कला/साहित्य

विन्टेज ‘लुक्स’ मा अनमोल र प्रिन्सी

तस्बिर: अमृता कुशवाहा/नागरिक

चर्चित अभिनेता अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडा झन्डै चार दशकअघिको विन्टेज अवतारमा दर्शकमाझ आउने भएका छन्।

अभिनेता एवं निर्देशक भुवन केसीको निर्देशनमा बनेको चलचित्र ‘बाटुलो जुन’ मार्फत उनीहरू सन् १९९० को दशकको पृष्ठभूमिमा फर्किएका हुन्।

राजधानीको कमलपोखरीस्थित सिटी सेन्टरमा बुधबार आयोजित एक भव्य समारोहका बीच चलचित्रको ट्रेलर औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

प्रचारप्रसारलाई तीव्रता दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा चलचित्रका मुख्य जोडी अनमोल र प्रिन्सी ९० को दशकको पहिरन र शैलीमा उपस्थित भएका थिए।

कार्यक्रममा निर्देशक भुवन केसीले ‘बाटुलो जुन’ आजभन्दा करिब ३५ देखि ४० वर्षअघिको नेपाली ग्रामीण समाज, सम्बन्ध र तत्कालीन जीवनशैलीलाई पर्दामा उतार्ने एउटा प्रयास भएको बताए।

कार्यक्रममा अभिनेता अनमोल केसीले आफ्नो चरित्रबारे खुलेर कुरा गरे। आफू नजन्मिँदैको समयको कथामा काम गर्न पाउनु आफ्ना लागि नौलो र चुनौतीपूर्ण अनुभव रहेको उनले सुनाए।

‘यो त्यो समयको कथा हो, जतिबेला म जन्मेको पनि थिइनँ। करिब ३५-४० वर्षअघिको परिवेशमा मैले काजी अभिमान सिंह बस्नेतको भूमिका निर्वाह गरेको छु। कथामा म सहर गएर उच्च शिक्षा हासिल गरी आफ्नै गाउँका मानिसहरूलाई शिक्षित बनाउने सपना बोकेर फर्केको एक आदर्शवादी शिक्षकको रूपमा देखिनेछु।’ अनमोलले भने।

ट्रेलरले अनमोल र नवनायिका प्रिन्सीबीचको सरल, निष्कपट तर उतारचढावपूर्ण प्रेमकथालाई मुख्य विषय बनाएको छ। गाउँले परिवेशमा मौलाएको उनीहरूको प्रेम, त्यसपछि आउने पारिवारिक तथा सामाजिक अवरोध र बिछोडपछिको २०-२५ वर्षपछिको दृश्यलाई ट्रेलरमा प्रस्तुत गरिएको छ।

ट्रेलर हेर्दा अनमोलको अभिनय र हाउभाउमा उनका पिता भुवन केसीको जवानीको झझल्को देख्न सकिन्छ भने नवप्रवेशी प्रिन्सीले अभिनेत्री गरिमा पन्तको सुरुवाती दिनहरूको जस्तो शालीन र सशक्त अभिनयको प्रभाव छाडेकी छन्।

निर्मात्री जिया केसीको लगानीमा निर्माण भएको यस चलचित्र सामाजिक ड्रामा र प्रेमकथाको समिश्रण हो। चलचित्रको दृश्य भाषालाई मौलिक बनाउन पर्यटकीय नगरी पोखरा, दुर्गम एवं मनमोहक पहाडी जिल्ला रुकुम तथा पश्चिम नेपालका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको छ।

प्रिन्सी खतिवडाका लागि यो डेब्यु चलचित्र भए पनि ट्रेलरमा उनको स्क्रिन प्रेजेन्स परिपक्व देखिन्छ।

चलचित्रमा अनमोल र प्रिन्सीका साथै न्यान्सी खड्का, भुवन केसी, प्रकाश घिमिरे, रेयर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटा लगायतका अनुभवी कलाकारहरूको अभिनय रहेको छ।

पुरानो पुस्तालाई आफ्नो विगत सम्झाउने र नयाँ पुस्तालाई बितेको समयको समाज देखाउने दाबी गरिएको यो चलचित्र आगामी कात्तिक २६ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुँदैछ।

निर्माण टिमका अनुसार सार्वजनिक ट्रेलर चाँडै डिजिटल प्लेटफर्म युट्युबमार्फत पनि आम दर्शकका लागि उपलब्ध गराइनेछ।

हेर्नुहोस् ट्रेलर: 

प्रकाशित: १८ कार्तिक २०८३ २०:३१ बुधबार