कला/साहित्य

‘कच्चा बदाम’ फेम अञ्जलीलाई सीताको भूमिकामा देखेपछि रिसाएका फ्यानले भने : घोर कलियुग !

‘महाकाव्य श्री रामायण कथा’ फिल्ममा अभिनेत्री अञ्जली अरोराले माता सीताको भूमिका निर्वाह गरेपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ।

भाइरल भिडियो ‘कच्चा बदाम’ बाट चर्चामा आएकी अरोरालाई यस्तो प्रतिष्ठित भूमिका दिने निर्माताहरूको निर्णयलाई लिएर दर्शकले प्रश्न उठाएका हुन्। निर्माताहरूले हालै सार्वजनिक गरेको करिब ९० सेकेन्डको ट्रेलरमा राम र सीताको विवाह, वनवास, सीता अपहरण र राम सेतु निर्माणको तयारी देखाइएको छ। तर, फ्यान ट्रेलरबाट खासै खुसी देखिएनन्। विशेषगरी फिल्मको कमजोर दृश्य प्रभाव (भीएफएक्स) र कलाकार छनोटलाई लिएर सामाजिक सञ्जालमा ट्रोलिङ गर्न थालिएको हो।

धेरै प्रयोगकर्ताहरूले यो फिल्मलाई यसअघि विवादित बनेको ‘आदिपुरुष’ सँग तुलना गर्दै निर्माताहरूको आलोचना गरेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, ‘मलाई माफ गर्नुहोस्, तर सीता माताको चरित्रका लागि यो गलत कास्टिङ हो।’ त्यस्तै अर्का एकले भनेका छन्, ‘घोर कलियुग।’ अर्का प्रयोगकर्ताले व्यङ्ग्य गर्दै भने, ‘यो फिल्म ३ घण्टाको इन्स्टाग्राम रिलजस्तो लाग्छ।’

विभिन्न प्रतिक्रियाका क्रममा एक व्यक्तिले भनेका छन्, ‘भीएफएक्सको नाममा यो लज्जाको विषय हो।’ अर्का एक प्रयोगकर्ताले संगीत र कथावस्तुको तालमेल नमिलेको भन्दै टिप्पणी गरेका छन्, ‘कथा त्रेता युगको छ, तर पृष्ठभूमि संगीत द्वापर युगको जस्तो लाग्छ। यो फिल्म त समय यात्रामा आधारित जस्तो देखिन्छ।’

केही दर्शकले त यो फिल्म नै प्रतिबन्ध लगाउनुपर्ने मागसमेत गरेका छन्। एउटा आक्रोशपूर्ण टिप्पणीमा लेखिएको छ, ‘हिन्दूहरू यति धेरै सहनशील छन्। यो टिकटकरले कुन आधारमा माता सीताको भूमिका निर्वाह गरिरहेकी छिन्? यस फिल्ममा संलग्न सबै विरुद्ध मुद्दा दर्ता गर्नुपर्छ।’ अभिषेक सिंहद्वारा निर्देशित यस फिल्ममा अञ्जलीका साथै देव शर्मा, शील वर्मा, रजनीश दुग्गल र निर्भय वाधवाको अभिनय रहेको छ। यो फिल्म सेप्टेम्बर २५ मा रिलिज हुने तयारीमा छ।

आफ्नो भूमिकाबारे बोल्दै यसअघि अञ्जलीले नितेश तिवारीको रामायणमा साई पल्लवीले निभाउने सीताको भूमिका र आफ्नो अभिनयबिच तुलना हुने कुरा आफूलाई थाहा भएको बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘यदि मलाई बलिउड अभिनेत्रीसँग तुलना गरियो भने, म खुसी हुनेछु।’

यसै वर्ष तिहारको समयमा रणबीर कपूर र साई पल्लवी अभिनीत रामायणसमेत आउने तयारीमा छ। त्यसभन्दा ठीक अगाडि सार्वजनिक भएको यस फिल्मको टिजरले दर्शकबाट मिश्रित र नकारात्मक प्रतिक्रिया पाएको छ। रावण र हनुमानको भूमिकामा को छन् भन्ने कुरा निर्माताहरूले अझै खुलाएका छैनन्।

प्रकाशित: ६ भाद्र २०८३ २०:१० शनिबार