बलिउड अभिनेत्री आलिया भट्टकी आमा सोनी राजदानको चर्चा यतिबेला चलचित्र ‘ओम का हरि’ मा गरेको अभिनयबाट चुलिएको छ। हरिश व्यासको निर्देशनमा बनेको पारिवारिक ड्रामा तथा कमेडी चलचित्र ‘ओम का हरि’ सेप्टेम्बर १८ मा हलमा रिलिज भएको हो।
चलचित्र प्रदर्शनमा आएसँगै सोनीले आफूलाई कलाकारका रूपमा कुनै निश्चित सीमाभित्र बाँधेर नराख्ने बताएकी छन्। उनले आफूलाई फरक–फरक परिवेश र भूमिकामा सहज रूपमा ढाल्न सक्ने विश्वास व्यक्त गरेकी छन्।
सोनीका अनुसार उनी हरेक पात्रलाई समान उत्साहका साथ प्रस्तुत गर्ने प्रयास गर्छिन्। उनका लागि प्रत्येक भूमिकाले कलाकारबाट फरक क्षमता र दृष्टिकोणको माग गर्छ।
पीटीआईसँग कुराकानी गर्दै सोनी राजदानले भनिन्, “एक कलाकारका रूपमा म हरेक भूमिकालाई एउटै उत्साहका साथ हेर्छु। प्रत्येक भूमिकाले मबाट वा कुनै पनि कलाकारबाट फरक–फरक कुराको माग गर्छ। म त्यही दृष्टिकोणबाट पात्रलाई हेर्छु। मेरो दिमागमा कुनै फिल्टर वा निश्चित सीमा छैन।”
सोनी राजदानले दिग्गज थिएटर निर्देशक सत्यदेव दुबेसँग थिएटरबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन्। थिएटरको यात्राका क्रममा उनले विभिन्न प्रकारका पात्र निर्वाह गर्ने अवसर पाएकी थिइन्।
विभिन्न भूमिकामा काम गर्दै आएकी सोनीले आफ्नो अभिनय यात्रामा पात्रअनुसार आफूलाई परिवर्तन गर्दै आएकी छन्। यही अनुभवका कारण आफूलाई फरक परिवेशका भूमिकामा पनि प्रस्तुत गर्न सक्ने उनको विश्वास छ।
प्रकाशित: ४ आश्विन २०८३ १५:५५ आइतबार