चर्चित नायक अनमोल केसीले सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा हुन लागेको ‘जेन जी’ पुस्ताको प्रदर्शनलाई समर्थन जनाएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आवाज दबाउन खोजे नागरिकहरू अझ ठूलो स्वरमा उठ्ने चेतावनी दिए।
‘हामी नेपाली नागरिकहरू चुप लागेर बस्दैनौं,’ केसीले लेखेका छन्, ‘सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्छौं।’
उनाले नागरिकको अधिकार कसैले रोक्न नसक्ने र आवाज नदब्नेमा जोड दिए।
सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि युवाहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनको आह्वान गरेका छन्।
यही सन्दर्भमा नायक केसीले एकता, शान्ति र दृढताका साथ आवाज विहीनहरूको आवाज बन्न र सबैलाई एक हुन आह्वान गरेका हुन् ।
उनीअघि गायक प्रकाश सपुत, काठमाडौंका मेयर बालेन शाह लगायतका थुप्रै सार्वजनिक व्यक्तित्वहरूले सरकारको निर्णयको आलोचना गर्दै युवाहरूको प्रदर्शनप्रति ऐक्यबद्धता जनाइसकेका छन्।
प्रकाशित: २२ भाद्र २०८२ २१:१२ आइतबार



