कला/साहित्य

‘गौँथली’ को अग्रिम टिकट बुकिङ खुला, २ सय भन्दा बढी शो पाउने वितरक श्रेष्ठको दाबी

यही शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’को अग्रिम टिकट बुकिङ खुला भएको छ।

प्रदर्शन मिति नजिकिएसँगै राजधानी र मोफसलका अधिकांश मल्टिप्लेक्सहरूले मंगलबारदेखि नै चलचित्रको शो सार्वजनिक गर्दै बुकिङ खुला गरेका हुन्।

देशकै ठुलो मल्टिप्लेक्सन चेन क्यूएफएक्सले शुक्रबारका लागि शो निकालेको छ। दोस्रो ठुलो मल्टिप्लेक्स चेन आइएनआई, वान सिनेमाजलगायतले पनि शो निकालेका छन्।

देशभरका अधिकांश हलहरुले यो चलचित्रको अग्रिम टिकट बुकिङ खुलाएका छन्। चलचित्रका वितरक करण श्रेष्ठ ‘क्रेजी’ का अनुसार हलहरूले शो उपलब्ध गराउने क्रम जारी छ। उनले भोलीसम्ममा देशभरका हलहरूबाट ‘गौँथली’ले २०० भन्दा बढी शो पाउने दाबी गरेका छन्।

‘शो खुल्ने क्रममै छ, अहिले नै यति शो भन्न सकिन्न,’ वितरक श्रेष्ठ भन्छन्,‘तर भोलि सम्ममा देशभरबाट २ सय भन्दा बढी शो आउँछ।’

प्रिमियरमा राम्रो प्रतिक्रियासहित उच्च हाइप बनाएको सिनेमाले राम्रो ग्रकसलेक्सन गर्नेमा निर्माण टिम विश्वस्त छ। प्रिमियममा सिनेमा हेरेकाले विषय, अभिनय र प्रस्तुतिले दर्शकलाई तन्ने प्रतिक्रिया दिएपछि निर्माण टिम त्यसको सकारात्मक प्रभाव हलमा देखिनेमा ढुक्क छ।

कपिल रिजालले निर्देशन गरेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन्। निर्माताको रूपमा सुमन गिरी र डा.कपिल रिजाल छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन्।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा.कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ।

चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्ने छन्। डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ।

प्रकाशित: ३१ असार २०८३ १५:४५ बुधबार