बलिउड अभिनेता अनुपम खेर अयोध्यास्थित श्रीराम जन्मभूमि मन्दिरमा भएको चोरी तथा आर्थिक अनियमितताबारे दिएको अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा आलोचनाको सामना गरिरहेका छन्। इंडिया टुडोलाई दिएको एक अन्तर्वार्तामा उनले मन्दिरमा २ देखि ७ करोड भारतीय रुपैयाँसम्मको भनिएको अनियमिततालाई इतिहासका ठूला घटनासँग तुलना गर्दै सानो कुरा भनेका थिए।
अन्तर्वार्ताका क्रममा अनुपम खेरले यस विषयलाई अनावश्यक रूपमा ठूलो बनाइएको बताए। उनका अनुसार इतिहासमा मुगल शासकहरूले मन्दिरहरू भत्काएको, लुटपाट गरेको र महिलाहरुमाथि अत्याचार गरेको घटनाहरू धेरै गम्भीर थिए। त्यसको अगाडी यी घटना सानो हो उनले उल्लेख गरेका थिए। उनले ती ऐतिहासिक घटनाहरूको तुलनामा अहिलेको चोरीको आरोप निकै सानो विषय भएको टिप्पणी गरेका थिए।
उनको यो अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरै प्रयोगकर्ताले आलोचना गरेका छन्। केहीले विगतका ऐतिहासिक घटनाको उदाहरण दिएर वर्तमानमा भएको भनिएको भ्रष्टाचार वा आर्थिक अनियमिततालाई सामान्य बनाउन नहुने बताएका छन्। अन्यले कुनै पनि प्रकारको आर्थिक अनियमितताको निष्पक्ष छानबिन हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
विवाद बढिरहेका बेला अनुपम खेरले आफ्नो इन्स्टाग्राम स्टोरीमा एउटा सन्देश साझा गर्दै लेखे, ूइमानदार व्यक्तिको सबैभन्दा ठूलो सम्पत्ति उसको निडरता हो। जसको मनमा कुनै चोरी छैन, उसको नजर कहिल्यै झुक्दैन। त्यसपछि उनले अर्को पोस्टमार्फत सबैलाई खुसी पार्ने प्रयासभन्दा आफ्ना मूल्य र सिद्धान्तमा अडिग रहनु महत्त्वपूर्ण हुने बताएका छन्।
राम मन्दिरमा भएको भनिएको चोरी तथा आर्थिक अनियमितताको विषय पहिलोपटक ७ जुन २०२६ मा सार्वजनिक भएको थियो। त्यसपछि उत्तर प्रदेश सरकारले विशेष अनुसन्धान टोली गठन गरेका थियो। २५ जुनमा यस सम्बन्धमा एफआईआर दर्ता गरिएको र अनुसन्धानका क्रममा आठ जनालाई पक्राउ गरिएको बताइएको छ।
यसैबीच अनुपम खेर आफ्ना आगामी चलचित्रहरूमा पनि व्यस्त छन्। उनी चाँडै ‘खोसला का घोसला २’ मा देखिनेछन्। साथै, अयोध्याको राम मन्दिरको इतिहास र निर्माणमा आधारित चलचित्रमा पनि अभिनय गरिरहेका छन्।
प्रकाशित: २९ असार २०८३ १७:२७ सोमबार