कला/साहित्य

ग्याङस्टरको निशानामा अमिताभ बच्चन, घरबाहिर गोली चलाउने योजना

बलिउडका महानायक अमिताभ बच्चनको घरबाहिर गोलीबारी गर्ने षड्यन्त्रको खुलासा भएको छ। दिल्ली प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा दुई जना शार्पसुटरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विकास ठाकुर र दीपक सिंह रहेका छन्। दुवै जना विदेशमा बसेर आफ्नो आपराधिक सञ्जाल सञ्चालन गरिरहेका एक ग्याङस्टरका लागि काम गर्ने गरेको बताइएको छ।

आरोपअनुसार सन् १९८४ को सिखविरोधी दंगालाई लिएर अमिताभ बच्चनले दिएको भनिएको एक विवादास्पद अभिव्यक्तिप्रति ग्याङस्टर असन्तुष्ट थिए।

यही कारण उनले अमिताभ बच्चनलाई निशाना बनाउन चाहेको बताइएको छ। तर अमिताभ बच्चनले भने आफूले त्यस्तो कुनै अभिव्यक्ति नदिएको स्पष्ट पारेका छन्।

दिल्ली प्रहरीका अनुसार पक्राउ परेका विकास ठाकुर भारतको पञ्जाबस्थित जालन्धरका बासिन्दा हुन् भने अर्का आरोपी दीपक सिंह तरनतारनका निवासी हुन्। दुवै जना विदेशमा बसेर आपराधिक गतिविधि सञ्चालन गरिरहेका एक ग्याङस्टरको निर्देशनमा काम गरिरहेको आरोप छ।

प्रहरीका अनुसार विकास ठाकुर दिल्लीका एक व्यापारीसँग फिरौती असुल्ने उद्देश्यले उनीमाथि गोली चलाउन आएको थियो। 

अर्कोतर्फ, दीपक सिंह पञ्जाबमा भएको एक हत्याकाण्डमा यसअघि नै प्रहरीको खोजी सूचीमा थिए। प्रहरीले अहिले दुवै आरोपीको आपराधिक सञ्जाल र ग्याङस्टरसँगको सम्बन्धबारे अनुसन्धान गरिरहेको छ।

प्रहरी स्रोतका अनुसार ग्याङस्टर अमिताभ बच्चनसँग असन्तुष्ट थिए। यसको कारण सन् १९८४ को सिखविरोधी दंगालाई लिएर अमिताभ बच्चनले दिएको भनिएको अभिव्यक्ति रहेको बताइएको छ। यही असन्तुष्टिका कारण ग्याङस्टरले उनलाई निशाना बनाउने योजना बनाएको आरोप छ।

प्रहरीका अनुसार दीपक सिंहलाई केही समयका लागि मुम्बईमा बस्न भनिएको थियो। उनलाई अमिताभ बच्चनको घरबाहिर गोली चलाउने जिम्मेवारी दिइएको बताइएको छ। तर उक्त षड्यन्त्र कार्यान्वयन हुनुअघि नै प्रहरीले दुवै आरोपीलाई पक्राउ गर्न सफल भएको छ।

दीपक सिंहको नाम अमृतसरमा अक्टोबर ३ मा भएको इन्स्टाग्राम इन्फ्लुएन्सर म्याड सन्धूको हत्याकाण्डमा पनि जोडिएको छ। उक्त घटनामा दीपक प्रहरीको खोजी सूचीमा थिए।

उनीसँगै हत्यामा संलग्न रहेको आरोप लागेका पलविन्दर सिंह उर्फ काकालाई पञ्जाब प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।

हाल प्रहरीले दुवै आरोपीसँग सोधपुछ गरिरहेको छ। यस षड्यन्त्रमा अरू को–को संलग्न छन् र विदेशमा बसेका ग्याङस्टरको आपराधिक सञ्जाल कति ठूलो छ भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको छ।

प्रकाशित: २९ कार्तिक २०८३ १२:४९ आइतबार