बलिउड अभिनेत्री मौनी रायको हालै श्रीमान् सूरज नांबियारसँग चार वर्षको सम्बन्ध विच्छेद भएपछि सामाजिक सञ्जालमा धेरैले उनको व्यत्तिगत जीवनलाई चर्चाको विषय बनाएका छन्।
कैयौँ अफवाहहरूसँगै उनीमाथि समलिङ्गीको आरोप समेत लाग्यो। उनी यी सबै अफवाहलाई बेवास्ता गर्दै केही दिनदेखि चुप बसेकी थिइन्। हालै उनले आफ्नो व्यक्तिगत जीवनसँग सम्बन्धित अफवाहबारे खुलासा गरेकी छिन्। एक डिजिटल टक शोमा उनलाई आफ्नो बारेमा सुनेको सबैभन्दा अनौठो अफवाह के थियो? भनेर सोध्दा उनले हाँस्दै भनिन्, ‘म समलिङ्गी हुँ भन्ने अफवाह।’
मौनीले यस्ता अफवाहलाई गम्भीर रूपमा नलिने बताइन्। उनले आफ्नो जीवनका कठिन र चुनौतीपूर्ण समय जहाँ उनको हालै चार वर्षको सम्बन्ध विच्छेद भयो। त्यहाँ नजिकका महिला साथीहरूले सधैं साथ दिएको उल्लेख गरिन्।
उनले युवा महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर र भावनात्मक रूपमा सबल बन्न सुझाव दिइन्। उनका अनुसार आत्मनिर्भरता केवल करियरमा सफल हुनु मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि बलियो हुनु हो।
मौनीले सामाजिक सञ्जालमा आउने टिप्पणी र मानिसहरूको धारणा समयसँगै बदलिरहने बताउँदै आफूलाई बुझ्ने र आफ्ना निर्णयमा विश्वास राख्ने कुरा सबैभन्दा महत्वपूर्ण रहेको जिकिर गरिन्। साथै, महिलाहरूले आफ्नो पहिचान अरूको सोच वा अफवाहका आधारमा नभइ आफ्नै मूल्य र क्षमताका आधारमा निर्माण गर्नुपर्ने भनाइ राखिन्।
यसैबीच, मौनी र उनका पति सम्बन्ध विच्छेदको चर्चापछि पुनः इन्स्टाग्राममा एकअर्कालाई फलो गर्न थालेका छन्, जसले सामाजिक सञ्जालमा थप चर्चा पाएको छ।
प्रकाशित: ३१ जेष्ठ २०८३ ११:५२ आइतबार