगशाला: २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भएको नारायणहिटी दरबारका पनि अधिकांश प्रमुख द्वारहरू अति गलत स्थानमा रहेको देखिन्छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको पनि पहिलेदेखिको मूल प्रवेशद्वार पशुपति मन्दिर र राजदरबारजस्तै दक्षिण–नैऋत्य दिशामै रहेको बुझिन्छ।
सिंहदरबार र प्रधानमन्त्री निवास: देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र प्रधानमन्त्रीको निवास (क्वार्टर)लाई पूर्णतया वास्तु अनुकूल बनाउनु जरुरी छ । नेतृत्व गर्ने व्यक्तिको निवासमा ऊर्जा सन्तुलित नहुँदा निर्णय प्रक्रियामा सुस्तता, द्विविधा र मानसिक तनाव उत्पन्न हुन सक्छ । निम्न कोटिमा रहेका मुख्य द्वारहरूलाई पूर्व वा उत्तरतर्फका ‘उच्च पद’हरूमा मिलाउन सकेमा राज्यका निर्णयहरूमा गतिशीलता र स्पष्टता आउँछ।
न्यायालय र अख्तियार: कानुन र न्यायसँग सम्बन्धित निकायहरूमा द्वारको दिशा र प्रमुखको आसन नमिल्दा न्याय सम्पादनमा अवरोध आउने र सुशासनमा ढिलाइ हुने सम्भावना रहन्छ। यी निकायहरूलाई ऊर्जावान् बनाउन वास्तु परिमार्जन एउटा प्रभावकारी कदम हुन सक्छ।
संघीय संसद् भवन: एक गम्भीर वास्तु विश्लेषण
राष्ट्रको कानुन बनाउने सर्वोच्च थलो संघीय संसद् भवनको निर्माणका सन्दर्भमा केही गम्भीर वास्तु र ज्योतिषीय त्रुटिहरू औंल्याइएका छन् । २०७६ असोज १ गते सिंहदरबार परिसरको उत्तरतर्फ पुतली बगैंचामा यसको शिलान्यास गरिएको थियो । त्यो दिन ज्योतिषीय दृष्टिले नयाँ गृह निर्माणका लागि वर्जित एवं निन्दनीय मानिने असोज महिना, शुक्र अस्त, आश्विन सङ्क्रान्ति, पितृपक्ष, रिक्ता तिथि, भद्राले युक्त र अधोमुखी नक्षत्र (भरणी) परेको दिन शिलान्यास हुनु कदापि शुभ संकेत मानिँदैन।
६ अर्बभन्दा बढीको लगानीमा बनिरहेको यो भवन पाँच पटकसम्म म्याद थप्दा पनि अझै पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन । वास्तुशास्त्रअनुसार संसद् भवनले पूरै सिंहदरबार परिसरको उत्तर दिशालाई थिचेको देखिनु पनि नकारात्मक मानिन्छ किनकि शास्त्रअनुसार उत्तर र ईशान दिशा सधैं हलुका र खुला हुनुपर्छ । यस्तो अवस्थामा विधिपूर्वक वास्तुशान्ति पूजा, हवन र ऊर्जा सन्तुलनका उपायहरू नगरी भवन सञ्चालनमा ल्याउनुले राष्ट्रिय नीति निर्माणमा अन्योल र व्यवधान थपिन सक्छ।
वास्तुशास्त्र कुनै अन्धविश्वास होइन । यो त ‘जियो–बायोलोजी’ र ‘आर्किटेक्चर’को परिष्कृत स्वरूप हो । यसले सौर्य ऊर्जा, पृथ्वीको चुम्बकीय क्षेत्र र वायुको बहाबलाई कसरी मानिसको हितमा प्रयोग गर्ने भन्ने सिकाउँछ । ऋग्वेदको सातौं मण्डलमा महर्षि वशिष्ठले वास्तुदेवसँग सबैको कल्याण र रोगमुक्तिको प्रार्थना गर्नुभएको छ । यसले के पुष्टि गर्छ भने हाम्रो वातावरण शान्त र ऊर्जावान् भएमा मात्र हामीले सुख र आरोग्य प्राप्त गर्न सक्छौं ।
अध्यात्मरहित विज्ञानले विनाश निम्त्याउँछ भने विज्ञानरहित अध्यात्मले भ्रम । नेपालको समृद्धिका लागि भौतिक पूर्वाधारको विकास मात्र पर्याप्त छैन, ती पूर्वाधारहरूमा सकारात्मक ऊर्जाको सञ्चार हुनु पनि उत्तिकै जरुरी छ । वर्तमान समयमा हाम्रा नयाँ बन्ने सहरहरू, सरकारी कार्यालयहरू र निजी निवासहरूलाई प्राचीन वास्तुशास्त्रका सूत्रहरू, जस्तै सूर्य ऊर्जाको उपयोग, चुम्बकीय दिशाको सम्मान र पञ्चतŒवको सन्तुलनसँग जोडेर निर्माण गर्नुपर्छ।
जब हाम्रा शक्ति केन्द्रहरू वास्तुसम्मत र ऊर्जावान् हुनेछन्, तब मात्र नीति र नेतृत्वमा स्पष्टता आउनेछ र देशले समृद्धिको वास्तविक स्वाद चाख्न पाउनेछ । अतः हाम्रा पूर्वजहरूले छोडेर गएका यी अमूल्य ज्ञानलाई संकुचित सोचबाट माथि उठेर आत्मसात् गर्नु नै आधुनिक नेपालको हितमा हुनेछ । वास्तु सुधारबाटै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई सार्थक बनाउन सक्छौं । जब घर र देशको जग वास्तुसम्मत हुन्छ, तब मात्र प्रगतिको आकाश सुरक्षित हुन्छ।
प्रकाशित: ९ जेष्ठ २०८३ ०९:०७ शनिबार