कला/साहित्य

‘हाम्रो लघुकथा केन्द्र’ले सम्झियाे ४ अग्रज स्रष्टा

नव वर्ष २०८३ को पूर्वसन्ध्यामा ‘हाम्रो लघुकथा केन्द्र’ ले लघुकथा स्रष्टा सम्मानको घोषणा गरेको छ।

केन्द्रका अध्यक्ष डा. शेखरकुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त सम्मानको निर्णय गरेको हो। विज्ञप्ति अनुसार केन्द्रले ‘हाम्रो लघुकथा केन्द्र–२०८२’ सम्मानबाट काठमाडौँ-३२ जडीबुटीका महेश प्रसाईं, ‘हाम्रो लघुकथा समालोचना सम्मान-२०८२’ बाट सिद्धार्थनगर–७ भैरहवाका प्राडा कपिल लामिछाने, ‘हाम्रो लघुकथा नारी सम्मान-२०८२’ बाट कपन, काठमाडौँका गङ्गा कर्माचार्य पौडेल र हाम्रो लघुकथा केन्द्र ‘योगनाथ बास्तोला लघुकथा सम्मान-२०८२’ बाट इनरुवा–९ बबिया, सुनसरीका रमेन्द्र कोइरालालाई सम्मान गर्ने निर्णय गरेको छ।

साहित्यकार किशोर पहाडी, जयदेव भट्टराई र केन्द्रका सहसचिव मिसु श्रेष्ठ सदस्य सचिव रहेको सम्मानित स्रष्टा छनोट समितिले गरेको सिफारिसका आधारमा केन्द्रले स्रष्टा सम्मान गर्न लागेको हो।

उक्त पुरस्कारको राशिमध्ये ‘हाम्रो लघुकथा केन्द्र - २०८२’ र ‘हाम्रो लघुकथा समालोचना सम्मान - २०८२’ रकम रुपियाँ ११,१११/–छन्। ‘हाम्रो लघुकथा नारी सम्मान - २०८२’ र ‘योगनाथ बास्तोला लघुकथा सम्मान–२०८२’ रकम रुपियाँ ५,५५५/– रहेको छ।

विज्ञप्ति अनुसार केन्द्रको अक्षय कोष, पिता रामकेशर पौडेल र भवानी पौडेलको नाममा सुपुत्र जनार्दन पौडेलले प्रदान गरेको रकम, पिता सुकु खत्री र माता बिजु खत्रीको नाममा सुपुत्र कमल केसीले उपलब्ध गराइएको रकम तथा मोफसलका स्रष्टालाई पाेहाेरदेखि सुपुत्र कृष्णप्रसाद बास्तोलाले आफ्ना स्वर्गीय पिता योगनाथ बास्तोलाको नाममा  स्थापना गरिएको ‘योगनाथ बास्तोला लघुकथा सम्मान –२०८२’ को रकमबाट प्रदान गर्न लागिएको छ।

केन्द्रका सचिव रामराजा केसीका अनुसार केन्द्रले उक्त सम्मान २०८३ वैशाख १९ गते, शनिबारका दिन केन्द्र दर्ता भएको स्थान दक्षिणकाली नगरपालिका वडा नं ३ मा रहेको गणेश हलमा प्रदान गर्ने निर्णय गरेको छ।

प्रकाशित: २ वैशाख २०८३ १२:५८ बुधबार