सामाजिक सञ्जाल तथा सामाचारतिर गायिका एलिना चौहान र उनको पूर्व पति विष्णु सापकोटाको नाम जोडेर अनेकै चर्चा फैलिन थाले पनि उनले यस्तो नगर्न आग्रह गरेकी छन्।
दुई महिना अगाडि उनले आफ्नो व्यवसाय ‘रमणी’ को सुरुवात गरेकी थिइन् तर अहिले उनले गरेको व्यवसायको ठाउँ परिवर्तन गर्नु परेको छ। ठाउँ सार्नुको कारण भने उनको पूर्व पतिले उक्त घर किनेर एलिनालाई त्यहाँबाट निकालेको हल्ला सामाजिक सञ्जालमा छ। यसबारे एलिनाको भने कुनै आधाकारिक बयान आएको छैन् तर सापकोटाले भने यो हल्लाको खण्डन गरेका छन्।
कहिले काही आफूले नसोचेको कुरा पनि समाचारमा देख्दै आएको भन्दै उनले सामाजिक सञ्जालमा यस्तो सामाचार नबनाइदिन आग्रह गर्दै लेखेकी छन्–‘म मेरो विगत बिर्सेर धेरै अगाडि बढिसकेकी छु। मैले मेरा पुराना घाउहरू नराम्रो सपना सम्झेर छोडिसकेकी छु। तर हरेक कुरामा त्यही विगत निकालेर, पुराना फोटो टाँसेर समाचार बनाउँदा फेरि त्यही घाउ कोट्याइन्छ। मलाई मुक्ति दिनुस्। मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्। विगत मेरो जीवनको एउटा अध्याय हो, मेरो सम्पूर्ण जीवन होइन। कृपया त्यो अध्याय बन्द गरिदिनुस्।‘
आफ्नो आत्मसम्मानमा आँच पुर्याउने समाचार पाएमा कानुनी कदम चाल्ने उनले चेतावनी दिएकी छन्, ‘यस्ता भ्रामक तथा मेरो आत्मसम्मानमा आँच पुर्याउने समाचारहरू फैलाइरहने मिडिया तथा सम्बन्धित व्यक्तिहरूविरुद्ध अब प्रचलित कानुनबमोजिम कानुनी उपचारमा जानेछु।’
प्रकाशित: १७ आश्विन २०८३ ११:३६ शनिबार



