कला/साहित्य

अमेरिकाबाट ‘जेन-जी’लाई एलिनाको समर्थन, भनिन्: तिमीहरूको शरीर सलामत रहोस्

गायिका एलिना चौहानले जेन-जी पुस्ताको आन्दोलनलाई समर्थन गर्दै उनीहरूको सुरक्षाप्रति चिन्ता व्यक्त गरेकी छन्। हाल अमेरिकामा रहेकी चौहानले सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश राख्दै यो आन्दोलनलाई स्वतन्त्रता, भविष्य र इमानदारीमाथिको प्रहारविरुद्धको लडाइँको रूपमा अर्थ्याएकी छन्।  

‘साँचो परिवर्तनको बाटो कहिल्यै सजिलो हुँदैन। तिमीहरू सडकमा उत्रिएर आवाज उठाउँदै छौ। यो आँटको कुरा हो। तर तिमीहरूको आवाज जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण तिमीहरूको सुरक्षा छ। संसार बदल्ने सपनामा हिँड्दा, शरीर सलामत रहोस् भन्ने प्रार्थना छ,’ उनले लेखेकी छन्। उनले युवाहरूलाई सजग र सुरक्षित रहन आग्रह गर्दै उनीहरूलाई देशका लागि आवश्यक भएको बताएकी छन्।  

चौहानले सेप्टेम्बर ८ मा भएको जेन-जीको प्रदर्शनलाई सामाजिक सञ्जाल प्रतिबन्धमात्र नभई भ्रष्टाचार, अन्याय र निरङ्कुशताविरुद्धको विद्रोहको संज्ञा दिएकी छन्। ‘मेरो स्वर, मुटु र आत्मा स्वदेशकै सडकमा गुन्जिरहेको छ,’ उनले भनेकी छन्, ‘म चाँडै फर्केर मेरो पुस्तासँगै भ्रष्ट, लाचार र मुखौटा लगाएका नेताहरूमाथि जनताको स्वरले चोट पुर्‍याउन तयार छु।’ उनले यो आन्दोलनले इमानदारीको खडेरी लागेका नेताहरूलाई सबक सिकाउने विश्वास व्यक्त गरेकी छन्।

प्रकाशित: २३ भाद्र २०८२ ०७:५७ सोमबार