भारतीय अभिनेत्री अमीषा पटेलले आफू र क्रिकेटर हार्दिक पाण्ड्याबीच अफेयर रहेको दाबी गर्दै पोस्ट गर्ने एक प्रयोगकर्तालाई कडा जवाफ दिएकी छन्।
अमीषाले सामाजिक सञ्जालमा उक्त पोस्टको स्क्रिनसट सेयर गर्दै प्रयोगकर्ताको दाबीप्रति व्यंग्यात्मक प्रतिक्रिया जनाएकी हुन्। हालै अमीषा र हार्दिकको एउटा भिडियो सार्वजनिक भएको थियो। भिडियोमा अमीषा मुम्बईको ताज होटलमा हार्दिकलाई आफ्ना साथीहरूसँग परिचय गराउँदै गरेको देखिएकी थिइन्। त्यसपछि सामाजिक सञ्जालमा उनीहरूबीच प्रेमसम्बन्ध रहेको चर्चा सुरु भएको थियो।उनीहरुबीचको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा अड्कलबाजी भइरहेको थियो। त्यसैबीच अमीषाले उक्त प्रतिक्रिया दिएकी हुन्।
एक प्रयोगकर्ताले दुवैको भिडियो पोस्ट गर्दै अमीषाले बैंगलोरको एक होटलमा पार्टीका क्रममा हार्दिक पाण्ड्याको काँधमा हात राखेको उल्लेख गरेका थिए। साथै, रेडिटमा चलेका अफवाहहरू सत्य साबित हुँदै गएको जस्तो देखिएको दाबी गरेका थिए।
उक्त पोस्ट भाइरल हुँदै अमीषा पटेलसम्म पनि पुगेपछि उनले त्यसको स्क्रिनसट लिएर आफ्नो इन्स्टाग्राम स्टोरीमा सेयर गरिन् र प्रयोगकर्तालाई व्यांग्यात्मक गरिकाले प्रतिक्रिया दिएकी छन्।
अमीषाले व्यंग्य गर्दै लेखिन्, 'बिल्कुल सही, भगवान्। तपाईं सत्य भनिरहनुभएको छ। जसरी मेरो हात उहाँको काँधमा छ, त्यो साँच्चिकै रोमान्टिक छ।'
त्यसपछि उनले साथीहरूबीच हुने सामान्य कुराकानीलाई किन रोमान्टिक रूपमा व्याख्या गरिएको भन्दै प्रश्न उठाएकी छन्।
उनले थपिन्, 'म तपाईंलाई चिन्दिनँ, तर यति चाहिँ भन्न सक्छु कि तपाईंको कुनै महिला साथी छैन होला। यस्ता कुराबारे पोस्ट गर्नुअघि तपाईंले पहिले साथी बनाउनुपर्छ।'
प्रकाशित: २२ भाद्र २०८३ ११:५४ सोमबार