थाइल्यान्डकी पूर्वमिस थाइल्यान्ड तथा अभिनेत्री पनाद्दा ‘बुम’ वोंगफुडीमाथि परोपकारी संस्थाका नाममा संकलन गरिएको रकममध्ये ५२ करोड ७० लाख भाट व्यक्तिगत प्रयोजनमा खर्च गरेको आरोप लागेको छ।
उनको नेतृत्वमा रहेको गुडनेस फाउन्डेसनले संकलन गरेको ८१ करोड ५० लाख भाटमध्ये ठूलो हिस्सा व्यक्तिगत खर्च, विलासी सामान खरिद र लगानीमा प्रयोग भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
ठगी र सम्पत्ति शुद्धीकरणलगायत आरोपमा पक्राउ पुर्जी जारी भएपछि ५० वर्षीया पनाद्दा र उनका ५३ वर्षीय पति अतिप अनन्तवानले शुक्रबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। आर्थिक अपराध नियन्त्रण विभागका प्रहरी अधिकारीले शनिबार अनुसन्धानको प्रारम्भिक विवरण सार्वजनिक गरेका हुन्।
प्रहरीका अनुसार पनाद्दाले सन् २०१५ देखि फेसबुकमार्फत परोपकारी कामका लागि भन्दै चन्दा संकलन गर्दै आएकी थिइन्। सुरुमा उनले व्यक्तिगत बैंक खातामा रकम उठाएकी थिइन्। पछि सन् २०२२ मा गुडनेस फाउन्डेसन दर्ता गरेर संस्थाको नाममा समेत बैंक खाता खोलेकी थिइन्। तर, व्यक्तिगत खातामार्फत पनि चन्दा संकलन जारी राखेको अनुसन्धानमा खुलेको छ।
सन् २०१५ देखि हालसम्म तीनवटा बैंक खातामा १० लाखभन्दा बढी दाताबाट ३२ लाखभन्दा बढी कारोबारमार्फत ८१ करोड ५० लाख भाट जम्मा भएको प्रहरीको दाबी छ। त्यसमध्ये ५२ करोड ७० लाख भाट व्यक्तिगत प्रयोजनमा खर्च गरिएको पाइएको छ।
अनुसन्धानका क्रममा पनाद्दाका पतिलाई नौ करोड ९० लाख भाट, फुकेटमा भिल्ला निर्माण गर्ने ठेकेदारलाई एक करोड ८० लाख भाट र फाउन्डेसनका समितिका सदस्यलाई तीन करोड ६० लाख भाट पठाइएको खुलेको प्रहरीले जनाएको छ। त्यस्तै, उनका बुबालाई ४६ लाख भाट दिइएको र दुई करोड ४० लाख भाट म्युचुअल फन्डमा लगानी गरिएको पाइएको छ।
प्रहरीका अनुसार म्युचुअल फन्डबाट निकालिएको रकममध्ये केही हिस्सा गहना र महँगा ह्यान्डब्याग खरिदमा समेत खर्च गरिएको थियो। चन्दाको रकम क्रेडिट कार्डको बिल भुक्तानी र जीवन बिमा शुल्क तिर्न पनि प्रयोग गरिएको आरोप छ।
फाउन्डेसनले आवश्यक वार्षिक बैठक नगरेको र आर्थिक विवरणसमेत नियमित रूपमा नबुझाएको प्रहरीले जनाएको छ। संस्थाले सञ्चालनको सुरुका दुई वर्ष मात्र कर तिरेको अनुसन्धानमा खुलेको छ।
गत साता केही दाता र सर्वसाधारणले आफूले दिएको रकम परोपकारी काममा प्रयोग नभएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि आर्थिक अपराध नियन्त्रण विभागले अनुसन्धान अघि बढाएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित: २१ कार्तिक २०८३ १४:१६ शनिबार



