पप स्टार तथा अभिनेत्री एरियाना ग्रान्डेले आफ्नो विश्व भ्रमण सकिएपछि सार्वजनिक गतिविधिबाट केही समय विश्राम लिने घोषणा गरेकी छन्।
उनका प्रवक्ताका अनुसार लामो समयदेखि उनको शरीर, स्वास्थ्य र व्यक्तिगत जीवनमाथि भइरहेको निरन्तर सार्वजनिक टिप्पणी र सामाजिक सञ्जालको दबाबपछि उनले यस्तो निर्णय लिएकी हुन्।
विज्ञप्तिमा भनिएको छ कि ग्रान्डे अहिले आफ्नो ‘इटरनल सनसाइन टुर’ लाई उत्साहका साथ सम्पन्न गर्न केन्द्रित छिन्। भ्रमण सेप्टेम्बर १ मा लन्डनमा समाप्त भएपछि उनी सार्वजनिक उपस्थितिबाट केही समय टाढा रहनेछिन्।
यो घोषणा उनको आठौं स्टुडियो एल्बम ‘पेटल’ सार्वजनिक भएको केही दिनपछि आएको हो। एल्बमको शीर्षक गीतको भिडियोमा उनले प्रसिद्धिसँग जोडिएको दबाब र कलाकारमाथि हुने निरन्तर मूल्याङ्कनलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेकी छन्।
भिडियोमा उनलाई विभिन्न छविमा प्रस्तुत गरिएको छ, जहाँ उनको प्रतिभाभन्दा पनि बाहिरी रूप र तौलबारे टिप्पणी गरिन्छ। अन्त्यमा उनले ती पात्रहरूविरुद्ध विद्रोह गरेको दृश्य देखाइएको छ।
ग्रान्डेले हालैको एक अन्तर्वार्तामा यो एल्बम सामान्यभन्दा फरक भावनाबाट लेखिएको बताएकी छन्। उनका अनुसार यसपटकका गीतहरूमा दबिएको रिस र निराशा खुला रूपमा व्यक्त गरिएको छ।
ग्रान्डेको शरीरबारे टिप्पणी
सन् २०२३ मा ग्रान्डेले टिकटक भिडियोमार्फत मानिसहरूलाई आफ्नो शरीरबारे टिप्पणी नगर्न आग्रह गरेकी थिइन्। उनले ‘स्वस्थ देखिने एउटै मापदण्ड हुँदैन’ भन्दै अरूको बाहिरी रूपका आधारमा निष्कर्ष निकाल्न नहुने सन्देश दिएकी थिइन्।
तर तीन वर्षपछि पनि सामाजिक सञ्जालमा उनको तौल र स्वास्थ्यबारे अनुमान र बहस रोकिएको छैन। उनलाई धेरैले ‘दुब्ली’, ‘पातली’ र ‘डरलाग्दो’ भनेर कमेन्ट गर्ने गरेका छन्।
केही प्रशंसकले उनको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेका छन् भने धेरैले कसैको शरीरबारे सार्वजनिक टिप्पणी गर्नु अनुचित भएको बताएका छन्।
संगीत पत्रकार सोफी विलियम्सका अनुसार नयाँ एल्बमको प्रचारसँगै ग्रान्डेमाथि हुने व्यक्तिगत टिप्पणी झन् बढेको छ, जसले उनको विश्रामको निर्णयमा प्रभाव पारेको हुन सक्ने अनुमान गरिएको छ।
ग्रान्डेले आठ वर्षको उमेरमा गाउन थालेकी थिइन् र निकलोडियन सिटकम भिक्टोरियस र यसको स्पिन–अफ, साम एण्ड क्याटमा किशोरी अभिनेत्रीको रूपमा आफ्नो नाम कमाएकी थिइन्।
२०११ मा आफ्नो पहिलो एकल गीत रिलिज गरेदेखि उनले १० अमेरिकी नम्बर एक हिटहरू बनाएकी छिन् र तीन ग्रामी अवार्ड जितेकी छिन्। यस्तै, अभिनयतर्फ पनि सफलता हासिल गर्दै ‘विक्ट’ का लागि ओस्कार मनोनयनसमेत पाएकी थिइन्।
यद्यपि उनको व्यक्तिगत जीवन पनि चुनौतीपूर्ण रह्यो। सन् २०१७ मा म्यानचेस्टर एरिनामा उनको कन्सर्टपछि भएको बम विस्फोटमा २२ जनाको मृत्यु भएको थियो।
त्यसपछि उनले पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटीएसडी)का लक्षणसँग संघर्ष गरेको खुलासा गरेकी थिइन्। पूर्व प्रेमी म्याक मिलरको निधन, सम्बन्धविच्छेद र निजी जीवनमाथिको निरन्तर सार्वजनिक चासोले पनि उनीमाथि मानसिक दबाब बढाएको थियो।
ग्रान्डेले यसअघि पनि डिप्रेसन र ओब्सेसिभ–कम्पल्सिभ डिसअर्डर (ओसीडी)बारे खुलेर बोलेकी छन्। साथै, बाल कलाकारहरूको मानसिक स्वास्थ्य संरक्षणका लागि अनिवार्य मनोवैज्ञानिक सहयोगको व्यवस्था हुनुपर्ने मागसमेत गर्दै आएकी छन्।
उनको विश्रामको निर्णयलाई धेरै प्रशंसकले मानसिक स्वास्थ्य र व्यक्तिगत गोपनीयतालाई प्राथमिकता दिने सकारात्मक कदमका रूपमा लिएका छन्।
प्रकाशित: १९ श्रावण २०८३ १२:२६ मंगलबार