अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको चौथो महाधिवेशनबाट अध्यक्षमा साहित्यकार मञ्जिला अनिल निर्वाचित भएकी छन्।
अनामनगरस्थित सामाजिक विकास समाजको सभाकक्षमा आयोजित चुनावी सभामा सम्पन्न मतदानबाट निर्वाचित अध्यक्ष मन्जिला अनिल आगामी दुई वर्ष (सन् २०२६–२८)को कार्यकालका लागि अध्यक्ष निर्वाचित भएकी हुन्।
४८० मतदाता रहेको १५ सदस्सीय कार्यसमितिको लागि उक्त मतदानमा खसेको कुल ८५ मतमध्ये मन्जिलाले ६३ मत प्राप्त गरेर निर्वाचित भएकी हुन्। उनका एक मात्र प्रतिद्वन्द्वी उम्मेद्वार साहित्यकार निर्णलरमल पराजुलीले मात्र २२ मत पाएका थिए।
अध्यक्षबाहेक अन्य सबै पदका लागि उम्मेद्वारहरू निर्विरोध निर्वाचित भएका हुन्। यसरी निर्वाचित हुनेहरूमा वरिष्ठ उपाध्यक्षमा कमला वली, उपध्यक्षमा रञ्जना निरौला, महासचिवमा रमेश दाहाल, सचिवमा खेमराज न्यौपाने र कोषाध्यक्षमा कमला रिसाल छन्।
यसैगरी कार्यसमिति सदस्यहरूमा क्रमशः साहित्यकारहरू रत्नलक्ष्मी श्रेष्ठ, राधिका गुरागाइँ, केवला भट्टराई, देवेन्द्र पराजुली, सुषमा आचार्य, उषा केसी, डीआर राई, शान्ति न्यौपाने रिसाल र इन्दिरा ढकाल छन्।
नयाँ कार्यसमितिको निर्वाचनसँगै निवर्तमान अध्यक्ष राजेन्द्र केसीको नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल औपचारिक रूपमा समाप्त भएको छ। अब नवनिर्वाचित कार्यसमितिले दुई जना कार्यसमिति सदस्य तथा केही सल्लाहकार मनोनित गर्ने छ। समितिको कार्यकाल दुई वर्षको रहने छ।
प्रकाशित: ८ भाद्र २०८३ १०:४० सोमबार