कला/साहित्य

ब्रह्मयोगमा अन्तर्वीणा

अध्यात्म

बेलाबेलामा हामीले जसरी सहयोगको अपेक्षा गरिरहेका हुन्छौं, त्यस्तै अरूले पनि सहयोगको अपेक्षा गरिरहेका हुन्छन्। अरूलाई सहयोग गर्नु  अध्यात्मको महत्त्वपूर्ण आयाम हो । सहयोगको भावना हाम्रो चेतनाको विकासका लागि पनि शुभ हुन्छ ।

मानवीय समस्त आवश्यकतालाई तीन भागमा बाँडिएको छ - शारीरिक, मानसिक र आध्यात्मिक।

शारीरिक: यसमा वास, गास अनि कपासको आवश्यकता हुन्छ। यो अति आवश्यक कुरा हो। यसको अभावमा जीवन चलाउन गाह्रो हुन्छ।मानसिक: यसमा शान्ति, सुरक्षा, सहयोग, सम्मान र स्वास्थ्यको कामना हुन्छ। जीवनका लागि यो पनि आवश्यक छ।

आध्यात्मिक: यसमा परमशान्ति, आन्तरिक आनन्द अनि परमसत्यको कामना आउँछ। सामान्य भाषामा यसलाई मोक्ष पनि भनिन्छ। पूरै विश्वमा सनातन धर्ममा मात्र मोक्ष प्राप्तिका लागि प्रयास गरिन्छ।

हामी सबै आआफ्नो क्षमता र कर्मअनुसार यस जीवनका आवश्यकताहरूलाई कम वा बढी पूरा गर्दै जीवनयात्रा गर्दै जान्छौं तर हामीले सरल र सन्तुलित जीवन नै जिउनुपर्छ।

पहिलो र दोस्रो आवश्यकता धेरै उपयोगी र आवश्यक छन्। जसरी पनि यसलाई प्राप्त गर्नुपर्छ। यसको प्राप्तिको क्रममा धैर्य वा इमानदारी राखिएन भने मानिस असत्यको बाटोमा लागिहाल्छ। यस्तो गलत कार्यले जीवनलाई झन् कठिन स्थितिमा पुर्‍याउँछ।

तेस्रो आवश्यकता अन्तिम र प्रमुख आवश्यकता हो। यसलाई प्राप्त गर्नका लागि केही खास गर्नुपर्दैन। जसले पनि यसलाई प्राप्त गर्न सक्छ। शिक्षा, जाति, उमेर, धर्म वा स्थानसँग यसको सम्बन्ध छैन। यसका लागि मात्र आस्था, समर्पण र विश्वासको आवश्यकता हुन्छ।

पूरै विश्वका धेरै ठाउँमा धेरै योगी, सन्त, महात्मा, ज्ञानी र आध्यात्मिक मानिसहरू बेलाबेलामा जन्म लिइरहन्छन्। यिनीहरूको काम समाजमा ज्ञानको प्रकाश दिनु हो। समाजमा ज्ञानको प्रकाश फैलाउनमा यिनीहरूको विशेष योगदान देखिएको छ। तेस्रो अर्थात् आध्यात्मिक आवश्यकतालाई बुझ्नका लागि अध्यात्मको विज्ञान बुझ्नुपर्छ।

हामीहरू जहिले पनि धर्म र अध्यात्मबारे सुनिरहेका हुन्छौं। हामीले याद राख्नुपर्छ कि धर्म र अध्यात्म दुईवटा कुरा हुन्। हुन त दुवैको काम एउटै हो।

जसरी हजारौं रुपैयाँको मैनबत्ती पनि सलाईबिना बाल्न सकिँदैन, त्यस्तै आध्यात्मिक ज्ञानबिना मानव जीवनमा उज्यालो आउन सक्दैन। यसैले मानव जीवन प्राप्त गरेपछि अध्यात्मको रहस्य बुझ्नुपर्छ।

अध्यात्मका आठवटा आयाम छन्:  आनन्द, मृत्यु, क्षमा, सहयोग, अतिकायव भाव, करुणा, अहोभाव, ध्यानसाधना।

आनन्द:  जीवन भनेको आनन्द हो। मानव जीवनको प्रत्येक कामनाको मूलमा आनन्दप्राप्ति नै हो। उपनिषद्का अनुसार आनन्दबाट हाम्रो जन्म हुन्छ। आनन्दकै लागि हामी बाँचिरहेका छौं र अन्तमा आनन्दको महासागरमा विलीन भइहाल्छौं। जहिले पनि हामीले आनन्द चहिरहेका हुन्छौं।

एकछिनका लागि पनि हामीलाई दुःख र तनाव राम्रो लाग्दैन। हामीले यो हेर्नुपर्छ कि आनन्दप्राप्तिमा रुकावट कहाँ छ। जब हामीलाई यो कुरा थाहा हुन्छ, त्यसपछि आफैं आनन्दको स्रोत खुलिहाल्छ।

