कला/साहित्य

‘नमस्ते इटहरी, नमस्ते कोशी’ भन्दै स्टेजमा उक्लिएर अमृत गुरुङ

तीन दशकभन्दा लामो समयदेखि लोकप्रियता कमाएको नेपथ्य ब्यान्डका मुख्य गायक अमृत गुरुङ बुधबार साँझ इटहरी रंगशालामा तयार पारिएको स्टेजमा उक्लिए । साँझ ६ बजेपछि स्टेजमा देखिएका उनले ‘तिहारको तयारीका बेला अनि धान काट्ने बेला नमस्ते इटहरी, नमस्ते कोशी प्रदेश’ भन्दै दर्शकलाई स्वागत गरे ।  उनको अभिवादनसँगै रंगशालामा उपस्थित दर्शकले हात हल्लाउँदै हुटिङ गरेर स्वागत गरे ।  

दर्शकसँग आत्मीय संवाद सुरु गरेका गुरुङले कलेज पढ्दाको उमेर सम्झिन आग्रह गरे ।  ‘सबैले आफू कलेज पढ्दाको उमेर सम्झौँ त । म पनि कलेज पढ्दा कपाल कालो, दाह्री पनि कालै थियो । जवानी थियो,’ उनले भने ।  उनको यो भनाइले दर्शकलाई हँसाउनुका साथै पुराना दिनको सम्झना गरायो ।  

३५ वर्षदेखि दर्शकको माया र साथ पाउँदै आएको नेपथ्यले पहिलोपटक इटहरीमा प्रस्तुति दिन पाउँदा खुसी लागेको बताउँदै गुरुङले गीत गाउन सुरु गरे ।  उनले ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’, ‘सुन सुन साइँली’, ‘कर्णाली’, ‘पोखरा बजार’, ‘मुक्लाङ जाऊँला’, ‘रुकुम’ लगायत लोकप्रिय गीत एकपछि अर्को गर्दै प्रस्तुत गरे । नेपथ्यका चर्चित गीतसँगै दर्शक पनि झुमे ।  गीतका धुन र शब्दसँगै रंगशालामा उपस्थित दर्शकले साथ दिँदा माहोल संगीतमय बनेको थियो ।  

गीत प्रस्तुतिका बीचमा गुरुङले मनोरञ्जनसँगै सामाजिक र राजनीतिक सन्देशसमेत प्रवाह गरे ।  उनले देश निर्माणको जिम्मेवारी कर्मचारी, राजनीतिक दलका नेता, समाजका अगुवा र नीति निर्माताले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

पुण्य कमाउन धनसम्पत्ति मात्रै कमाएर नहुने भन्दै उनले दान र सहयोगको भावनालाई पनि महत्त्व दिन आग्रह गरे। सत्ता र शक्तिमा पुगेपछि मानिस आफैँ परिवर्तन हुने प्रवृत्तिप्रति संकेत गर्दै उनले न्यायका पक्षमा सबैले आवाज उठाउन र दबाब सिर्जना गर्नुपर्ने सन्देश दिए । उनले भने, ‘होनाहार युवा पुस्ताका लागि सवै मिलेर राम्रो काम गरौं है, युवापुस्तालाई विदेश जाने होइन, अरु देशका युवालाई नेपाल भित्रयाउने वातावरण सिर्जना गरौं हैं ।’

नेपथ्य ब्यान्डले पहिलोपल्ट इटहरीमा गरेको कार्यक्रममा पुराना सम्झना र सामाजिक सन्देशलाई एकैसाथ जोड्दै गुरुङले इटहरीको सांगीतिक साँझलाई विशेष बनाएका थिए । सो क्रममा उनले सुन्दर, सगरमाथा भएको, लुम्बिनी भएको, हिमाल, पहाड र तराई भएको सुन्दर देश नेपाल भएको बताए ।  

‘नेपथ्य लाइभ इन कन्सर्ट इटहरी’ नाम दिइएको सांगीतिक साँझ पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजनामा भएको हो । कार्यक्रममा इटहरीसहित पूर्वी नेपालका संगीतप्रेमीलाई बाक्लो जमघट रहेको थियो । कार्यक्रमको मुख्य प्रायोजक सक इनर्जी ड्रिंक्स रहेको थियो ।  

इटहरी उपमहानगरपालिकाको संरक्षण तथा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रवद्र्धनमा भएको कार्यक्रम मनोरञ्जनमा मात्र सीमित नभई इटहरीलाई पूर्वी नेपालको प्रमुख सांगीतिक तथा सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गरेको आयोजक संस्थाका प्रबन्ध निर्देशक कुलबहादुर (राजकुमार) कार्कीले बताए । 

प्रकाशित: १८ कार्तिक २०८३ २१:०० बुधबार