कला/साहित्य

दिलजीतको जवाफपछि अभिजीतले भने : सानो भाइ सम्झेर माफ गरिदिनु

पञ्जाबी गायक तथा अभिनेता दिलजीत दोसाँझले आफ्नो फिल्म ‘सतलुज’को मजाक उडाइएको विषयमा जवाफ दिएपछि ककरोच जनता पार्टी (सीजेपी) प्रमुख अभिजीत दिप्केले माफी मागेका छन्। 

दिलजीतको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै दिप्केले उनलाई पुरानो कुरा बिर्सेर आफूलाई सानो भाइ सम्झन आग्रह गरेका हुन्।

दिल्लीको जवाहरलाल नेहरू स्टेडियममा शुक्रबार आयोजित कन्सर्टमा दिलजीतले विद्यार्थी आन्दोलनका विषयमा आफूले दिएको पुरानो अभिव्यक्तिको आलोचना र फिल्म ‘सतलुज’को मजाक उडाइएको प्रसंगमा प्रतिक्रिया दिएका थिए।

उनले कसैको नाम नलिई भने, ‘म कलाकार हुँ। म चुप लागिरहेको छु भने मलाई चुप लाग्न दिनुस्। म सबैलाई समर्थन गर्छु। तर पञ्जाबीलाई कसरी लड्ने भनेर नसिकाउनुस्।’ आफ्नो फिल्मको मजाक उडाइएको विषयमा उनले भने, ‘त्यो जसवन्त सिंह खालराको कथा हो। त्यो फिल्म बनाउन हामीले लामो समय संघर्ष गरेका थियौं। कसैले हामीलाई घृणा गर्छ भने गरोस्, तर म सबैलाई माया गर्छु।’

दिलजीतको जवाफपछि दिप्केले इन्स्टाग्राममा लेखेका छन्, ‘पाजी, जुन महिनामा हामी आन्दोलन गरिरहेका थियौं, त्यतिबेला तपाईंको टिप्पणीले मलाई अलिकति दुःख लागेको थियो। व्यक्तिगत रूपमा तपाईंसँग मेरो कुनै समस्या थिएन। मैले सधैं तपाईंलाई अन्यायविरुद्ध आवाज उठाउने व्यक्तिका रूपमा हेरेको थिएँ।’

उनले आफू अझै पनि दिलजीतको प्रशंसक रहेको र यसै वर्ष मे महिनामा अमेरिकाको सिकागोमा भएको उनको कन्सर्टमा समेत सहभागी भएको बताएका छन्। दिलजीतको साहस र आफ्नो जराप्रतिको लगावको प्रशंसा गर्दै एउटा असहमतिले उनीप्रतिको सम्मान नघट्ने पनि उनले बताएका छन्। अन्त्यमा उनले लेखेका छन्, ‘पाजी, सानो भाइ सम्झेर पुरानो कुरा बिर्सिदिनु।’

यो विवाद भारतमा मेडिकल प्रवेश परीक्षासम्बन्धी एनईईटीको प्रश्नपत्र चुहावट र अनियमितताको विरोधमा भएको विद्यार्थी आन्दोलनसँग जोडिएको छ। गत जुन महिनामा दिल्लीको जन्तर मन्तरमा प्रदर्शन भइरहेका बेला दिलजीतलाई आन्दोलनमा सहभागी हुने कि नहुने भनेर सोधिएको थियो। जवाफमा उनले भनेका थिए, ‘मलाई यी सबै विषयबाट टाढा राख्नुस्। म कलाकार हुँ, राजनीतिज्ञ होइन।’

उनको यो अभिव्यक्तिपछि दिप्केसहित केही व्यक्तिले आलोचना गरेका थिए। सन् २०२० को किसान आन्दोलनमा खुलेर समर्थन जनाएका दिलजीतले विद्यार्थी आन्दोलनमा भने मौन बसेको भन्दै प्रश्न उठाइएको थियो।

‘सतलुज’ मानव अधिकारकर्मी जसवन्त सिंह खालराको जीवनमा आधारित फिल्म हो। यसले सन् १९८० को अन्त्य र १९९० को सुरुवाततिर पञ्जाबमा भएका भनिएका गैरकानुनी हत्या र गोप्य दाहसंस्कारका घटनालाई प्रस्तुत गर्छ। लामो समय सेन्सर प्रक्रियामा अड्किएको फिल्म जी५ मा रिलिज भएको थियो। तर, दुई दिनमै ओटीटी प्लेटफर्मबाट हटाइएको थियो।

प्रकाशित: १४ कार्तिक २०८३ १२:५२ शनिबार