मृत्यु:  जीवनको परम सत्य मृत्यु हो। मृत्यु किन हुन्छ ? किनकि हाम्रो जन्म भएको छ। जन्म हुने बेलामै हामी फिर्ती टिकट लिएर आएका हुन्छौं। कति दिन हामी यस पृथ्वीमा रहन्छौं, थाहा छैन तर एक दिन रहँदैनौं भन्ने कुरा हामीलाई थाहा छ। त्यसैले मृत्युलाई स्वीकार गर्नैपर्छ। काम, क्रोध, लोभ, मोह, ईष्र्या र द्वेष मानवका असली शत्रु हुन्। मृत्युको आत्मबोध भयो भने यी शत्रुहरू आफैं प्रभावहीन भइहाल्छन्।

क्षमा:  मानव जीवनमा जानीनजानी गल्ती भइरहेकै हुन्छ। हामीले एकअर्कालाई क्षमा गरेनौं भने सबै सम्बन्ध खराब हुन्छन्। अन्तमा हामी एक्लो भइहाल्छौं। कहिलेकाहीं हामीलाई क्षमा गर्न गाह्रो लाग्छ तर क्षमा गरिदियो भने दुवैका लागि कल्याणकारी हुन्छ। हामीले गल्ती गर्दा क्षमा पाएपछि राम्रो लाग्छ। त्यस्तै अरूले पनि क्षमाका लागि प्रयास गरिरहेका हुन्छन्। यस कारण बेलाबेलामा क्षमा गर्दै जीवनको यात्रा गर्नुपर्छ।

सहयोग: बेलाबेलामा हामीले जसरी सहयोगको अपेक्षा गरिरहेका हुन्छौं, त्यस्तै अरूले पनि सहयोगको अपेक्षा गरिरहेका हुन्छन्। अरूलाई सहयोग गर्नु अध्यात्मको महत्त्वपूर्ण आयाम हो। सहयोगको भावना हाम्रो चेतनाको विकासका लागि पनि शुभ हुन्छ।

गुनासो:  गुनासो गर्ने भावनाका कारण व्यक्तित्व विकासको मार्ग रोकिन्छ। यो आत्मकल्याणका लागि पनि राम्रो हुँदैन। यस कारण छिटोभन्दा छिटो गुनासो गर्ने प्रवृत्तिमाथि अंकुश लगाउनुपर्छ। नेतृत्वकलाका लागि पनि हामीले यो कुरा याद राख्नुपर्छ।

करुणा:  अध्यात्मको परम सूत्र हो– करुणाभाव। आन्तरिक शक्तिका लागि पनि करुणाभाव राख्नुपर्छ। जसरी हामी आआफ्नो परिवारप्रति करुणाको भाव राख्छौं, त्यस्तै सबैप्रति यस्तो भाव राख्यौं भने मात्रै हामीहरूको कल्याण र शुभ हुन्छ।

अहोभाव:  धन्यवादभन्दा अहोभाव धेरै माथिको भाव हो। मानिसहरू धन्यवाद दिनमा पनि कन्जुस्याइँ गर्छन्। अहोभावको त कुरा नगरौं। हामीले प्रकृति र समाज सबैप्रति अहोभाव राख्नुपर्छ।

ध्यानसाधना:  माथिका सबै गुणहरू विकसित गर्नका लागि ध्यान साधनाको अभ्यासले हामीलाई सहयोग गर्छ। मोक्षप्राप्ति र मानव जीवनको रहस्य बुझ्नका लागि पनि ध्यान साधनाको अलावा अर्को कुनै विकल्प छैन।

ब्रह्मसूत्र ध्यानविधि

यहाँ म एउटा धेरै उपयोगी ध्यानविधि बताउन गइरहेको छु। पाँच वर्षभन्दा माथिका सबैले यसको अभ्यास गर्न सक्छन्।

प्रातःकाल नित्यक्रियाबाट निवृत्त भएर सुखासन वा पद्मासनमा बस्नुहोस्। स्थिर भएर लगातार १४ मिनेटसम्म बसिरहनुहोस्। यसरी बसेर ७ मिनेटसम्म ॐको उच्चारण गर्नुहोस् र बाँकी ७ मिनेटसम्म चुप लागेर बस्नुहोस्। यस क्रममा लामो र गहिरो श्वास लिने र छोड्ने गर्नुहोस्। अन्तमा बिस्तारै आँखा खोल्नुहोस् र ध्यानबाट बाहिर आउनुहोस्।

यो ध्यानविधिको अभ्यास गरेर तपाईंले मात्र १४ दिनमा यसको प्रभाव प्राप्त गर्न सक्नुहुन्छ। 

प्रकाशित: २८ कार्तिक २०८३ ११:५७ शनिबार